काठमाडौं । निर्माणाधीन कोशी करिडोरमा चालु आर्थिक वर्षभित्र थप सात पुल निर्माण सम्पन्न हुने भएको छ । हाल नौ पुल निर्माणाधीन रहेकामा सात सम्पन्न हुने देखिएको हो ।
राष्ट्रिय गौरवको आयोजना उत्तर–दक्षिण करिडोरमा अहिलेसम्म जम्मा २२ पुल चाहिने देखिएको कोशी करिडोर, खाँदबारी–किमाथाङ्का सडक योजनाका प्रमुख गौतमकुमार श्रेष्ठले बताए ।
अहिलेसम्म एउटा पुल मात्रै सम्पन्न भएर सञ्चालनमा छ । खाँदबारीबाट ५० किमी अगाडि अरुणखोलामा झण्डै तीन वर्ष पहिले पुल बनेको थियो । उनका अनुसार मौसम र समयानुकूल भए चालु आवभित्रै सात पुल सम्पन्न गर्न सकिन्छ ।
फाकसिन्दाबाट अगाडि रहेको पुल निर्माणको अन्तिम चरणमा पुगेको र अबको दुई साताभित्रै सकिने देखिएको उनको भनाइ छ । उनले भने, “करिडोरको अरुणखोलामा एउटा पुल सम्पन्न भइसकेको छ भने अरु स-साना खोलामा पुल निर्माणाधीन छन् ।”
करिडोरअन्तर्गत नै पाँच पुल डिजाइनको स्वीकृत क्रममा रहेको प्रमुख श्रेष्ठले जानकारी दिए । डिजाइन स्वीकृत भएमा चालु आवभित्रै ठेक्का निकाल्न सकिने उनको भनाइ छ ।
त्यो ठाउँमा सामग्री नभएकाले डीपीआर गरेरपछि निर्माण गर्ने भन्ने पनि छलफल भइरहेको छ । उनले भने, “निर्माण सामग्री नै नपाउने र पाउँदा पनि गुणस्तरीय पाउन गाह्रो छ ।”
जम्मा १६२ किमी लम्बाइको सडकमा १४८ किमीमा ट्र्याक खुलिसकेको छ । सो करिडोरअन्तर्गतको १४ किमी सडकको ट्र्याक खोल्न नेपाली सेनालाई जिम्मेवारी दिइएको छ । गत वर्ष फागुनमा सरकारले सेनालाई जिम्मेवारी दिएको थियो । सेनाले निर्माणको काम माघ महिनादेखि सुरु गर्ने गरी अघि बढाएको जनाएको छ ।
अहिले राजमार्गको १० किमी सडक स्तरोन्नति भइरहेको छ भने ३९ किमी सडक कालोपत्र गर्न लागिएको योजनाले जनाएको छ । अर्थ मन्त्रालयले कालोपत्रका लागि २ अर्ब ६० करोड रुपैयाँ स्वीकृत गरिसकेकाले ठेक्कामा जान लागिएको हो ।