काठमाडौं । ‘कुलमान घिसिङको देवत्वकरण गर्न जरुरी छैन । तर, उनको उत्कृष्ठ प्राविधिक व्यस्थापकीय क्षमताका कारण मुलुक लोडसेडिङमुक्त भयो ।
त्यसैले छिन–छिनमा बिजुली जाँदा आमनागरिकले कुलमान सम्झिनु स्वाभाविक हो । कुलमानलाई निरन्तरता नदिने यो सरकारको गलत निर्णयको पुष्टि हुँदैछ !’ अघिल्लो साताको बुधबार पूर्वाधारविज्ञ सूर्यराज आचार्यले ट्विट गरे ।
अहिले बिजुली गइरहने समस्यालाई व्यवस्थापकीय क्षमतामा देखिएको कमजोरीका रूपमा उनले अथ्र्याए । सोही दिन पूर्वसचिव शान्तराज सुवेदीले पनि ट्वीट गर्दै लेखे, ‘अहिले बेलुकी (पुस १४ गते) साँझ ६ बजेदेखि सवा ६ बजेसम्म तीन पटक झ्याप्प–झ्याप्प बिजुली गयो, सिनामंगल शान्तिनगर क्षेत्र ।’
‘सुरुवातमा छोटो समयको थियो अहिले यो समय बढेर झन्डै एक घण्टा पुग्नै आँटेको छ । आज दिनभर जस्तो लाइन गयो, यो हेर्दा लाग्दैछ अघोषित लोडसेडिङ सुरु भयो पर्वतमा ।’ पर्वतबाट सञ्चारकर्मी संगीता केसीले बिजुली गएको गुनासो सामाजिक सञ्जालमा लेखेकी थिइन् ।
यी त केही सामाजिक सञ्जालमा भेटिएका बिजुली अनियमित भएपछिका गुनासा हुन् । त्यो बाहेक अहिले देशका जिल्लाबाट उपभोक्ताका गुनासा सामाजिक सञ्जालमा बग्रेल्ती भेटिन थालेका छन् ।
अहिले सामाजिक सञ्जालदेखि चिया चौतारीमा एउटै विषयको गुनासो उठछ्, बिजुली जान थाल्यो, कतै पुनः लोडसेडिङ त हुने होइन, कुलमान गएपछि मुलुकलाई फेरि लोडसेडिङमा धकेल्ने भए, यस्तै–यस्तै ।
अघिल्लो साताको सोमबार मध्यमस्र्याङ्दी जलविद्युत् आयोजनाको एउटा युनिटमा उसमस्या आएपछि ३० मेगावाट कम हुँदा विद्युत् प्रणाली ‘कोल्याप्स’ नै भयो । जसको असर भारतबाट ल्याइने बिजुलीको बाटो ढल्केबर–चन्द्रनिगाहपुर प्रसारणलाइन ओभरलोडका कारण देशका अधिकांश ठाउँमा बिजुली अवरुद्ध हुन पुग्यो ।
जसरी सोमबार साँझ प्रणालीमा अचानक समस्या आयो । त्यसपछि प्राधिकरणले स्रोतले भोलिपल्ट नै सो समस्या समाधान गरेको दाबी गर्यो । तर, देशभर बिजुली जाने क्रम अहिले पनि निरन्तर भइरहेको छ । आम उपभोक्ताको गुनासो पनि चर्को रूपमा उठ्न थालेको छ ।
सर्वसाधारणदेखि सञ्चार माध्यमले विद्युत् आपूर्तिमा पछिल्लो पटक देखिएको समस्यालाई प्राधिकरणको अक्षम नेतृत्व र व्यवस्थापकीय कमजोरीका रुपमा व्याख्या गर्न थालेका छन् । गुणस्तरीय विद्युत् आपूर्तिका बिषयमा प्राधिकरणको चौतर्फी आलोचना भइरहेको छ ।
यता, प्राधिकरणले उपभोक्ता र सञ्चार माध्यमबाट विद्युत् अनियमितता भएका गुनासा आउन थालेपछि प्रेस विज्ञप्ति नै निकाल्यो । जसमा भनियो, ‘लोडसेडिङ भएको होइन्, सम्भावना पनि छैन ।’
त्यतिमात्र होइन्, विद्युतको मागभन्दा आपूर्ति कम भएको अवस्थामा मात्र लोडसेडिङ गर्नुपर्ने बाध्यता आउने भन्दै अहिले त्यो अवस्था नरहेको प्राधिकरणले दाबी गर्यो ।
अझ, प्राधिकरणका निमित्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले गत वर्षको भन्दा यसपाली ट्रिपिङ हुने दर कम भएको दाबीसमेत गरे ।
त्यस्तै, शुक्रबार ऊर्जा मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा पनि प्राविधिक कारणले विद्युत् काटिँदा लोडसेडिङ हुन थाल्यो भनेर नबुझ्न शाक्यको आग्रह थियो ।
प्राधिकरण र ऊर्जा मन्त्रालयले गरेको पत्रकार सम्मेलनबाट के बुझिन्छ भने, अहिले लोडसेडिङ भएको छैन, र, हुने अवस्था पनि छैन । त्यसो हो भने, अहिले देशैभरबाट आम उपभोक्ताका गुनासा किन आइरहेका छन् त ? के बिजुली नगई उपभोक्ताले त्यसै प्राधिकरणलाई आरोप लगाए होलान त ? त्यस्तो हुनै सक्दैन् ।
अहिले पनि उच्च पहाडी र दुर्गम जिल्लामा घण्टौं बिजुली जाने समस्या बढिरहेको छ । हुम्लाको सिमिकोट क्षेत्र आसपासमा अहिले पनि दैनिक ११ घण्टा लोडसेडिङ नै छ ।
लामो समय बिजुली नआउँदा एसईईको तयारीमा रहेका विद्यार्थी, अनलाइन कक्षा लिने विद्यार्थी, इलेक्ट्रिक व्यवसायी, उद्योग तथा कलकारखाना प्रभावित हुन पुगेका छन् ।
बिजुली अनियमित हुँदै गएर बिजुली काटिन थालेपछि उपभोक्ताका गुनासा आउनु स्वाभाविकै हो । तर, प्राधिकरणले उपभोक्ताका गुनासा र अनियमित बिजुली किन र कसरी भयो भनेर सूक्ष्म रूपले अध्ययन नगर्नु बिडम्बना पूर्ण छ ।
विद्युत प्राधिकरणले लोडसेडिङ छैन र हुन सम्भावना पनि छैनन् भन्ने कुरा अहिले बजारमा उल्टो हुँदै गएको देखिन्छ । बेला बेलामा बिजुली झ्याप्प–झ्याप्प गइरहनुले प्राधिकरण वा ऊर्जा मन्त्रालयले निकालेको प्रेस वक्तव्यले सार्थकता पाउन नसकेको बताउँछन्, उपभोक्ताकर्मी माधव तिमिल्सिना ।
प्राधिकरणलाई दोष दिएर विद्युत् माफियाहरूले चलखेल गर्न सुरु गरिसकेको उनी बताउँछन् । ‘प्राधिकरणलाई दोष देखाएर अहिले माफियाहरूले चलखेल गरेको पनि हुन सक्छ, सोलार, इन्भर्टर, मैनबत्ती वा अन्य विद्युत्तीय सामग्रीका माफियाहरूको षड्यन्त्र पनि हुनसक्छ’ उनले भने, ‘त्यसका लागि राज्यपक्ष अझै जिम्मेवार र संवेदनशील बन्नुपर्यो । उपभोक्ता पनि जिम्मेवार र संयमित हुनुपर्ने अवस्था सिर्जना भएको छ ।’
तल्लो तहसम्म विद्युत् वितरण प्रणाली सुधारका लागि प्राधिकरणको नेतृत्व पहल नगर्दा र कर्मचारी ‘चेन अफ कमाण्ड’ नमान्दा पनि यस्तो समस्या आएको कतिपयको बुझाई छ ।
अघिल्लो वर्षमा भन्दा यसवर्ष लाइन ट्रिपिङ तुलनात्मक रुपमा कम भएको प्राधिकरणका निमित्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको दाबी छ । यसवर्ष लोडसेडिङ बढी भयो भन्ने कुरा तथ्यगत नभएको र मनोगत कुरामात्रै रहेको उनी बताउँछन् ।
पुस महिना सुरु भएसँगै चिसो बढेपछि बिजुलीको माग बढेको र त्यसको प्रभावकारी व्यवस्थापनमा प्राधिकरणको कमजोरी देखिन्छ । गत वर्षको तुलनामा यसवर्ष बिजुलीको माग १०० मेगावाटभन्दा बढीले बढेको छ ।
गतवर्ष चिसोको यही समयमै १३५० मेगावाट बिजुलीको लोड पुगेको थियो । अहिले १४५७ मेगावाट बिजुली लोड पुगेको प्राधिकरणले दाबी गरेको छ ।त्यसमाथि भारतबाट बिजुली आयात पनि बढेको छ । अहिले भारतबाट बिजुली आयात ६ सय मेगावाट हाराहारी नै छ ।