काठमाडाैं। नेपाल टेलिकमले फाइबरमार्फत ग्राहकलाई इन्टरनेट सेवा पुर्याउने एफटीटीएच सेवाको बिस्तार दु्रत गतिमा अघि बढाएको छ ।
विगतमा प्रयोग हुँदै आएको एडीएसएलभन्दा फाइबरमार्फत इन्टरनेट बिस्तारतर्फ टेलिकम अघि बढेको हो ।
नेपाल टेलिकमले दिएको जानकारीअनुसार ग्राहकहरुको आकर्षण पनि फाइबर इन्टरनेटमा बढी छ । टेलिकमले एफटीटीएच सेवा ५ वर्षअघि सञ्चालनमा ल्याएको थियो । उक्त सेवा ५ वर्षअघि सुरु भए पनि त्यसमा ग्राहकहरुको खासै आकर्षण भएन ।
तर, पछिल्लो समय एफटीटीएचको माग बढ्न थालेको टेलिकमले जनाएको छ । विगतमा राजधानीमा मात्रै सीमित रहेको एफटीटीएच सेवा अहिले देशव्यापी रूपमा विस्तार गर्ने लक्ष्य रहेको टेलिकमले जनाएको हो । तत्कालका लागि एफटीटीएच सेवाका लागि पहुँच पुगेका ग्राहकहरुलाई समेटिने बताइएको छ ।
टेलिकमले ३९ जिल्लामा फाइबर सेवा विस्तार गरिसकेको छ । आजदेखि काठमाडौँ उपत्यकाका विभिन्न स्थान र बनेपामा एनटी टिभी सेवा सञ्चालनमा आएको छ । काठमाडौँ उपत्यकाका हात्तीगौँडा, छाउनी, कीर्तिपूर, बलम्बु, गोठाटार, चाबहिल, जोरपाटी, नक्साल, थैव, सैबु, ग्वार्कोलगायतस्थानमा फाइबर सेवा पुगिसकेको छ ।
अब छिट्टै उपत्यका बाहिर पनि एनटी टिभी सेवा उपलब्ध गराउने टेलिकमले जनाएको छ । कम्पनीले गत फागुनमा पहिलो चरणको परीक्षण प्रसारण गरेको थियो ।
एफटीटीएच सुविधा ३३ जिल्लामा
अहिले देशव्यापी रूपमा ३३ जिल्लाका ग्राहकहरुले टेलिकमको एफटीटीएच सेवामा संलग्न हुन सक्नेछन् । एउटै तारबाट भ्वाइस कल र इन्टरनेट मात्र नभई टेलिभिजनसमेत हेर्न सकिने सुविधा टेलिकमले ल्याएको हो । उक्त मोबाइलमा नै टेलिभिजन हेर्न मिल्ने व्यवस्था ल्याएका कारण टेलिकमको एफटीटीएच सेवा ग्राहक माझ लोकप्रिय बनेको छ ।
नेपाल टेलिकमले लामो समयदेखि प्रयास गरेको एफटीटीएच ग्राहकहरुलाई इन्टरनेटमा आधारित टेलिभिजन सुविधा आज शुकबारदेखि सञ्चालनमा ल्याएको छ । आवश्यक सेटअप बक्स खरिद गरेपछि ग्राहकले टेलिकमको फटीटीएचमार्फत टेलिभिजन हेर्ने सुविधा प्राप्त गर्न सक्ने छन् ।
टेलिकमले पाँच वर्षदेखि एनटीफाइबरमार्फत ग्राहकलाई उच्च गतिको इन्टरनेट सुविधा उपलब्ध गराउँदै आएको छ । टेलिकमले गत डिसेम्बर महिनामा अन्य कम्पनीभन्दा बढी ग्राहकलाई उच्चगतिको इन्टरनेट जडान गर्न सफल भएको छ ।
“फाइबरको नयाँ ग्राहक बनाउने कम्पनीका रुपमा टेलिकम एक नम्बरमा परेको छ”, कम्पनीका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले भन्, “टेलिकम फाइबरमार्फत एकैसाथ टेलिफोन, इन्टरनेट र टिभी उपलब्ध गराउने पहिलो कम्पनी बनेको छ ।”
हालसम्म अन्य इन्टरनेट सेवा प्रदायक कम्पनीले इन्टरनेट र टिभी सेवा मात्र दिँदै आएका छन् । प्रबन्ध निर्देशक अधिकारी हरेक घरमा एकवटा तार जडान गरेपछि अर्को सेवा लिनका लागि फेरि अर्को तार जोड्नुपर्ने बाध्यता टेलिकमले अन्त्य गरेको बताउछन् । टेलिकमले सञ्चालनमा ल्याएको उक्त सेवाले शहरी सौन्दर्यलाई पनि सघाउ पुर्याउनेछ ।
टेलिकमले ‘एक घर, एक फाइबर कनेक्सन’ को उद्देश्य राखेर काम गरिरहेको पनि उहाँले बताए । ‘डिजिटल नेपाल फ्रेमवर्क’लाई कार्यान्वयन गर्न पनि यसले सघाउ पु¥याउने प्रबन्ध निर्देशक अधिकारीको भनाइ छ । उनले यो सेवालाई देशभर विस्तार गरिने पनि बताए ।
निजी क्षेत्रको भन्दा सहुलियत मूल्य
कम्पनीले दुई प्याकेजमा टिभी सेवा उपलब्ध गराएको छ । जसमा सिङ्गल टिभी कनेक्सनसहित १५ एमबीपीएस फाइबर इन्टरनेट (बेसिक टिभी प्याकेज) को मूल्य १ हजार २३० देखि १३ हजार २२० रुपैयाँसम्म तोकेको छ । एक महिनाका लागि १ हजार २२०, तीन महिनाको तीन हजार ५३० र एक वर्षको १३ हजार २२० रुपैयाँ रहेको छ ।
यसैगरी इन्टरनेटबाहेक एनटी टिभी र निःशुल्क ल्यान्डलाइनको मूल्य एक महिनाको ४८०, तीन महिनाको १ हजार ४५० र एक वर्षको ५ हजार ७८० रुपैयाँ तोकेको छ । प्रिमियम एनटी टिभीसहित फाइबर इन्टरनेटको मूल्य १ हजार४ सयदेखि २४ हजार रुपैयाँ सम्म तोकिएको छ । १५ एमबीपीएस अनलिमिटेड इन्टरनेटर, एनटी टिभी र टेलिफोन (निःशुल्क) एक महिनाको १ हजार ४००, तीन महिनाको ४ हजार १०० र एक वर्षको १५ हजार रुपैयाँ रहेको छ ।
३० एमबीपीएस अनलिमिटेड इन्टरनेट, एनटी टिभी र टेलिफोन ९निःशुल्क० प्याकेजको एक महिनाको १ हजार ७५०, तीन महिनाको ५ हजार र १ वर्षको १८ हजार १००, ४० एमबीपीएस प्याकेजको एक महिनाको २ हजार ५०, तीन महिनाको रु छ हजार र एक वर्षको १९ हजार ७०० रुपैयाँ तोकिएको छ ।
‘विश्वासिलो सेवा प्रवाह गर्न निर्देशन’
एनटी टिभी सेवाको शुभारम्भ गर्दै मन्त्री गुरुङले सेवालाई भरपर्दो र विश्वासिलो बनाउँदै सेवा प्रवाहलाई ग्राहकमैत्री बनाउन निर्देशन दिए। उनले दूरसञ्चार क्षेत्रमा आविष्कार भएका प्रविधिको अध्ययन गरी नेपालमा पनि शुरुआत गर्न आग्रह गरे । टेलिकमलाई प्रतिस्पर्धी कम्पनीका रुपमा अगाडि लैजान मन्त्रालयले सक्दो सहयोग गर्ने पनि उनले बताए ।