सरकारले डिजिटल भुक्तानीलाई प्रोत्साहन गरेसँगै बजारमा सेलपे नयाँ कम्पनीको रुपमा उदाएको छ । फरक विशेषता र सेवासहित सेलपेले मङ्गलबारबाट सेवा सुरु गरेको हो । सेवाको सुरुआत नेपाल राष्ट्र बैङ्कका गभर्नर चिरञ्जीवी नेपालले गरेका हुन् ।
अहिले भइरहेका मोवाइल वालेटमा पैसा जम्मा गर्नुपर्छ । त्यहीबाट कारोबार हुन्छ । तर, सेलपेमा पैसा जम्मा पनि गर्नुपर्दैन । आफ्नो बैङ्क खातामा रहेको पैसा सेलपेलको माध्यमबाट भुक्तानी गर्न सकिने सेलपेका अध्यक्ष दीपक मह्लोत्राले जानकारी दिए ।
अहिले भएका वालेटमा पैसा राख्दा ग्राहकको पैसाको व्याज आउँदैन । निव्र्याजी पैसा वालेटमा राख्नुपर्छ । तर, सेलपेमा कुनै पैसा जम्मा पनि गर्नु नपर्ने तथा आफ्नो पैसाको ब्याज समेत आउने कम्पनीले बताएको छ ।
सेलपे के हाे ? कसरी सञ्चालन हुन्छ ?
यस्ता छन् विशेषता
आधिकारिकरुपमा लन्च हुनुअघि नै १४ ओटा बैङ्कसँग टाइअप गरिसकेको सेलपेबाट फन्ड ट्रान्सफर कारोबार गर्दा सेवाग्राहीले अन्य ई–पेमेन्ट गेटवेमा जस्तो बारम्बार आफ्नो बैङ्किङ खाता नम्बर उल्लेख गर्नु पर्दैन । एक पटक केवाईसी फर्म भर्दा सम्पूर्ण बैङ्किङ विवरण उपलब्ध गराएपछि सेवाग्राहीको फोन नम्बर र सेलपेसँग रहेको बैङ्किङ विवरणबाटै सम्पूर्ण कारोबार सम्भव हुन्छ । सेलपे एप प्रयोगकर्ताले आफ्नो जुनसुकै बैङ्क खाता चयन गरेर प्रापकलाई पैसा पठाउन सक्छन् । तर, यसमा अन्य ई–पेमेन्टमा जस्तो प्रापक सम्बन्धित ई–पेमेन्ट सेवामा दर्ता हुनुपर्दैन । सेलपेबाट कारोबार गर्नका लागि पठाउने र प्राप्त गर्ने दुवैतर्फ सेलपेका साझेदार बैङ्कहरुसँगै सेलपेमा पनि दर्ता भएको हुनुपर्छ । बैङ्किङ कारोबारको हकमा पठाउने व्यक्तिले जुनसुकै बैङ्किङ खाता चलाए पनि प्राप्त गर्ने व्यक्तिले एउटा डिफल्ट खाता चयन गर्नु पर्छ ।
सेलपे सेवालाई कम्पनीले सेलपे डेविड कार्डको रुपमा व्याख्या गरेको छ । सेलपेबाट विभिन्न दुरसञ्चार सेवा, विजुली, खानेपानी, टिभी, इन्टरनेट, रेस्टुरेन्ट, सिनेमा हलहरुमा महशुल भुक्तानी गर्न सकिन्छ ।
त्यसैगरी, एक बैङ्क खाताबाट अन्य बैङ्क खातामा रकम स्थानान्तरण गर्न मिल्ने, स्वदेशभित्र गरिने मनि ट्रान्सफर, पीटुपी, पीटुबी, पीटुजी, बीटुपी, बिटुबी, बीटुजीजस्ता वास्तविक समयमा कार्य गर्ने कम्पनीले जनाएको छ । सेलपे सेवा मोबाइल तथा वेव एप्लिकेसन दुवै माध्यमबाट उपयोग गर्न सकिने कम्पनीका प्रवन्ध निर्देशक पवन प्रधानले जानकारी दिए ।