काठमाडौं । सुशील पोखरेल र अनमोल सिग्देल स्कुलदेखिका मिल्ने साथी हुन् । उच्च शिक्षा अध्ययनका लागि विराटनगरबाट काठमाडौंमा आएका दुवैजना विभिन्न पेसामा आबद्ध भएका थिए ।
सिग्देल इलेक्ट्रिकल इन्जिनियर हुन भने पोखरेल नुवाकोटको एक रिसोर्टमा काम गर्दै आएका थिए । यी दुईको बसाई भिन्न–भिन्न ठाउँमा भए पनि दैनिकजसो भिडियोकलमार्फत भलाकुसारी भने हुने गरेको थियो ।
यसैबीच कोरोना भाइरस(कोभिड–१९)को संक्रमण सुरु भएपछि भएको लकडाउनले भने उनीहरूबीचको सम्बन्धलाई व्यावसायिकतामा गाँस्न सफल बनाइदियो ।
कोभिडका कारण रिसोर्ट बन्द भएको कारण पोखरेल त्यतिकै बसिरहेका थिए भने सिग्देल पनि एक बेकरीमा जागिर खाँदै आएका थिए । सबै व्यवसाय बन्द भएपछि सिग्देल पनि त्यतिकै बसिरहेका थिए ।
त्यो बीचमा सिग्देल र पोखरेलले नेपालमा आफूहरूको भविष्य राम्रो नदेखेकै कारण जागिर खोज्न विदेश जाने समेतको सोच नबनाएका भने होइनन् । दुबई र मलेसिया लगायतका क्षेत्रमा १ देखि १ लाख ५० हजार रुपैयाँसम्म तलब दिने कम्पनीहरूसमेत खोज्ने भ्याए ।
तर, त्यही बेला उनीहरूको दिमागमा नयाँ आइडिया फुर्यो कि अब नेपालमै बसेर अनलाइनमार्फत बेकरीका परिकारहरू बिक्री गर्ने । त्यही सोचका साथ उनीहरूले लकडाउनकै बीचमा विभिन्न बेकरीहरूसँगको सहकार्यमा केकको अनलाइन डेलिभरिसमेत सुरु गरे ।
त्यो बेला उनीहरूले अनलाइन केकमार्फत सेवा सुरु गरेका थिए । अरुको बेकरीबाट केक लगेर घरघरमा पुर्याउँदा धेरै गुनासोहरू आएपछि आफंैले उत्पादन गर्ने सोच बनाए ।बेकरी क्षेत्रमा केही नयाँ गर्ने सोचका साथ उच्च गुणस्तरको केकको स्वाद चखाउने उद्देश्य आफूहरूको रहेको उनीहरुको भनाई छ ।
केकमा यार्साको स्वाद चखाउने तयारी
उच्च हिमाली क्षेत्रमा पाइने जडिबुटी यार्सालाई मिसावट गरी केक तयार पार्ने योजनासमेत उनीहरुले बुनेका छन् । त्यसका लागि अध्ययन अनुसन्धान गरिरहेको बताउँछन् । यदि यो भयो भने नेपालमै पहिलो बेकरीको रुपमा यार्सा रहनेछ । अरुभन्दा केही फरक गरौं र नेपाली जडिबुटीलाई सदुपयोग गर्ने सोच आफूहरूको रहेको उनीहरु बताउँछन् । नेपाली उत्पादनलाई नै ब्राण्ड बनाउने सोचका साथ तयार पारिएको छ ।
सेलिब्रेटिबीच लोकप्रिय
मंसिर ११ गतेबाट सुरु गरिएको बिजनेस विशेष गरेर सेलिब्रेटी क्षेत्रमा लोकप्रिय भइसकेको छ । यार्साले उत्पादन गरेको केक नायिकाहरू प्रियंका कार्की, उषा खड्गी, नर्मता श्रेष्ठ, माल्भिका सुब्बागायतले त्यहीबाट प्रयोग गर्दै आएका छन् । उनीहरूले आफ्नो फेसबुक र इस्टाग्राममा समेत यार्सा बेकरीको केक सेयर गरेका छन् ।
१० लाख लगानी
अनलाइनमार्फत अरु बेकरीबाट केक ल्याएर बिक्री गर्नुभन्दा आफैंले उत्पादन गर्दा थप फाइदा पुग्ने सोचका साथ करिब १० लाख रुपैयाँ लगानी गरेर काम सुरु गरेको सिग्देल बताउँछन् । साथीभाइहरूसँग सरसापट गरेर लगानी जुटाएर आफैंले केक उत्पादन गरी बिक्री गरिरहेको उनले बताए । अहिले एक ठाउँबाट केक बनाएर बिक्री गरिरहेको भए पनि कोभिडको अवस्था सामान्य भएपछि विभिन्न ठाउँमा आउटलेट खोल्ने योजना उनीहरूको छ ।
अहिले जे जति बिक्री भइरहेको छ, यसमा हामी पूर्णरुपमा सन्तुष्टि छौं सञ्चालक पोखरेलले भने यसले थप हौसलासमेत मिलिरहेको छ । लकडाउनका बेला बेरोजगार भएर बसेका धेरै युवाहरूले आफ्नै देशमा स–साना लगानी गरेर आत्मानिर्भर बन्न सक्ने उदाहरणको रुपमा आफूहरू अघि बढेको उनको भनाइ छ ।
पोखरा र चितवनमा पनि
काठमाडौंमा सुरु भएको यार्सा बेकरीलाई पोखरा र चितवनमा पनि विस्तार गर्ने योजना अघि सारिएको छ । अनलाइन डेलिभरिमार्फत ती क्षेत्रका ग्राहकहरूलाई आवश्यकताअनुसार केक र बेकरीका परिकारहरू घरघरमा पुर्याउने सोच आफूहरूले बनाएको पोखरेलले जानकारी दिए ।
न्यूनतम एक पाउण्डको केक अर्डर हुनुपर्ने
यार्साको केक खानका लागि न्यूतम एक पाउण्डसम्मको अर्डर हुनुपर्नेछ । अहिले केही समयका लागि १० प्रतिशत छुटमा कम्पनीले केकको होमडेलिभरि गरिरहेको छ । केकको न्यूनतम मूल्य ७०० रुपैयाँ छ । छुटसहित ६३० रुपैयाँमा घर र अफिसमा ल्याइदिने व्यवस्था गरिएको उनी बताउँछन् ।