भ्रमण वर्षको प्रवद्र्धनमा कमी होइन, यसको स्वरुपमा केही परिवर्तन भएको हो । प्रवद्र्धन व्यापक भइरहेको छ । भइरहन्छ । प्रवद्र्धनको कमीले भ्रमण वर्षको लक्ष्यमा नपुगिएला भन्ने होइन ।
अहिलेको सबैभन्दा महत्वपूर्ण चुनौती भनेकै पूर्वाधार विकास हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नतिदेखि पोखरा र भैरहवा विमानस्थल पूर्ण रुपमा सञ्चालन नआएसम्म समस्या यस्तै रहन्छ ।
पूर्वाधारमा सुधार नआएसम्म पर्यटन क्षेत्रमा सुधार हुने अवस्था छैन । आगामी डिसेम्बरबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल २४ सै घण्टा सञ्चालनमा आयो भने पर्यटकलाई ठूलो सुविधा पुग्छ । र नयाँनँया एयरलाइन्स नेपालमा आउँछन् ।
जति धेरै एयरलाइन्सहरु नेपालमा आयो, उति नै पर्यटकका लागि फाइदाको कुरा हो । प्रतिस्पर्धात्मक भयो भने हवाई भाडा सस्तो हुन्छ र पर्यटकहरुलाई पनि सहज हुन्छ ।
भैरहवा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल २०२० मा सञ्चालनमा आयो भने पर्यटकको सङ्ख्यामा ४० प्रतिशतले वृद्धि हुन्छ । नभएमा सन् २०१९ मा ३१ प्रतिशत र २०२० मा ३१ प्रतिशत वृद्धि भयो भने २० लाख पुग्छ भन्ने हाम्रो आकलन थियो ।
तर २०१९ मा ३१ प्रतिशत पुग्ने छाँटकाँट देखिँदैन । किनभने ३ महिना १० घण्टा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रुपमा सञ्चालन हुन सकेन र जेट एयरवेजले उडान बन्द गर्यो । जसको प्रभाव पर्यटन क्षेत्रमा नराम्रोसँग पर्यो । जुन हाम्रो २५/३० को वृद्धि भइरहेको त्यो झरेर २ देखि ५ प्रतिशतसम्ममा आएको छ ।
अब बाँकी ४÷५ महिना कसरी अघि बढ्छ भन्ने हाम्रो मुख्य चासो हो । प्रवद्र्धनमा स्थानीय स्तरमा जुन उत्सवमय हुन्छ भन्ने सोच बनाइएको थियो, त्यो नभएकै हो । यसअघिका भ्रमण वर्षका कार्यक्रमहरुमा विभिन्न ठाउँमा झाँकी प्रदर्शन गर्ने, मोटसाइकल ¥यालि निकाल्ने, होर्डिङ बोर्डहरु राख्ने र विभिन्न टिसर्ट लगाएर निकै तामझाम गरिने गरिएको थियो । तर अहिले ती सबै फजुल खर्च हुन् भन्ने लागेर शून्यमा झारिएको छ ।
अहिले हाम्रो फोकस भनेको डिजिटल मार्केटिङमा छ । सम्बन्धित ठाउँमा गएर सेवामुखी तालिम दिँदै आएका छौं । २०७५ सालमा मात्र १० हजारभन्दा बढीलाई तालिम दिएका छौं । ती तालिम भ्रमण वर्षलाई नै लक्षित गरी सञ्चालन गरेका हौं । सेवामुखी व्यवसायलाई अपग्रेड गराउन भन्दै तालिमलाई अझ विस्तार गर्दै लैजाने तयारीमा छौं । २ सयभन्दा बढी विदेशी मिडियाका पत्रकारहरुलाई नेपालको भ्रमण गराएर समाचार प्रकाशन र प्रसारण गरायौं । यी विषय बाहिरबाट देखिँदैनन् । यिनका प्रभाव मात्र देखिन्छन् ।
हामीले पूर्वाधार विकास गर्न सक्यौं भने मात्र हामीले राखेको लक्ष्य पूरा गर्न सक्छौं । र भ्रमण वर्ष सफल भयो भन्न सक्छौं । तर प्रर्वद्धनमा कुनै कमी भने आएको छैन । अहिले विदेशका विभिन्न सहरमा भ्रमण वर्षको प्रचारलाई तीव्र पारिएको छ । बेलायतका विभिन्न सहरका बसमा भ्रमण वर्षको ब्यानर राखेर प्रचार अगाडि बढाइएको छ । चीनमा पनि प्रचार भइरहेको छ । अब हामी छिट्टै मास मिडिया क्याम्पेनमा जाँदै छौं ।
अहिले निजीक्षेत्र, मिडियाहरुले सरकारसँग छिटोभन्दा छिटो पर्यटकीय पूर्वधार निर्माण गरिसक्न लबिइङ गर्न आवश्यक छ । अहिले ठूलाठूला होटल नेपालमा आइरहेका छन् । ती होटलको पूर्वाधार निर्माणमा ढिलाइ भयो भने समस्यामा पर्ने अवस्था देखिन्छ । उनीहरुको लगानी पनि खेर जान सक्छ । अहिले सबैले प्रवद्र्धन भएन भन्दा पूर्वाधार भएन भन्ने आवाजलाई बुलन्द बनाउन आवश्यक छ ।
यस विषयमा हामीले सरकारलाई पनि झकझक्याइरहेका छौं । यो वर्ष धेरै बजेट पूर्वाधारकै लागि भनेर छुट्याएको छ । आउने दसैंतिहारसम्ममा काठमाडौंमा धेरै चिज राम्रो भइसक्ने भन्ने सुनिएको छ । जस्तो निर्माणाधीन सडक पूरा भइसक्ने, धूलो नियन्त्रणमा आइसक्ने आश्वासन पाएका छौं । यस्तै अबको ६ देखि ८ महिनाभित्रमा प्रमुख पर्यटकीय गन्तव्य नगरकोट, पोखरा, चितवन, लुम्बिनी ,दोलखालगायतका क्षेत्रमा जाने सडकको काम सम्पन्न गराइसक्ने प्रतिबद्धता आएको छ ।
अहिले अन्तर मन्त्रालयमा समन्वय तीव्र पारिएको छ । नेपाल आउने पर्यटकहरुलाई भिसामा सहज बनाउन अध्यागमन विभागसँग समन्वय गरिएको छ । केही समयअघि भिसा शुल्क बढाएकोप्रति केही विवाद पनि उत्पन्न भयो । तर यो अन्तर्राष्ट्रिय मापदण्डअनुसार नै बढाइएको पाइएको छ । विदेशीहरुलाई भिसा शुल्क बढेको भन्दा पनि सहज र सरल तरिकाले नेपालमा जाने वातावरण चाहिएको छ । हामी त्यसमा सजग छौं ।
सरकारको लक्ष्य २०३० भित्रमा ३० लाख पर्यटक भित्र्याउने लक्ष्य भएकाले भ्रमण वर्षलाई निरन्तरता दिँदै जाने तयारी भइरहेको छ । त्यसका लागि २०२० लाई आधार वर्षका रुपमा लिएर विभिन्न कार्यक्रम घोषणा हुन सक्छ । तर हामीलाई मूल्याङ्कन गर्ने वर्षका रुपमा २०२० नै हुन्छ ।
जाेशी नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत हुन्