काठमाडौं । छिमेकी भारतका विभिन्न प्रदेशमा बर्डफ्लू संक्रमण देखिएपछि नेपालले पोल्ट्रीजन्य वस्तुको आयातमा तत्काल प्रतिवन्ध लगाएको छ ।
नेपालमा बर्डफ्लू भित्रिन नदिन कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्र्तगतको पशु सेवा विभागमार्फत भारतको जुनसुकै क्षेत्रबाट पोल्ट्री र पोल्ट्रीजन्य पदार्थ तत्काल रोक्नू भन्ने निर्देश सहितको पत्राचार भएको जनाइएको छ । विभागले नेपाल–भारत सीमाका क्वारेन्टाइन चेक पोष्टलाई समेत पत्राचार गरेको जनाएको छ ।
मन्त्रालयका प्रवक्ता डा. श्रीराम घिमिरेले बर्डफ्लू संक्रमण भित्रिन नदिन पोल्ट्रीजन्य वस्तुको आयात पूर्ण रोक्न भनेर निर्देशन गरिएको बताए । ‘हामीले पशुसेवा विभागमार्फत भारतको जुनसुकै क्षेत्रबाट आएको भएता पनि पोल्ट्री र पोल्ट्रीजन्य पदार्थ र दाना लगायतका वस्तु पूर्ण रोक्नु भनेर निर्देशन भएको छ । हामीले बुधबार नै लिखित पत्राचार गरेका छौं ।’ उनले भने ।
त्यसका अलवा पनि खुला सीमानाका कारण कुनै कारणले भारतबाट बर्ड फ्लूको संक्रमण भित्रिइहाले पनि त्यसको तयारी भएको उनले बताए । ‘कुनै कारणले खुला सीमाना भएर भारतबाट बर्डफुलू संक्रमण हुने खालका वस्तु भित्रिए भने हामीले ‘बर्डफ्लु नियन्त्रण आदेश’को अधिकार प्रयोग गर्छौ, जुन सरकारले स्वीकृत गरेर राखेको आदेश हो’ उनले क्यापिटल नेपालसँग भने, ‘ उक्त आदेशले स्थानीय प्रमुख जिल्ला अधिकारीको
संयोजकमा कारबाही गर्ने कमिटी छ । उक्त कमिटीले संक्रमणयुक्त वस्तुलाई तत्काल नियन्त्रणमा लिएर नष्ट गर्ने र सम्वन्धी व्यक्तिलाई कारबाही गर्ने गर्छ ।’
उक्त आदेश प्रयोगका लागि सम्वन्धीत प्रमुख जिल्ला अधिकारीलाई समेत क्वारेन्टाइन चेक पोष्टमार्फत नै लिखित रुपमा पत्राचार गरेको घिमिरेले बताए ।
केही दिनदेखि भारतको विभिन्न राज्य तथा प्रदेशसँगै हरियाणा, केरला, गुजरात, राजस्थान लगायतका दर्जन बढी क्षेत्रमा १० औं लाख कुखुरा, हासँ तथा पन्छीजन्य वस्तुमा बर्डफ्लू देखिएपछि धमाधम नष्ट गरिएको छ । संक्रमण देखिएका प्रदेशमा अण्डा बिक्रीमासमेत रोक लगाइएको छ ।
भारतको सङ्घीय सरकारले ‘उच्च सतर्कता’जारी गर्दै फ्लू फैलिन नदिनका लागि आपत्कालीन उपायहरू अपनाउन भनेको छ ।