काठमाडौं । एक व्यक्तिले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको नाम बेचेर ठगी धन्दा चलाइरहेको पाइएको छ । ईश्वरविक्रम सिंह नामक व्यक्तिले राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीको नाम बेचेर उद्योगी/व्यवसायीसँगबाट पैसा असुली गरिरहेका छन् ।
‘रिसेप्सनमा आफू उद्योग मन्त्रालयबाट आएको परिचय दिने । त्यहाँ बस्ने हाम्रो स्टाफले हामीलाई बेहोरासहित सोध्छन्, त्यसपछि छिर्न नदिने कुरा पनि भएन ।
आफ्नो कोठामा आइसेकपछि ती व्यक्ति उद्योगबाट आएको होइन भन्ने थाहा हुन्छ,’ एक व्यवसायीले क्यापिटल नेपालसँग भने, ‘आफ्ना्े कार्यकक्षमा आइसकेपछि राष्ट्रपति तथा प्रधानमन्त्रीको नाम उल्लेख गरेर बनाइएको भिजिटिङ कार्ड देखाउने र एउटा किताब लिइदिनु पर्यो भनेर पैसा माग्ने गरेका छन् ।’
सिंहले ‘इफ गड वाज अ ब्याङ्कर अर म्यानेजिङ फाइनान्स’ नामक किताब किनिदिनु पर्यो भन्दै उद्योगी/व्यवसायीसँग पैसा असुली रहेका छन् । जबकि उक्त किताबका असली लेखक भारतका रवि सुब्रमण्यन हुन् । उनैले लेखेको किताबमा नयाँ कभर हालेर सिंहले ठगी गरिरहेका छन् ।
उनले हरेक उद्योगीसँग उक्त किताब न्यूनतम् २ हजार रुपैयाँमा बेचिरहेका छन् । सिंहले देशका प्रतिष्ठित व्यक्तिको नाम लिने र उहाँले नै तपाईकोमा पठाएको भन्दै ठग्ने गरेका हुन् ।
सिंहले कम्युनिष्ट हिस्ट्रोरियन एण्ड लाइफ हिस्ट्री राइटर अफ राइट अनरेवल प्राइमिनिस्टर केपी शर्मा ओली भन्ने नाममा एउटा भिजिटिङ कार्ड बनाएका छन् ।
कोभिड–१९ (कोरोना भाइसर) उपत्यका जनचेतना अभियान (२०७७) मास्क लगाऔं, आफू पनि बाँचौं, अरुलाई पनि बचाऔं भन्ने अभियानको संयोजकसहितको उनीसँग अर्को पनि कार्ड छ । त्यसैगरी, प्रोफेसनल एण्ड स्पेसल बायोग्राफर वा राइट अनरेवल प्रेसिडेन्ट विद्यादेवी भण्डारीको नाममा अर्को कार्ड पनि बनाएर ठगी धन्दा चलाइरहेको खुलेको हो ।
उद्योगी/व्यवसायीले भित्र छिर्नै नदिने भएपछि ठूला व्यक्तिको नाम लिने तथा उनीहरुको नाममा कार्ड बनाएर ठगी धन्दा चलेको हो । ‘पहिला पहिला यसरी ठगी गर्ने प्रचलन धेरै थियो,’ ती उद्योगीले भने, ‘तर, विगत ३/४ वर्षदेखि यस्तो प्रकृतिको ठगी धन्दा बन्द थियो । अब फेरी ब्युतिँए छ ।’