काठमाडौं । नेपालको हवाइ क्षेत्रको नियामक नागरिक उड्डयन प्राधिकरण (क्यान) का कर्मचारीहरुले नेपाला एयरलाइन्सको निःशुल्क टिकट मागेका छन्।
प्राधिकरणको २२ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्दै आधिकारिक ट्रेड युनियनका अध्यक्ष श्रवणकुमार यादवले नेपाल एयरलाइन्सले प्राधिकरणका कर्मचारीलाई पनि स्ट्यान्डवाइ टिकट दिनुपर्ने माग गरे।
सरकारी भएकै कारण विना प्रतिस्पर्धा ग्राउन्ड ह्यान्डलिङको जिम्मेवारी पाएको एयरलाइन्सले नाफाबाट न्यूनतम हिस्सा दिएकाले आफूहरुलाई टिकट दिनुपर्ने उनको तर्क छ।
संसारभर ग्राउन्ड ह्यान्डलिङको जिम्मेवारी पाएकोले नाफाको ३० प्रतिशत दिन्छन् । तर, नेपालमा भने अहिलेसम्म दिइआएको १५ प्रतिशतबाट पनि झार्ने प्रस्ताव गरेको छ। यसरी कसरी हुन्छ ? उनले प्रश्न गरे।
नेपाल एयरलाइन्सले ग्राउन्ड ह्यान्डलिङ सेवाको गुणस्तर पनि नबढाएको उल्टो विमानस्थलमा पनि अन्य विना प्रतिस्पर्धा दिइएको प्रति उनले असन्तुष्टी व्यक्त गरे।
संसारभर प्रतिस्पर्धाका आधारमा यस्तो अनुमति दिने प्रचलन छ। तर यहाँ भने विना प्रतिस्पर्धा दिने त्यसमा पनि न्यून रोयल्टी पाइने। यसबाट प्राधिकरणलाई घाटा भइरहेको छ उनले भने।
प्राधिकरणका कर्मचारीहरुले पाउनुपर्ने सेवा सुविधा अझ खुम्चिंदै गएको र प्राधिकरणले दिंदै आएको बोनस पनि रोकिएको उनको गुनासो छ।
कार्यक्रममा बोल्ने क्रममा यादवले लोकसेवा आयोगको पनि आलोचना गरे। प्राधिकरणमा कर्मचारी नियुक्तीको जिम्मा लोकसेवा लिएदेखि विमानस्थल सञ्चालनसम्म नै प्रभावित भएको उनले बताए।