काठमाडौं । काठमाडौँ महानगरपालिका मेयर विद्यासुन्दर शाक्यले चक्रपथ विस्तारमा ढिलाइ हुँदा मोनोरेल कुदाउन नसकेको बताएका हुन् । उनले मोनोरेल कुदाउन दोस्रो चक्रपथ विस्तार हुन नसक्दा समस्या भएको उनको तर्क थियो ।
कलंकीदेखि चाबहिल खण्डको सडक विस्तारको काम चिनिँया कम्पनीले बनाउनेछ । तर, सडक विस्तार हुनुअघि पूर्वतयारी काम सम्पन्न नहुँदा अहिले पनि दोस्रो चरणको सो चक्रपथ विस्तार अन्योलमा छ ।
‘मैले अघि बढाउने भनेको मध्यको एक हो, मोनोरेल । चक्रपथमा मोनोरेल चलाउने भनेका थियौँ । चक्रपथ विस्तार भइ नसकेकाले त्यो काम गर्न सकेनौँ ।’ उनले भने, ‘धरहरा बनाउने भनेका थियौँ । धरहरा निर्माण सम्पन्नको चरणमा छ । दरबार हाइस्कुल सम्पन्न भयो । रानीपोखरीको काम पहिलो चरणको सम्पन्न भयो । काष्ठमण्डप निर्माण सम्पन्नको चरणमा छ ।’
चुनाव अघिको काठमाडौंको बाटो र अहिलेको बाटोमा धेरै फरक भइसकेको भन्दै अधिकांश ठाउँमा, ढलान गर्ने, ढुंगा छाप्ने काम सम्पन्न भएको उनको भनाइ छ । धुलो, हिलो धेरै हदसम्म नियन्त्रण भएको भए पनि अहिले मेलम्ची खानेपानीका कारण केही समस्या भएको उनको तर्क छ ।
सरोकारवाला निकायको सम्वन्वयको अभावले पनि केही समस्या भएको छ । यद्यपि हामी वचनमा प्रतिवद्ध छौँ । हामी अरुले नगरेका काम पनि हाम्रो खर्चमा गरेर महानगरवासीका गुनासा समाधान गर्ने प्रयासमा लागेको मेयर शाक्यको भनाइ छ ।
उनले काठमाडौँ महानगरपालिकाले सबै निर्णय सर्वसम्मतिले गर्दै आएको बताए । ‘चुनावी प्रतिवद्धताअनुसार काठमाडौं महानगरपालिकाले आफ्नो केन्द्रीय भवन चाहिँ बनाउन सकेको छैन । मुद्दा हालेर रोकेपछि यो सम्भव नभएको हो ।’ उनले खिन्नता प्रकट गर्दै भने, ‘जनताबाट समर्थन प्राप्त भएको छ । बजेटको समस्या छैन । बजेटका कारण अहिलेसम्म कुनै पनि काम रोकिएको छैन । तर, कहिले अख्तियार त कहिले अदालत गुहार्दा प्रतिवद्धताअनुसार काम गर्न ढिलाई भएको छ ।’
‘जहाँ पुरानो भवन छ, त्यसलाई स्तरोन्नति गर्ने काम गर्दै अघि बढेका छौँ । हामीेले कतिपय अवस्थामा जग्गा नभएको ठाउँमा जग्गा खरिद गरेर पनि वडा कार्यालय भवन निर्माणको काम अघि बढाएका छौँ ।’ शाक्यले भने, ‘हाम्रो कार्यकाल भित्र खरिद प्रक्रियाको ढिलाईलगायतले केही थोरै कार्यालय भवन सम्पन्न नहोलान् तर, ३२ वटै वडा भवन निर्माणको काम भने अघि बढ्छ ।’