काठमाडौं । कुलमान घिसिङ भदौ २८ गतदेखि नेपाल विद्युत प्राधिकरणबाट सेवानिवृत्त हुनेबित्तिकै आम उपभोक्ताहरुले अब फेरि लोडसेडिङ हुने हो कि भनेर निकै चिन्ता व्यक्त गरेका थिए ।
अहिले राजधानीमा बिजुली आउने जाने क्रम बढेर उपभोक्तालाई हैरानी भएको छ ।सर्वसाधारण उपभोक्तामा अहिले एउटा शङ्का देखिएको छ । कतै निश्चित स्वार्थ समूहको चलखेलबाट लोडसेडिङ गराएर पुरानै अन्धकार युगमा मुलुकलाई फर्काउने कसरत भइरहेको त हैन ?
आम उपभोक्ताहरुले सामाजिक सञ्जालमा फेरी लोडसेडिङ हुने भनेर आक्रोश व्यक्त गरेका छन् । यसबारेमा निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङबाट वास्तविकता बुझने प्रयास गरेका छौं ।
क्यापिटल नेपालसंग कुरा गर्दै उनले प्राधिकरणको व्यवस्थापकीय कमजोरीले बिजुली गइरहेको बताए । ‘प्राविधिक समस्या आएपछि समयमा रिस्पोन्स गर्नुपर्छ, त्यो भएको देखिएन । त्यसैले बिजुली आपूर्तिमा समस्या देखिएको हो’ उनले भने ।
गत वर्षको भन्दा यो वर्ष उपत्यकामा बिजुलीको माग ७० मेगावाट कम भएको कुलमानले जानकारी दिए । विद्युत् प्राधिकरणका अनुसार गत वर्ष उपत्यकामा सबैभन्दा उच्च माग ४०७ मेगावाट थियो ।
यसपालि कोरोना भाइरस महामारीका कारण अझै थुप्रै उद्योगधन्दा तथा होटलहरू पूर्ण सञ्चालनमा आएका छैनन्। त्यसैले बिजुलीको माग पनि घटेको उनको भनाई छ ।
‘माग नै कम भएको अवस्थामा लोडसेडिङ भएको हैन, प्राविधिक समस्या समयमा समधान गर्न नसकेको हो’उनले भने ‘प्रणालीकोे व्यवस्थापनमा कमजोरी देखिएको छ । नियतवश लोडसेडिङ गराउने योजना नभइ व्यवस्थापकीय कमजोरीले यस्तो समस्या आएको हो । ’
प्राविधिक समस्याहरू निरन्तर आउने भएकाले तिनको तत्काल निरुपरण हुनुपर्ने उनको भनाई छ । उनका अनुसार अर्काे पक्ष माग र आपूर्तिबीच सन्तुलन कायम रहनुपर्छ ।
माग बढेर हैन, कतै ट्रान्सफर्मर वा कतै लाइनमा केही समस्या आइपरेको छ भने पहिले नै यस्तो होला भनेर द्रुत गतिमा त्यसलाई समाधान गर्नुपर्ने उनको सुझाव छ । आपूर्तिमा सन्तुलन छैन भने त्यो पनि गरिहाल्नु पर्ने उनको भनाई छ ।
समस्या आयो भने तत्काल त्यसको सम्बोधन गर्न आफु लागिपरेको बताउदै उनले भने उच्च व्यवस्थापननै लागिपर्नुपर्छ। प्राविधिक समस्या बेलाबेला आइरहन्छन् त्यसैले व्यवस्थापन चनाखो हुनुपर्छ।
प्राधिकरणका प्रवक्ता तथा उपकार्यकारी निर्देशक मदन तिम्सिना केही प्राविधिक गडबडीले बिजुली गइरहेको बताउछन् । प्राविधिक समस्या समधानको काम भइरहेको उनले सुनाए । उनले लोडसेडिङ नभएको स्पष्ट पारे । उनले पोल, तार र ट्रान्सफरमर फर्ने काम जारी रहेकाले बिजुली गइरहेको जिकिर गरे ।
अहिले नेपालमा देशव्यापी बिजुलीको माग बढेर १४६० मेगावाट पुगेको तिम्सिनाले बताए । यस्तै ५९५ मेगावाट बिजुली भारतबाट आयात भइरहेको छ । बाँकी बिजुली आन्तरिक उत्पादनबाट आपूर्ति भइरहेको छ ।