काठमाडौं । नेपालमा उच्च शिक्षा अध्ययन गरेर विदेशमा अवसर खोज्न जानेहरूको भीडबाट बाहिर निस्केका युवामध्येका हुन वैभव पाण्डे । कोरोना भाइरस(कोभिड–१९) अघि उनी नेपालमा काम गरेर आफ्नो जीविकोपार्जन चल्ने अवस्था नदेखेपछि विदेशमा जाने सोच बनाइसकेका थिए ।
जब, इन्जिनियरिङको अध्ययन सकेर जागिर खान थाले त्यो बेलासम्म उनी विदेशमा जाने सोचमा थिएनन् । विस्तारै उनको इच्छा आँकाच्छा र चाहनाहरू बढ्दै जाँदा उनले नेपाल छोड्ने अठोट लिइसकेका थिए ।
आफ्नो क्षमता अनुसारको जागिर र तलब नपाउने अवस्था आएपछि उनी विदेश जान तयार भएका थिए । तर, त्यही बेला कोभिडको महामारी देखियो । मुलुकसँगै विश्वभर लकडाउनको लहर चल्यो । र, उनको विदेश जाने योजनामा पनि अवरोध भयो । तर, उनको यही अवरोध नेपालमा केही गर्ने नयाँ अवसर बनेर आयो ।
लकडाउनको समयलाई नै सदुपयोग गरेर नयाँ सोचका साथ उनले अनलाइनमार्फत बुकिङ लिने र घरघरमा नै गएर आँखा जाँच गर्ने डक्टरसहितको टोलीका नयाँ कम्पनी स्थापना गरेका छन् । नेत्रकार्ट ।
कोभिडको कारणले लामो समयसम्म लकडाउन भइरह्यो । उनले पनि आफ्नो विदेश जाने योजनालाई पनि प्राथमिकतामा पारेनन् । परिवारसँगको सहकार्यले नै उनी अहिले उद्यमी बन्नतर्फ अग्रसर भइरहेका छन् र स्थापित हुन खोजिरहेका छन् ।
यसरी सुरु भयो नेत्रकार्ट
म जब स्कुलमा पढिरहेका हुन्थ्यँे । म र मेरो साथीसँगै बस्दा उसले बोर्डमा लेखेको कुरा देख्दैन थियो । जसको कारण मेरो नोटबाट सार्ने गरेको थियो । केही समय अघि भाइले आँखा जाँच गर्दा एकैपटक माइनस ६ को समस्या देखियो ।
नजिकबाट यस्तो समस्या देखिरहेको र विदेश जाने योजनामा अवरुद्ध भइरहेको समयमा त्यही समस्यालाई व्यवसायमा ढाल्ने सोच बनाएर नेत्रकार्ट जन्मिएको उनी बताउँछन् ।
‘बेला–बेलामा आँखा चेकजाँच गर्न सहज र सरल बनाउन नेत्रकार्टको सुरुवात गरेको हो,’ उनले भने । आँखाको इको स्टिमलाई अनलाइनमार्फत घरमै बसिबसी सेवा सुविधा लिने वातावरण मिलाउन लागिएको उनी बताउँछन् ।
नेपालमै पहिलो पटक यो सुविधा ल्याइएको हो । घर–घरमा गएर आँखा चेकजाँच गरिन्छ । त्यसका लागि आवश्यक मेसिनहरू घरमै लगेर चेकजाँच गरिन्छ । लाइसेन्स प्राप्त चिकित्सकहरू घरमा गएर परीक्षण गर्ने हुँदा कोभिडको डरले अस्पताल जान समस्या हुनेलाई सहज हुने उनले बताए ।
आँखा जाँचका लागि अस्पताल र मेडिकलहरूमा ठूला–ठूला मेसिनहरू राखिन्छ । तर, नेत्रकार्टमार्फत सेवा लिने ग्राहकहरूका लागि भने त्यही अनुसारको मेसिनहरू घर–घरमै लगेर चेकजाँच गरिन्छ । अहिले आँखा जाँचका लागि ठूला मेसिनहरू प्रयोग गरिरहनुपर्छ भन्ने छैन ।
प्रविधिअनुसार फरक–फरक मेसिनहरू आइसकेकाले नेत्रकार्टसँग ती मेसिनहरू उपलब्ध रहेकाले आफ्नो सेवा र सुविधाप्रति आशंका नगरी ढुक्क भएर सेवा लिन सकिने बताइएको छ । त्यसका लागि www.netrakart.com मा गएर अर्डर गर्न सकिन्छ ।
सुरुमा ६ लाख रुपैयाँ लगानीबाट सुरु गरिएको नेत्रकार्टमा प्रविधि र डक्टर थपिँदै जाँदा लगानी पनि बढ्दै जाने पाण्डे बताउँछन् । अहिले वेबसाइट र मोबाइल एप निर्माण गरेर सञ्चालनमा ल्याइसकेको छ । ६ महिनादेखिको अध्ययनपछि स्टार्टअप क्षेत्रमा नयाँ कामको सुरुवात गरिएको उनले बताए ।
‘प्रविधिलाई सदुपयोग गरेर नेपालमै केही नयाँ काम गर्न सकिन्छ भन्ने उद्देश्य बोकेर अध्ययन अनुसन्धान गरी यो काम सुरुवात गरिएको हो,’ उनले भने ।
कसरी फुर्याे त आइडिया ?
पेसाले वैभव आइटी इन्जिनियर हुन् । उनको नजिकको दाइको आँखासम्बन्धी नै मेडिकल छ भिजन कन्सर्न । जुन नेत्रकार्टको अफिसियल पार्टर पनि हो । त्यहाँ पहिलेदेखि नै आँखासम्बन्धीको उपचार गर्ने गरिन्छ । त्
यहाँबाट लामो समयदेखि अनलाइनमार्फत सेवा दिनुपर्छ र दिन सकिन्छ भनेर बारम्बार भन्दै आएको कुरालाई कोभिडका कारण गरिएको लकडाउनको बेला उनको मनमा छोयो ।
नेपालको हकमा अहिलेसम्म यो सेवा उपलब्ध नभएकाले पनि नयाँ र आकर्षक हुने सोचका साथ वेबसाइट डिजाइन र यससम्बन्धी अध्ययन गरिएको बताउँछन् । करिब ६ महिनाको अध्ययन र तयारीपछि बिहीबारदेखि सो सेवा सञ्चालनमा ल्याएको बताउँछन् ।
तपाईंलाई चाहिने चस्माहरू पनि अनलाइनमार्फत नै खरिद गर्न सक्नुहुनेछ । नेत्रकार्टको वेबसाइटमा राखिएको चस्माहरूमध्ये ५ वटा छान्न सक्नुहुनेछ ।
ती फ्रेमहरू तपार्इंको अर्डरअनुसार घर वा अफिसमा ल्याइदिन्छ र त्यो फ्रेमलाई पाँच दिनसम्म लाएर आफूलाई सुहायो वा सुहाएन भनेर साथीभाइहरूसँग सल्हासुझाव लिन पाइन्छ । त्यसपछि पनि आफूलाई मन परेन भने फिर्ता दिनसमेत सकिने सुविधा दिइएको छ ।
एक सर्जरी गर्दा अर्कोलाई निःशुल्क
नेत्रकार्टमार्फत सर्जरी गर्दा गरिब र निमुखाहरूमध्ये एक जनालाई निःशुल्क सर्जरी गर्ने व्यवस्था मिलाइएको छ । आँखाको अवस्था हेरेर जसले पैसा तिरेर सर्जरी गरेको हुन्छ, त्यही किसिमको सर्जरी अर्को गरिब व्यक्तिलाई निःशुल्क रूपमा गर्ने व्यवस्था गरिएको उनी बताउँछन् । सामाजिक उत्तरदायित्वअन्तर्गत यो सेवा ल्याएको उनले बताए ।
त्यति मात्र होइन, जति जनाले घरमा बोलाएर चेकअपको सुविधा लिनुभयो त्यति नै व्यक्तिहरूलाई निःशुल्क सुविधा दिने व्यवस्था गरिएको छ । यसको अर्थ कोही पनि नेपालीहरू पैसा नभएकै कारण आँखा चेकजाँचबाट बञ्चित नहोस् भन्ने उद्देश्य आफ्नो कम्पनीको रहेको सीईओ पाण्डेले बताए । ।
अहिले धेरै मानिसहरू अस्पतालसम्म गएर चेकजाँच गर्न सक्ने अवस्था नरहँदा आँखाको बिरामीले राम्रो उपचार पनि नपाएको र समस्या झन थपिँदै गएकाले हामीहरूले अनलाइनमार्फत यस्तो सुविधा दिन लागिएको उनले बताए ।
होमआई चेकअप काठमाडौंमा मात्र
नेत्रकार्टले पहिलो चरणमा होमआई चेकअपलाई काठमाडौं उपत्यकाभित्र मात्र सीमित राखेको छ । तर, आइग्लास, सनग्लास र कन्ट्याक्ट लेन्स भने नेपाल र विश्वभरि जहाँ बसेर पनि लिन सकिने व्यवस्था मिलाइएको छ । उपत्यकाभित्र निःशुल्क रूपमा डेलिभरिको समेत सुविधा दिइएको छ । उपत्यका बाहिर भने निश्चित सर्भिस चार्ज लिने जनाएको छ ।
घर वा अफिसमा आएर आँखाको चेकअप गराएको सुरुवाती शुल्क ४ सय रुपैयाँ निर्धारण गरिएको छ । त्यसमा पनि दुई जनाको चेकअप गर्दा पहिलो व्यक्तिको ४ सय र दोस्रोको ३ सय रुपैयाँ तोकिएको छ ।
नेत्रकार्टलाई विश्वास किन गर्ने ?
नेत्रकार्ट आईएसओ सर्टिफाइड कम्पनी हो । त्यति मात्र नभएर चेकजाँच र उपचारका लागि राखिएका सबै डक्टरहरू लाइसेन्स प्राप्त र अनुभवि छन् । डक्टरहरूले घरमा र मेडिकलमा पनि उपचार गराइरहनु भएको छ । त्यसैले यो सुविधामा कसैले अविश्वास गर्ने ठाउँ नरहेको उनी बताउँछन् ।
अहिले नेत्रकार्टसँग दुई जना डक्टरलाई पूर्णकालीन रूपमा राखिएको छ । आवश्यक परेको बेला अन्य चिकित्सकहरू पनि उपलब्ध हुनेछन् । भिजन कन्सर्नसँगको साझेदारी भएको कारणले आफूहरूको सेवालाई प्रभावकारी हुने विश्वास दिलाउने पहिलो माध्यम रहेको बताउँछन् ।
भिजन कन्सर्न नेपालको पुरानो आँखा क्लिनिक मध्येको एक हो । हाल यसले उपत्यकाभित्र तीन ठाउँबाट सेवा दिँदै आएको छ ।