काठमाडौं । ‘न्यू ईयर इभ’ पर्यटन व्यवसायीका लागि एउटा उत्सव नै हो । व्यवसायीहरुले पर्यटकीय गन्तव्यहरुलाई सजिसजाउ र विभिन्न आकर्षक प्याकेजहरु ल्याएर पर्यटकलाई आकर्षित गरी यो पर्वलाई उल्लासमय बनाउने गर्छन् ।
अर्को अर्थमा भन्दा ‘न्यू ईयर इभ’ पर्यटकीय गन्तव्यहरु भरिभराउ हुने समय हो । गत वर्ष यस्तै चमक थियो । तर, यो वर्ष त्यस्तो रौनक छैन ।
विश्वव्यापी रूपमा देखिएको कोरोना महाव्याधीको जोखिमले पर्यटकहरु आफ्नो थातथलो छाडेर नयाँ गन्तव्यमा प्रवेश गर्ने अवस्था बनेन जसले ‘न्यू ईयर इभ’ रौनकमय बन्न नसक्ने अवस्था सिर्जना भएको छ ।
अवस्था सामान्य भए पर्यटकहरु ‘न्यू एयर इभ’ मनाउन विभिन्न पर्यटकीय गन्तव्यमा पुगेका हुन्थ्ये । तर, कोरोना महाव्याधीले अहिले परिस्थिति बदलिएको छ । अधिकांश पर्यटकीय क्षेत्र सुनसान छन् ।
१० महिनादेखि फैलिएको कोभिडबाट विश्वभर करोडौं मानिसहरू संक्रमित भएका छन् भने लाखौंको ज्यान गएको छ । अझै पनि कोभिड नियन्त्रणमा आउन सकेको छैन । युरोपमा नयाँ प्रकारको कोरोना भाइरस देखिएकाले त्रास झनै बढाएको छ । यद्यपि कोभिड महामारीको खोपले केही आशा जगाएको छ ।
अहिले युरोप र अमेरिकामा कोरोना विरुद्धको खोप लगाउन सुरु भइसकेको छ । युरोप र अमेरिका बाहेक सबै अन्य मुलुकहरूमा खोप उपलब्ध भइसकेको छैन ।
युरोपेली मुलुकमा पुनः लकडाउन सुरु भएको छ । जसको प्रत्यक्ष असर पर्यटन क्षेत्रमा परेको छ । यसअघि पनि लामो समयसम्म भाइरसको कारण घरभित्रै बसेका मानिसहरू अझै खुलेआम रूपमा घुमफिर र हिँड्डुल गर्न सक्ने अवस्थामा छैनन् ।
जसको कारण प्रत्यक्ष रूपमा पर्यटन क्षेत्रमा परेको हो । नेपालमा पनि आन्तरिक एवं बाह्य पर्यटकहरूको चलायमान हुन सकेको छैन । कोभिडको संक्रमणको त्रास नघटेकै कारण नयाँ वर्षमा भरिभराउ हुने यहाँका प्रमुख पर्यटकीय स्थलहरू अहिले शून्य जस्तै भइरहेको छ ।
विशेष गरेर यो बेला आन्तरिक पर्यटनले भरिभराउ हुने पोखरा, सौराहा, ठमेल, धुलिखेल, चरिकोटलगायतका क्षेत्रहरूमा पर्यटकको चहलपहल न्यून रहेको व्यवसायीहरूको भनाइ छ ।
ठमेल
विशेष गरेर विदेशी पर्यटकहरूको मुख्य आकर्षणको केन्द्रका रूपमा रहेको ठमेल विस्तारै चम्किन थालेको छ । कोभिडका कारण लामो समयसम्म रात्रिकालीन व्यवसायहरू बन्द हुँदा सुनसान बनेको ठमेल अहिले केही चहलपहल हुन थालेको हो ।
ठमेलमा न्यू ईयर इभमा विभिन्न सांगीतिक कार्यक्रमहरू हुने गरेका थिए । तर, यो वर्ष पर्यटकहरूको रौनक त्यति देखिएको छैन ।
रेष्टुराँ एण्ड बार एसोसिएसन नेपाल (रेवान) महासचिव एवं केटु रेष्टुराँ ठमेलका सञ्चालक एकराज अधिकारीले न्यू ईयर इभले पनि खोसिएको पर्यटनको रौनक फिर्ता ल्याउने सम्भावना नरहेको बताउँछन् ।
विगतका वर्षहरूमा न्यू ईयरका लागि भनेर रेष्टुराँका टेबलहरू अग्रिम बुकिङ हुने गरेको सम्झना गर्दै यो वर्ष भने खाली जस्तै रहेको उनको भनाइ छ । अहिले ठमेलका विभिन्न रेष्टुराँहरूले न्यू ईयरलाई मध्यनजर गरी छुटको अफर पनि ल्याएका छन् ।
पोखरा
नेपालको प्रमुख पर्यटकीय क्षेत्रका रूपमा परिचित पोखरामा हरेक वर्ष सडक महोत्सव हुँदै आएको छ । तामझामका साथ हुने सडक महोत्सव यस वर्ष भने सामान्य मात्र हुने रेवान पोखराका निवर्तमान अध्यक्ष भीमसेन भुजेलले जानकारी दिए ।
रेवानले पोखरालाई ‘अंग्रेजी नयाँ वर्षको गन्तव्य स्थल’ को रूपमा प्रवद्र्धन गर्ने उद्देश्यसहित रेवान पोखराले १५ देखि १७ पुससम्म ‘२२ औं पोखरा सडक महोत्सव २०२० र ०२१’ आयोजना हुने बताइएको छ ।
अन्य वर्ष जस्तो यस वर्ष सडक महोत्सव ५ दिन नभई ३ दिन हुने भएको छ । रेवानले प्रत्येक ३ किमीको दूरीमा स्वास्थ्य मापदण्डसम्बन्धी बोर्ड तथा सूचना दिने बताएको छ । त्यस्तै ३ वटा गेटमा हेल्थ डेस्क स्थापना गरेर सचेतना कार्यक्रमसमेत गर्ने बताएको छ ।
पोखराका होटल व्यवसायीहरूले पर्यटकहरूलाई लक्षित गरी ५० प्रतिशतसम्म छुटको अफर ल्याएको होटल रानीवन आर्केडका सञ्चालक हरि भुजेलले जानकारी दिए । होटलहरूले न्यूनतम मूल्य राखेर व्यवसाय सञ्चालन गरे पनि अपेक्षा अनुसारको पर्यटकहरू नआएको उनको भनाइ छ ।
सौराहा
न्यू ईयरमा भरिभराउ हुने मध्येको अर्को गन्तव्य हो, चितवनको सौराहा । कोभिडका कारण लामो समयसम्म बन्द भएको सौराहाका होटलहरू केही समय अघिबाट मात्र सञ्चालनमा आएको छ ।
क्षेत्रीय होटल संघ चितवनका निवर्तमान अध्यक्ष सुमन घिमिरेले न्यू ईयरले खासै चमक ल्याउन नसकेको बताए । विगतका वर्षहरू जसरी अहिले होटलको बुकिङ नभएको उनको भनाइ छ । कोभिडबाट बच्न आवश्यक स्वास्थ्य मापदण्डहरू अपनाएर होटल र रेष्टुराँहरू पर्यटकको पर्खाइमा सञ्चालन गरिरहेको उनले बताए ।
न्यू ईयर शुक्रबार परेको हुनाले पनि अझै मानिसहरू घुम्न आउने आशामा व्यवसायीहरू रहेको बताउँदै विगतका वर्षहरू जस्तो रौनक भने नरहेको उनको भनाइ छ ।
धुलिखेल
काठमाडौंबाट नजिकको पर्यटकीय गन्तव्यका रूपमा परिचित धुलिखेलमा पनि न्यू ईयर इभको चहलपहल खासै छैन । विगतका वर्षमा होटल भरिभराउ भएर बस्ने ठाउँसमेत नहुने धुलिखेलमा यो वर्ष बुकिङ नै न्यून रहेको क्षेत्रीय होटल संघ काभ्रेका अध्यक्ष प्रेमकण्ठ मकाजु श्रेष्ठले जानकारी दिए ।
अन्य समयको भन्दा न्यू ईयरका लागि भनेर बुकिङ आउने क्रम भने बढेकाले आशा भने जगाएको उनको भनाइ छ ।
चरिकोट
न्यू ईयरमा व्यस्त हुने सहरमध्ये पर्छ दोलखाको सदरमुकाम चरिकोट पनि । विशेष गरेर कालिञ्चोक र भीमेश्वर मन्दिरको दर्शनका लागि पुग्ने पर्यटकहरू चरिकोटमा पुग्ने हुँदा विगतका वर्षहरूमा बस्ने ठाउँको समेत अभाव हुने गरेको थियो ।
यो वर्ष भने न्यू ईयरको चमक धेरै नभएको होटल संगमका सञ्चालक सुदर्शन कार्कीको भनाइ छ । पर्यटकको स्वागतका लागि चरिकोटका होटलहरू तमतयार भएर बसेको उनको भनाइ छ ।