काठमाडौंमा रहेका ब्रोकर कम्पनीको बुझाइ छ– हाम्रो भाग खोस्न बैंक आउन लागेको छ ? हाम्रो नाफाबाट हिस्सा खोजिरहेको छ ? हाम्रा ग्राहकलाई लैजान चाहेको छ ? तर, त्यो कुरा बिल्कुल होइन् । हामी काठमाडौंमा भएका ब्रोकर कम्पनीसँग प्रतिस्पर्धा गर्नका लागि ब्रोकर लाइसेन्स मागिरहेका छैनौं । भएका ब्रोकर कम्पनीलाई विस्तापित गर्न चाहेका छैनौं ।
उनीहरुको व्यवसाय घटोस्, उनीहरुकाे कमाइबाट हामीले हिस्सा खोजेका होइनौं । सिंगो देशको विकासका लागि गाउँ–गाउँमा क्यापिटल फर्मेसन गर्नुपर्ने आजको आवश्यकता रहेकाले बैंकलाई ब्रोकर लाइसेन्स दिनुपर्छ भनेका छौं ।
जुन ठाउँमा ब्रोकर कम्पनीको पहुँच छैन, त्यो ठाउँमा बैंक तथा वित्तीय संस्थाको सहजै पहुँच छ । त्यो ठाउँमा बैंकले पुँजी निर्माण गर्न सक्ने भएकाले बैंकलाई अनिवार्य रुपमा ब्रोकर लाइसेन्स दिनुपर्छ भनेका छौं ।
७ सय ५३ वटै स्थानीय तहमा बैंक तथा वित्तीय संस्थाका शाखा पुगिसकेका छन् । उनीहरुको देशभर नेटवर्क छ । गाउँ-गाउँमा भएको पैसालाई सेयरको माध्यमबाट बाहिर निकाल्न खोजेको हो । त्यो बैंक बाहेक ब्रोकर कम्पनीले सक्दैन ।
गाउँमा डम्प भएर बसेको पैसालाई बाहिर निकालेर पुँजी निर्माण गरेर राष्ट्रलाई सहयोग पुर्याउने प्रमुख उद्देश्य हो । गाउँ-गाउँमा बस्ने मान्छेले प्राइमरी वा सेकेन्डरी सेयरमा लगानी गर्ने वित्तिकै स–सानो पैसाबाटै ठूलो काम गर्न सकिन्छ ।
सन् २०१० मा भारतमा पनि दैनिक ६ लाख करोडको कारोबार थियो भने अहिले ३० लाख करोड रुपैयाँको कारोबार पुगिसकेको छ । १० वर्षको अवधिमा कारोबार ५ गुणा बढेको छ । यदि हामी पनि गाउँ-गाउँमा गयौं भने त्यो सम्भव छ ।
नेपालमा पनि ८ अर्ब हाराहारी कारोबार भइरहेको छ । यसलाई बढाएर ३० अर्ब पुर्याउनका लागि अनिवार्य रुपमा बैंकलाई ब्रोकर लाइसेन्स दिनुपर्छ । जबसम्म गाउँ-गाउँमा सेयर भर्ने सुविधा लैजान सकिँदैन्, तबसम्म पुँजी निर्माण हुँदैन । पुँजी निर्माण नहुने वित्तिकै ठूला आयोजना बनाउन असम्भव हुन्छ ।
ठूला जलविद्युत् आयोजना बनाउन विदेशीको आश गर्नुपर्ने अहिलेको बाध्यता छ । यदि सरकारले बैंकलाई ब्रोकर लाइसेन्स दिने हो भने त्यस्ता आयोजना बनाउन बैंक आफैंले पैसा जटाउँछन् । हामीसँग भएको स्रोतलाई मात्रै परिचालन गर्न सक्यौं भने पनि ठूला तथा राष्ट्रिय गौरवका आयोजना निर्माण गर्नका लागि पुँजीको कुनै अभाव हुँदैन ।
सन् १९९६ मा मलेसियाले यस्तै विधि अपनाएर देश बनाएको थियो । त्यो विधि हामी किन नअपनाउने ? त्यसैका लागि हामीले ब्रोकर लाइसेन्स मागेका हौं । हामीले काठमाडौंमा काम गर्नका लागि ब्रोकर लाइसेन्स मागेको होइन । यसमा ब्रोकर कम्पनी ढुक्क भए हुन्छ ।
यदि सरकारले काठमाडौंमा तिमीहरुले सेवा दिन पाउँदैनौं भनेको अवस्थामा पनि हामीलाई मन्जुर छ । हाम्रो प्रमुख उद्देश्य भनेको पुँजी निर्माण गर्नु हो । यसबाट पैसा कमाउनुपर्छ भन्ने होइन । हरेक कुरामा पैसा कमाउनुपर्छ भन्ने छैन ।
आज बैंकले सहुलियतपूर्ण कर्जा दिइरहेका छौं । त्यसमा त बैंकलाई नोक्सान नै छ । तैपनि बैंकले दिइरहेका छन् । किनभने, त्यसको मर्म बुझेका छौं, आत्मसाथ गरेका छौं । त्यही भएर लागि परेर काम गरिरहेका छौं । सरकारले ल्याएको राम्रो नीतिलाई हामीले पनि अनुशरण गरेर कार्यान्वयन गरेका छौं । गर्नु पनि पर्छ ।
गाउँमा लुकेर बसेको स-सानो पुँजीलाई बाहिर ल्याउन बैंकलाई ब्रोकर लाइसेन्स आवश्यक छ । अहिले गाउँको पैसा अनावश्यक खर्चमा गइरहेको छ । त्यसलाई पुँजी निर्माण गरेर बाहिर ल्याउँदा देशलाई के नराम्रो हुन्छ ?
गोल्यान बैंक तथा वित्तीय संस्था परिसंघका अध्यक्ष हुन् ।