काठमाडौं । सोमबार साँझ अचानक काठमाडौं उपत्यका लगायतका देशका अधिकांश क्षेत्रमा विद्युत सेवा अवरुद्ध हुन पुग्यो । केही समय बिजुली आउने/जाने गरिनै रह्यो । साँझको ‘पिक’ समयमै बिजुली जाँदा धेरैले सामाजिक सञ्जालमा लोडसेडिङ फर्किने भयो भन्दै नेपाल विद्युत् प्राधिकरणको आलोचना गरे ।
केहीले नयाँ ऊर्जामन्त्री टोपबहादुर रायमाझी भित्रिने बित्तिकै मुलुकलाई लोडसेडिङमा धकेल्न खोजिएको भन्ने खालका आशयका टिप्पणी पनि गरिरहेका थिए । यसअघि चरम लोडसेडिङ भएका बेला रायमाझीले उप–प्रधान तथा ऊर्जामन्त्रीको जिम्मेबारी सम्हालेका थिए ।
केहीले कुलमान घिसिङ गएपछि पुन लोडसेडिङ हुन सक्ने तर्क पनि गरेका थिए । तर, बिजुली त्यसरी अवरुद्ध हुनुको मुख्य कारण प्राधिकरणले बिजुलीको माग र आपूर्ति व्यवस्थापन मिलाउन नसक्नु नै हो ।
मंसिर सुरु भएयतादेखि नै देशभर चिसो बढेर बिजुलीको माग बढ्दै थियो । अहिले पुसकोे मध्य अवधि आइपुग्दा बिजुलीको माग अझै बढ्नु स्वभाविकै हो ।
प्राधिकरणका अनुसार, अहिले देशभर बिजुलीको माग अधिकतम बढेर १४५७ मेगावाट पुगेको छ । जुन, गतवर्षको तुलनामा १०० मेगावाट माग बढी हो । गतवर्ष यो बेला बिजुलीको माग साढे १३०० मेगाावटको हाराहारी थियो ।
हाल प्राधिकरणको प्रणालीमा १३६२ मेगावाट मात्रै जडित क्षमता छ । सामान्य समयमा देशभरको बिजुलीको माग १३०० मेगावाट हाराहारी छ । अहिले बिजुलीको माग बढेअनुसार आपूर्ति गर्न स्वदेशी बिजुलीको उत्पादनले धान्दैन् । भारतबाट नै बिजुली आयात नगरी हुँदैन ।
अहिले पनि भारतबाट ५९५ मेगावाट बिजुली आयात भएको छ । देशभर चिसो बढेयता बिजुलीको माग बढ्नु स्वभाविक नै हो । तर, बिजुलीको माग बढ्दा प्राधिकरणले त्यसअनुसार आपूर्ति व्यवस्थापन र प्रणाली सुधारमा ध्यान नदिँदा बारम्बार विद्युत् आपूर्तिमा समस्या आउने गर्छ ।
सोमबार साँझ भएको घटना पनि त्यसैको उपज हो । ढल्केबर–चन्द्रनिगाहपुर प्रसारण लाइन हुँदै भारत बढी बिजुली तानिँदा ओभरलोड भएर आपूर्तिमा समस्या आएको प्राधिकरणको निश्कर्ष थियो ।
त्यतिमात्र होइन्, मध्य मस्र्याङ्दी जलविद्युत् आयोजनाको एक युनिटमा प्राविधिक समस्या आउँदा ३० मेगावाट प्रणाली बाहिर हुँदा माग असन्तुलन भइ विद्युत् आपूर्ति बन्द भएको प्राधिकरणका कामू कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले क्यापिटल नेपाललाई बताएका थिए ।
स्वदेशमा बिजुली उत्पादन जति थपिएर भारतबाट जति बिजुली आयात भए पनि प्रसारण प्रणाली मजबुत र माग तथा आपूर्तिको सन्तुलन नमिलाउँदासम्म समस्या ज्यूँका त्यूँ हुने ऊर्जा विज्ञ तथा इन्जिनियर सुर्य अधिकारीको तर्क छ ।
‘अहिले बिजुलीको माग र आपूर्तिको सन्तुलन नमिल्नुको कारणले नै बेला बेलामा सिस्टमा समस्या आउँछ । प्राधिकरणले केही बिजुली सञ्चित गरेर राख्नुपर्ने हुन्छ, त्यो भयो भने कुनै प्राविधिक समस्या आउने बित्तिकै लोड ‘कन्ट्रोल’ गर्न सकिन्छ’ उनले भने, ‘अर्कोतर्फ, प्राधिकरणले प्रणालीको स्वच्छतामा बढी ध्यान दिनुपर्ने हो तर, कुनै कुरामा पनि प्राधिकरणको ध्यान छैन ।’ प्राधिकरणले प्रसारण प्रणालीको सुधार नगर्दासम्म यस्तो समस्या आइरहने उनी बताउँछन् ।
कुलमान घिसिङ बाहिरीएसँगै कतै लोडसेडिङ फर्कने त होइन भन्ने आम जनगुनासो बढ्दै जान थालेको छ । बिजुली उत्पादन थपिँदै जाँदा त्यसको खपत र आपूर्ति व्यवस्थापनमा अहिलेको प्राधिकरणको नेतृत्वले त्यति ध्यान दिन सकेको छैन् । जसका कारण, रातको समय अहिले पनि बिजुली खेर गइरहेको छ ।
एकातिर भारतबाट बिजुली आयात बढ्नु, अर्कोतिर रातको समयमा बिजुली खेर जानुले विद्युत् वितरणमा माग र आपूर्ति व्यवस्थापनमा प्राधिकरणको कमजोरीलाई स्पष्ट देखाउँछ ।
यता, प्रसारण लाइन समयमै नबन्दा कतिपय जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली खेर गइरहेको अवस्था छ । त्यसतर्फ प्राधिकरणको कुनै चासो देखिँदैन । जीर्ण र कमजोर प्रसारण लाइनकै कारणले आगामी दिनमा सम्पन्न हुने जलविद्युत् आयोजनाको बिजुली खेर जाने सम्भावना कायमै छ ।
गुणस्तरीय बिजुली आपूर्ति गर्ने दायित्व बोकेको प्राधिकरण नेतृत्वले बिजुलीको उत्पादन मात्रै बढाएर हुँदैन । वितरण तथा आपूर्ति व्यवस्थापन पनि सुदृढ र भरपर्दो बनाउन पनि प्राधिकरण नेतृत्वले ध्यान दिनुपर्छ ।
कुलमानले बनाएको चेन अफ कमान्ड भत्किंदो
कुलमान घिसिङ ४ वर्षअघि विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक भएपछि संस्थागत सुशासन कायम राख्ने काम गरेका थिए । त्यसबेला उपकार्यकारी निर्देशक, निर्देशक, प्रवन्धकलगायत सबैलाई चेन अफ कमान्डमा राखेका थिए । त्यसबेला सबै कर्मचारीले त्यसअनुसार नै काम गरेका थिए ।
तर, कुलमान बाहिरिएपछि प्राधिकरणबाट त्यो कमान्ड भत्किन थालेकाे छ । कर्मचारीहरुले पहिलाको जस्तो हाकिमलाई टेर्न छाडेका गुनासा पनि आउन थालेका छन् ।
कुलमानको वर्हिगमनपछि उपकार्यकारी निर्देशक लेखनाथ कोइरालाले कामु कार्यकारी निर्देशकको जिम्मेबारी पाएका थिए । वरिष्ठतम्का आधारमा अहिले हितेन्द्र शाक्यले कामु कार्यकारी निर्देशकको जिम्मेबारी पाएका छन् ।
नयाँ ऊर्जामन्त्री रायमाझीले कार्यभार सम्हाल्नासाथ विद्युत प्राधिकरणमा कर्मचारी सरुवामा रोक लगाएका छन् । यसबाट विद्युत प्राधिकरणमा कार्यकारी निर्देशकको भुमिका कमजोर हुँदै गएकाे देखिन्छ।
कामू भएका कारण पनि कर्मचारीहरुले चेन अफ कमाण्डअनुसार काम गर्न छाडेका छन । कर्मचारीहरुले काम गर्न छाडेपछि पछिल्लो समयमा विद्युत चुहावट बढेको एक अधिकारीले बताए ।
‘बिजुली चुहावट बढ्दै गएको छ । तर कसैले त्यसतर्फ ध्यान दिएको छैन ।’ ती अधिकारीले भने । कुलमानले विद्युत् चुहावटलाई घटाएर १४ प्रतिशतमा झारेका थिए । तर,अहिले भने चुहावट बढ्न थालेकाे छ ।