काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका निमित्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको पहलकदमीपछि रुपन्देहीको भैरहवा क्षेत्रमा बढ्दो विद्युत् लाइन ‘ट्रिपिङ’ को समस्या समाधान हुँदै गएको छ । निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी पाएपछि शाक्यले भैरहवाको विद्युतकाे गुणस्तरलाई विशेष चासाे लिएका थिए ।
उनकै निर्देशनपछि नेपाल विद्युत् प्राधिकरण, भैरहवा वितरण केन्द्र र बुटवल ग्रीड केन्द्रको पहलमा त्यसक्षेत्रका उद्योग क्षेत्रमा हुने बारम्बारको लाइन ट्रिपिङ कम गर्न विभिन्न सबस्टेसन र फिडरको मर्मत/सम्भार अघि बढाएको छ ।
विद्युत् प्राधिकरण, बुटवलको ग्रीड शाखा प्रमुख उमेश झाका अनुसार, विद्युतकाे भोल्टेज र ट्रिपिङ हुने समस्या समाधान गर्न अहिलेसम्म चारवटा ३३ केभी ‘आइसोलेटर’ र सवस्टेसनको मर्मत कार्य गरिसकेको बताए । सो सवस्टेसन मर्मतले यहाँको उद्योगमा बारम्बार हुने लाइन ट्रिपिङको समस्या धेरै हदसम्म कमी भएको उनले बताए ।
अझै केही सबस्टेसन तथा फिडरको मर्मत गरेपछि लाइन ‘ट्रिपिङ’मा कमी हुने उनी बताउँछन् । पछिल्ला दिनमा भैरहवा क्षेत्रका उद्योगमा लाइन ट्रिपिङमा सुधार हुँदै गएको त्यहाँका उद्योगीले बताएका छन् ।
पछिल्लो पटक भोल्टेज सुधार र ‘ट्रिपिङ’ समस्या केही हदसम्म कमी हुँदै गएको सिद्धार्थनगर उद्योग वाणिज्य संघका अध्यक्ष कुलप्रसाद न्यौपानेले बताए । ‘केही दिनयता भोल्टेज सुधार हुँदै गएको देखिन्छ,’ उनले भने, ‘समस्या सुधारका लागि प्राधिकरण र उद्योगीबीच बारम्बार सुधारका लागि प्रयास गरिरहेका छौं ।’
यसअघि बारम्बार उद्योगमा बिजुली जाने तथा प्राविधिक कारणले समस्या आउँदा उद्योगी हैरान हुँदै आएका थिए । तर, अहिले भने उद्योगपति र नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र प्रमुख जितेन्द्र झा र ग्रीड शाखा प्रमुख उमेश झाको पहलमा ‘ह्वाट्सप’ ग्रुप खोलिएको छ । जहाँ, विद्युत ओभरलोड हुने बित्तिकै वा बिजुली ‘ट्रिप’ वा जुनसुकै समस्या आउने बित्तिकै प्राधिकरणका कर्मचारी तत्काल सूचना र जानकारी दिन्छन् ।
त्यही ग्रुपमा उद्योगीले आफ्नो उद्योगमा विद्युतमा देखिएको समस्या राख्छन । र, तत्काल प्राधिकरण वितरण केन्द्र वा ग्रीड कार्यालयले समाधान गर्न सहजीकरण गरेको छ । यो सकारात्मक पक्ष हो ।
विगतमा उद्योगमा लामो समय बिजुली जाँदा न प्राधिकरणले सूचना दिन्थ्यो, न उद्योगले सम्पर्क गर्दा सही जवाफ नै आउँथ्यो । अहिले त्यो समस्या समाधान भएको एक उद्योगीले बताए ।
विगतमा र अहिले पनि भैरहवाका अधिकांश उद्योगले गुणस्तरीय बिजुली पाएका छैनन् । बुटवल–भैरहवा ३३ केभी प्रसारण लाइन र मैनहवा सबस्टेसन निर्माणको ढिलाइले पनि त्यसक्षेत्रका उद्योगले नै गुणस्तरीय बिजुली पाएका छन्, न मागे जति बिजुली नै पाएका छन् ।