काठमाडौं । सम्झौता सकिएको ६ महिना बितिसक्दा पनि विदेशी लगानीमा बनेको ६० मेगावाटको खिम्ती–१ जलविद्युत आयोजनाको आधा स्वामित्व नेपाल विद्युत प्राधिकरणमा हस्तान्तरण भएको छैन ।
आधा स्वामित्व हस्तान्तरणका लागि हिमालय पावर लिमिटेडसँग वार्ता गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव प्रविणराज अर्यालको संयोजकत्वमा वार्ता समिति गठन भएको थियो । वार्ता समितिका संयोजक अर्यालले अवकाश पाएपछि अहिले प्रक्रिया अघि नबढेको हो । समितिको नयाँ संयोजक तोकिएको छैन ।
नर्वेको बहुमत स्वामित्व रहेको खिम्ती आयोजनाको सम्झौता असार २७ गतेदेखि सकिएको छ । स्वामित्व हस्तान्तरण नभए पनि विद्युत् प्राधिकरणले खिम्ती हिमाल पावरलाई अन्तरिमकालीन प्रतियुनिट २ रुपैयाँका दरले भुक्तानी गरिरहेको छ । हिमाल र विद्युत प्राधिकरणबीच विद्युत खरिदबिक्री (पीपीए) र स्वामित्व हस्तान्तरण सम्झौतापछि पूर्ण भुक्तानी हुने भएको छ ।
हिमाल पावरले चलनचल्तीको (पोष्टेड रेट) अर्थात प्रतियुनिट वर्षादमा प्रतियुनिट ४ रुपैयाँ ८० पैसा र हिउँदमा ८ रुपैयाँ ४० पैसा मागेको छ । तर विद्युत प्राधिकरणले पहिला नै धेरै लाभांश लगिसकेकाले सो दरमा पीपीए नहुने स्पष्ट पारेको छ ।
खिम्ती आयोजना सञ्चालन गर्न विद्युत प्राधिकरण र हिमाल पावरको संयुक्त कम्पनीमा खिम्तीको स्वामित्व हस्तान्तरण हुनेछ । डलरमा भएको पीपीए पनि हट्ने भएको छ ।
२०५२ माघमा विद्युत प्राधिकरण र हिमाल पावरबीच डलरमा पीपीए भएको थियो । बिजुली खरिदवापत विद्युत प्राधिकरणले आयोजनालाई डलरमा भुक्तानी गर्दै आएको थियो । डलर बढेपछि खिम्तीको बिजुली महँगो भएको थियो । आयोजनाले सरकारलाई बुझाउनु पर्ने रोयल्टी पनि विद्युत प्राधिकरणले तिर्दे आएको थियो ।
वार्षिक ५० करोड रुपैयाँ बढी रोयल्टी प्राधिकरणले सरकारलाई बुझाउँदै आएको छ । यसले गर्दा बिजुलीको लागत प्रतियुनिट २१ रुपैयाँसम्म पुगेको थियो । विदेशी मुद्रा विनिमय जोखिम पनि विद्युत प्राधिकरणले वहन गरिरहेको थियो ।
बिजुली खरिद र रोयल्टीसमेत गरी विद्युत प्राधिकरणले वार्षिक ५ अर्ब रुपैयाँ भुक्तानी गर्दै आएको छ । आधा स्वामित्व र नयाँ पीपीए दर कायम भएपछि खिम्तीमा कम्तीमा ३ अर्ब रुपैयाँ दायित्व घट्ने संभावना रहेको प्राधिकरण अर्थ निर्देशनालयका उपकार्यकारी निर्देशक लेखनाथ कोइरालाले जानकारी दिए ।
त्यसबाहेक आधा आम्दानी पाउने भएकाले दायित्व झनै कम हुनेछ । पुरानो विद्युत पीपीए खारेज भएकाले विद्युत प्राधिकरण र हिमाल पावरले संयुक्त कम्पनी स्थापना गर्ने छन् ।
अरुण तेस्रो आयोजनाको अवसानपछि खिम्ती जलविद्युत निर्माण भएको हो । ९०० मेगावाटको अरुण तेस्रो अहिले भारतको सतलज जलविद्युत निगम लिमिटेडले निर्माण गरिरहेको छ ।
सन २००० जुलाईदेखि व्यावसायिक रुपमा बिजुली उत्पादन थालेको खिम्तीको २० वर्षपछि आधा स्वामित्व प्राधिकरणमा हस्तान्तरण हुने सम्झौता भएको थियो ।
खिम्ती आयोजना निर्माण, सञ्चालन र हस्तान्तरण (बुट) नीतिअन्तरगत निजी तथा विदेशी लगानीबाट निर्माण भएको पहिलो आयोजना हो । आयोजनाले सन २००० को जुलाइ ११ तारिखदेखि विद्युत उत्पादन थालेको हो । हिमाल पावरको ५० वर्षको विद्युत उत्पादन अनुमतिपत्र (लाइसेन्स) छ ।
हिमाल पावरमा नेपालको बुटबल पावर कम्पनी लिमिटेड (बीपीसी), नर्वेको स्ट्याटक्राफ्ट एसएफ, आलस्थम पावर एस, जीई इनर्जी एसको संयुक्त लगानी रहेको छ । बीपीसीको खिम्तीमा १७ प्रतिशत स्वामित्व रहेको छ । त्यसबेला आयोजना बनाउन १४ करोड ५२ लाख डलर लगानी भएको थियो ।
विद्युत प्राधिकरणसँग डलरमा पीपीए गदा १ डलर बराबर ५२ नेपाली रुपैयाँ थियो । २ दशकको अन्तरालमा डलर मजबुत भएर ११७ रुपैयाँ पुगेको छ । आयोजनाबाट वार्षिक ३५ करोड युनिट बिजुली उत्पादन हुने गरेको छ ।