काठमाडौं । प्रख्यात फेसन डिजाइनर । हस्पिटालिटी क्षेत्रमा पनि सशक्त आबद्धता । दुवै क्षेत्रबाट बनेको दरिलो सम्बन्धलाई कुशलतापूर्वक प्रयोग गरेरै होला सायद, मास्कलाई विश्व बजारमा पुर्याउन सफल भइन्– मिसु श्रेष्ठ ।
फेसन डिजाइनका साथीसंगी विश्वभर छरिएका हुन्छन् । त्यसै सिलसिलामा बेलायतमा चिनजान भएका एक जना साथीको उक्सावटमा मास्क बनाइएकी मिसुले आज विश्वका धेरै देशमा मास्क बनाएर पठाइरहेकी छन् ।
‘सरकारले गत चैत ११ गतेदेखि लकडाउन गरेपछि सम्पूर्ण व्यवसाय बन्द भयो । आवत–जावत पनि रोकिहाल्यो । लकडाउनकै बीचमा यूकेमा बस्ने एक साथीसँग कुराकानीका सिलसिलामा मास्क बनाउन सल्लाह दियो । उसैको सल्लाह वा आग्रहमा मास्क बनाइयो’ अमेरिका तथा बेलायतमा मास्क निर्यात गर्दै आएक मिसुले भनिन्, ‘त्यसअघि कहिल्यै मास्क बनाएको थिइन् । तर, साथीले आडभरोसा दिएपछि त्यतातिर हात हालेँ ।’
त्यो बेला अहिले जसरी सजिलै बजारमा मास्क पाउन सम्भव थिएन । जताततै मास्कको हाहाकार थियो । ‘आफ्ना परिवारका सदस्यलाई मास्कको आवश्यकता पर्छ, उनीहरूको माग पनि पूरा हुने, आफन्त र चिनजानका व्यक्तिलाई पनि दिन पाइने भएपछि मास्क बनाउन लागेको हुँ,’ उनले भनिन्, ‘सुरुमा परिवारका सदस्य र इष्टमित्रलाई दिन पाइने भएकाले मास्क बनाएको हो । तर, पछि त्यसैले व्यावसायिक रूप लियो ।’
यूकेमै रहेको साथीको आग्रहमा मास्क बनाएकी मिसुले स्याम्पलका रूपमा तीन चारवटा मास्क यूके पनि पठाइन् । यूकेमा भएको साथीले उक्त मास्क विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) अनुसार मापदण्ड छ कि छैन भनेर परीक्षणका लागि पठाए । किनभने डब्ल्यूएचओको केही क्राइटेरिया छन्, जुन हाम्रो उत्पादनमा मिट भएको छ कि छैन भन्ने थाहा हुन्छ ।
‘हुन त यो मेडिकल मास्क होइन । यसले लगाउने मान्छेलाई कोरोनाबाट केही हदसम्मको सुरक्षित मात्रै राख्ने हो । अरू पनि सुरक्षित हुन्, आफू पनि सुरक्षित हुन सकियोस्, यसको मुख्य उद्देश्य यति हो,’ मिसुले भनिन् ।
यूकेमा बस्ने साथीले विश्व स्वास्थ्य संगठनमा मास्कको गुणस्तर परीक्षणका लागि पठाए । त्यसको केही समयपछि त्यो साथीले खबर गर्याे ‘तिमीले बनाएको मास्क डब्ल्यूएचओमा एप्रुभ भयो । यसको अर्थ डब्ल्यूएचओको क्राइटेरियामा मिट भयो ।’
त्यसपछि मिसुले युकेमै रहेको जस्ट नेफेल नामक कम्पनीसँगको सहकार्यमा मास्कको व्यावसायिक उत्पादन सुरु गरेकी हुन् । अहिले मिसु श्रेष्ठको कम्पनी मिसुस् र यूकेको कम्पनी जस्ट नेफेल मिलेर मास्क उत्पादन गरिरहेका छन् । मिसुले बनाएको मास्क तीन लेयर हो ।
त्यसपछि नेपालबाट धमाधम यूकेमा मास्क निर्यात भइरहेको छ । अर्डरअनुसार फरक–फरक डिजाइनमा मास्क बनाएर पठाउने गरिएको छ । धेरै ‘ठूलो भोल्युम छैन । तर, सन्तुष्ट छौं,’ उने भनिन्, ‘नेपाली उत्पादन पनि युरोप र अमेरिकी बजारमा उपलब्ध हुनु, हाम्रा लागि त्यही ठूलो कुरा हो ।’
अफ्रिकन देशहरूले पनि आफ्नो देशको झण्डा राखेर मास्क बनाउन अर्डर गरेपछि उनीहरूको देशको झण्डासहितको मास्क बनाएर पठाएको उनको भनाइ छ ।
नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिल केशरी शाहको आग्रहमा चन्द्र–सूर्य लोगोसहित मास्क बनाएँ । शाहले सो मास्क लगाएको फोटो सामाजिक सञ्जालमा राखेपछि त्यसका बारेमा बुझ्नेको ओइरो नै लाग्यो । सोधपुछका लागि यति धेरै फोन आउँछ भनेर सोचेको पनि थिइन् । त्यसपछि नेपालको झण्डा राखेर मास्क बनाउन थालेको उनको भनाइ छ ।
अहिले उद्योगी÷व्यवसायीले पनि मिसुको उत्पादन मन पराएका छन् । अधिकांश उद्योगीले आफ्नो इच्छा अनुसारको मास्क डिजाइन गरेर लगाइरहेका छन् । मास्कमा आफ्नो नाम लेख्नेदेखि विभिन्न डिजाइनमा मास्क अर्डर गर्ने गरेको उनको भनाइ छ ।
शाहले सामाजिक सञ्जालमा फोटो राख्नुअघि मिसुले थोरैथोरै मास्क बनाएर निर्यात गरिरहेको थिइन् । शाहले सामाजिक सञ्जालमा फोटो हालेपछि नेपालीहरूबाट पनि धेरै सोधपुछ आउन थाल्यो । त्यसपछि अभिनेत्री मनीषा कोइरालाले पनि मैले बनाएको मास्क लगाएर फोटो राखेपछि यसको मागको ग्राफ उकालो लागेको उनको भनाइ छ ।
सुरुमा यूकेमा मात्रै निर्यात गरिरहेको थिए । अहिले अष्ट्रेलिया, युरोपका अन्य देश र अफ्रिकन मुलुकमा पनि मास्क निर्यात गरिरहेको छु ।
‘त्यहाँबाट पाएको खुसीको कुनै बयान गर्नै सक्दिनँ । यस्तो खराब समयमा पनि घर–घरबाट कटन बनाउने दिदीहरूको साथ पाएँ ।
उहाँहरूले पनि काम पाइरहनु भएको छ । त्यसबाहेक अन्य व्यक्तिहरूले पनि केही न केही काम पाइरहनु भयो,’ उनले भनिन्, ‘म पहिलेदेखि जुन व्यवसायमा आबद्ध छु, त्यसमा पनि राम्रो भएको छ । त्यसको तुलनामा मास्कले मलाई विश्व बजारमा धेरै नै चिनाइ दिएको छ । मेरो ब्रान्डलाई अमेरिकासम्म पुर्याइदियो । नेपालमा बनेको मास्कले विश्व बजारमा स्थान पाइरहेको छ ।’
मैले मागअनुसार मास्क बनाएर पठाइरहेको छु । पहिल्यै अर्डर लिन्छु । किनभने कामदार पनि कम छन् । फेरि हामीले हातबाट बुनेर मास्क बनाउँछौं । त्यसैले गर्दा भन्ने बित्तिकै मास्क बनाएर दिन नसक्ने उनको भनाइ छ ।
मिसुका अनुसार अहिले ८ सय ५० रुपैयाँमा एउटा मास्क बिक्री भइरहेको छ । मास्क किनेपछि दुईवटा फिल्टर निःशुल्क पाइन्छ । त्यो फिल्टर मास्कमा राख्न मिल्छ । तर, उक्त मास्कमा फिल्टर नहाल्दा पनि कुनै असर नगर्ने उनको भनाइ छ । अमेजन डटकम यूकेमा पनि मिसु ब्रान्डको मास्क पाइन्छ । त्यहाँबाट पनि बिक्री सुरु भइसकेको छ ।