काठमाडौं । कोरोना भाइरसको प्रभाव बढेसँगै रोकिएको नेपालमै गाडीको एसेम्बलिङ प्लान्ट स्थापना गर्ने प्रक्रिया पुनः सुरु भएको छ । लगानी बोर्डबाट सुरु भएको प्रक्रिया कोरोना संक्रमण बढेसँगै रोकिएको थियो । अहिले पुनः उद्योग विभागले त्यसलाई अघि बढाएको छ ।
गाडीको एसेम्बलिङ गर्नका लागि कोरियाली कम्पनी मोट्रेक्स इच्छुक थियो । उसको प्रस्तावलाई लगानी बोर्डले स्वीकृत गरेको छ । बोर्डले मोट्रेक्सलाई १० अर्ब रुपैयाँ लगानी ल्याउन स्वीकृति पनि दिएको छ ।
तर, सरकारले गरेको लकडाउनका कारण प्रक्रियाका केही अवरोध आएपछि अहिले पुनः सुचारु गरिएको उद्योग विभागका महानिर्देशक जीवलाल भुसालले जानकारी दिए ।
मोट्रेक्सलाई रुपन्देहीको मोतीपुरमा प्लान्ट राख्न सरकार आफै जग्गा दिने सम्झौता गरिसकेको छ । त्यसका अलवा उद्योग दर्तालगायतका काम पनि अघि बढेको भुसालले बताए ।
मोट्रेक्सले १० अर्ब लगानीमा एसेम्बलिङ प्लान्ट राख्ने उल्लेख गरेको छ । त्यसबाहेक सरकारले नेपालमा एसेम्बलिङ प्लान्ट राख्ने उद्योगका लागि अध्ययन गर्न समिति नै बनाइसकेको छ । सो समिति उद्योग विभागका महानिर्देशक भुसालको संयोजकत्वमा छ । समितिले काम पनि सुरु गरिसकेको छ ।
नेपालमा गाडी एसेम्बलिङको सम्भावना रहे पनि केही नीतिगत अप्ठ्यारा रहेकाले त्यसलाई समेत समाधान गर्ने गरी समितिले अध्ययन गर्ने संयोजक भुसालले बताए ।
यसअघि पनि नेपालमा एसेम्बलिङ प्लान्ट लागे पनि सरकारले नीतिगत रुपमा संरक्षण गर्न नसक्दा उनीहरू टिक्न सकेनन् । विगतका घटनालाई समेत केन्द्रमा राखेर समितिले अध्ययन गर्नेछ ।
एसेम्बलिङ प्लान्ट स्थापनाका लागि कोरियाको मोट्रेक्स कम्पनीले निवेदन दिएपछि एसेम्बलिङ उद्योगको चर्चा सुरु भएको थियो । उक्त कम्पनीसँग विभिन्न चरणको वार्ता भई रूपन्देहीको मोतीपुरमा सरकारले प्लान्टका लागि जग्गा दिने सहमति गरे पनि एसेम्बलिङ उद्योग स्थापनाका लागि सम्झौता हुन नसकेको भुसाल बताउँछन् ।
उद्योग विभागका अनुसार यसअघि नै २२ उद्योग एसेम्बलिङका लागि दर्ता भइसकेकोमा राज्यले उचित संरक्षण र प्रवद्र्धन गर्न नसक्दा कतिपय सुरु नै नभई बन्द भएका थिए भने कतिपय पछि बन्द भएका थिए ।
तर, मोट्रेक्सको आगमनसँगै नेपालमै एसेम्बलिङ प्लान्ट स्थापना गर्न स्वदेशी र विदेशी कम्पनीहरूले चासो देखाउन थालेका थिए । स्वदेशी उद्योगको चासो बढ्दै गएपछि मन्त्रालयले यसको सम्भावनाको अध्ययन अघि बढाएको हो ।
समितिले एसेम्बलिङ उद्योगमा चासो देखाएका कम्पनीसँग दुईवटा छलफल गरिसकेको संयोजक भुसालले बताए । ‘सम्बन्धित निकायसँग छलफल गरी प्रारम्भिक मस्यौदाको काम अघि बढाएका छौं,’ उनले भने । उनका अनुसार समितिले गरेको अध्ययनको आधारमा मन्त्रालयले एसेम्बलिङ उद्योगसम्बन्धी नीति बनाउनेछ ।
यसअघि गोल्छा समूहको हुलास मोटर्सले ‘मुस्ताङ’ ब्राण्डमा नेपालमै गाडी एसेम्बलिङ गरेको थियो । तर, सरकारी नीति सहयोगी नभएको बताउँदै हाल सो उद्योग बन्द भइसकेको छ ।
गोल्छा समूहकै हुलास अटो क्राफ्टले भारतको बजाज मोटरसाइकलको एसेम्बलिङ प्लान्ट नवलपरासीको रामग्राममा स्थापना गरिसकेको छ । त्यस्तै बेला मोटर्स र बेनलिन मोटर्स टेक्नोलोजी प्रालिले चिनियाँ स्कुटर एसेम्बलिङ गरिरहेकोमा कोरोना महामारीपछि ती उद्योग बन्द भएका छन् ।