काठमाडौं । साउन दोस्रो सातासम्म आइपुग्दा देशभर ८० प्रतिशत मात्रै रोपाइँ भएको छ । १० दिन ढिला गरी मनसुन सुरु भए पनि गत वर्षकै हाराहारीमा रोपाइँ भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।
साउन १२ गतेसम्म मुलुकका सात ओटै प्रदेशमा गरी ८०.१३ मात्रै रोपाइँ भएको मन्त्रालयले जनाएको छ । गत वर्ष यति बेला ८१.३१ प्रतिशत रोपाइँ भएको थियो । केही दिनदेखि मनसुन सक्रिय हुन थालेपछि भने तराई र मध्य पहाडका जिल्लामा रोपाइँ धमाधाम भइरहेको हो ।
सबैभन्दा बढी रोपाइँ सुदूरपश्चिम प्रदेशमा ९४.१७ प्रतिशत भएको छ । सबैभन्दा थोरै प्रदेश १ मा ७१.६१ प्रतिशत मात्र भएको छ ।
हालसम्म प्रदेश २ मा ७४.५० प्रतिशत, प्रदेश ३ मा ७८.८३ प्रतिशत, गण्डकी प्रदेशमा ८४.५६ प्रतिशत, प्रदेश ५ मा ८४.६० प्रतिशत र कर्णाली प्रदेशमा ९२.४० प्रतिशत रोपाइँ भएको मन्त्रालयले जनाएको छ ।
भौगोलिक अवस्थाअनुसार, उच्च पहाडमा ८४.९२ प्रतिशत, मध्यपहाडमा ८०.६६ र तराई क्षेत्रमा ७९.७८ प्रतिशत रोपाइँ भएको छ । नेपालमा कुल १३ लाख ७१ हजार ७०६ हेक्टरमा धान खेती हुँदै आएको छ । त्यसमध्ये १० लाख ९९ हजार ८६३ हेक्टर जमिनमा धान रोपाइँ सम्पन्न भएको मन्त्रालय स्रोतको दाबी छ । गत वर्ष शतप्रतिशत रोपाइँ भएको थियो ।
ढिला रोपाइँ हुँदा धानको बीउ फस्टाउन नसक्ने र राम्रोसँग बाली नलाग्ने समस्या हुने गर्छ । यसबाट उत्पादनमा कमी आउन सक्ने विज्ञहरुको भनाइ छ । गतवर्ष ५६ लाख १० हजार मेट्रिक टन धान उत्पादन भई यसअघिको धान उत्पादनको रेकर्ड तोडिएको थियो ।
धान नेपालको प्रमुख बाली हो । यसले कुल गार्हस्थ्य उत्पादन (जीडीपी)मा ७ प्रतिशत र कुल कृषि क्षेत्रमा २० प्रतिशत योगदान दिँदै आएको छ । धान उत्पादन घटबढले अर्थतन्त्रमा समेत प्रभाव पार्ने गरेको छ ।