काठमाडौं । कृषि क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानी(एफडीआई) खुला गर्ने निर्णयविरुद्ध निजी क्षेत्रका उद्योगीहरुले आधिकारिक धारणा बनाएर अघि बढ्ने जनाएका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, सरोकारवाला र कृषि उद्यमीहरुसँग छलफल गरी एउटै आधिकारिक धारणा बनाएर अघि बढ्ने जनाइएको हो ।
अरू क्षेत्रमा विदेशी लगानी आवश्यक र कृषि क्षेत्रमा विदेशी लगानी आउँदा पर्ने प्रभावका बारेमा महासंघले विभिन्न पक्षसँग छलफलसमेत सुरु गरिसकेको छ । बुधबार विभिन्न डेरी क्षेत्रका उद्योगी र महासंघका पदाधिकारीसँग महासंघले छलफल गरिसकेको छ ।
कृषि क्षेत्रमा विदेशी लगानी आउँदा के हुन्छ, यसको सकारात्मक पक्ष के, नकारात्मक पक्ष के हुन्छ भनेर सूक्ष्म ढंगले अध्ययन र छलफल गरेर साझा धारणा बनाउने महासंघले जनाएको छ ।
‘समग्र उद्योगीहरुको तर्फबाट आधिकारिक धारणा आउँछ । एक वर्षअघि पनि निजी क्षेत्रको एउटै साझा धारणा थियो र, रोकिएको थियो । यसपाली पनि हामी एउटै धारणा ल्याउँछौं,’ नेपाली डेरी उद्योग संघका निवर्तमान अध्यक्ष अर्निको राजभण्डारीले भने, ‘त्यसपछि हामी कानुनी बाटो र त्यसपछि पनि सम्बोधन नभए हामी सडक आन्दोलन गर्छौं ।’
सरकारले निजी क्षेत्रसँग छलफल नै नगरी सो निर्णय गरेकाले त्यसमा पुनर्विचार नगरेसम्म जुनसुकै कदम पनि चाल्न पछि नहट्ने राजभण्डारीले बताए ।