काठमाडौं । सरकारले धानको उत्पादन बढेको तथ्याङ्क प्रस्तुत गरे पनि उत्पादकत्व भने बढ्न सकेको छैन । धान खेतीयोग्य जमिन बढेका कारणले धानको उत्पादन बढेको कृषि विकास मन्त्रालयले सोमबार सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।
एक प्रतिशत धान खेतीयोग्य जमिन बढ्दा धान उत्पादन भने १.२८ प्रतिशतले मात्रै बढेको छ । यसरी हेर्दा, धान उत्पादनको वृद्धि खासै देखिँदैन् ।
धान उत्पादकत्वको अवस्था पनि उस्तै छ । गत वर्ष धान उत्पादकत्व ३.८ रहेकोमा चालू वर्ष भने ३.८२ छ । अर्थात, धान उत्पादकत्व मात्रै ०.२८ प्रतिशतले बढेको छ ।
चालू वर्ष झन्डै ७० हजार ८३१ मेट्रिक टन धान उत्पादन बढेको हो । गत आवमा ५५ लाख ५० मेट्रिक टन धान उत्पादन भएकोमा चालू आवमा कुल ५६ लाख २१ हजार ७१० मेट्रिक टन धान उत्पादन भएको हो ।
सबैभन्दा बढी लुम्बिनी प्रदेशमा उत्पादन
गत वर्षको तुलनामा लुम्बिनी प्रदेशमा धान उत्पादन सबैभन्दा बढी देखिएको छ । गत आर्थिक वर्षमा ११ लाख ८५ हजार ४९५ मेट्रिक टन धान उत्पादन भएकोमा यसवर्ष १२ दाख २४ हजार ४९७ मेट्रिक टन उत्पाद भएको छ । जुन, ३.२९ प्रतिशतले धान उत्पादन वृद्धि भएको हो । प्रदेश नम्बर २ मा १४ लाख ३२ हजार ८१९ मेट्रिक टन धान उत्पादन भएको छ ।
त्यस्तै, प्रदेश नम्बर १ मा १२ लाख ७५ हजार ५५४ मेट्रिक टन, बागमती प्रदेशमा ५ लाख ९ हजार ५९० मेट्रिक टन, गण्डकी प्रदेशमा ३ लाख ९७ हजार ९४ मेट्रिक टन, लुम्बिनी प्रदेशमा १२ लाख २४ हजार ४९७ मेट्रिक टन, कर्णाली प्रदेशमा १ लाख ३७ हजार १६५ मेट्रिक टन र सुदूरपश्चिम प्रदेशमा ६ लाख ४४ हजार ९९१ मेट्रिक टन धान उत्पादन भएको तथ्यांक छ ।
गण्डकी प्रदेशमा घट्यो धानको खेतीयोग्य जमिन
गण्डकी प्रदेशमा धानको खेतीयोग्य जमिन घटेको छ । गत आवमा १ लाख ८ हजार ६९७ हेक्टर जमिनमा धान खेती भएकोमा यस वर्ष भने १ लाख ६ हजार ५४१ हेक्टर जमिनमा मात्रै धान उत्पादन भएको कृषि विकास मन्त्रालयद्वारा सार्वजनिक गरिएको तथ्यांकमा उल्लेख छ ।
खेतीयोग्य जमिन घटेपछि धान उत्पादनमा पनि कमी आएको छ । अघिल्लो आवमा ४ लाख ८ हजार ७३७ मेट्रिक टन धान उत्पादन भएको यसवर्ष ३ लाख ९७ हजार ९४ मेट्रिक टन मात्रै धान उत्पादन भएको हो ।
बागमतीमा खेतीयोग्य जमिन बढ्दा पनि धान उत्पादन बढेन
बागमती प्रदेशमा धान खेतीयोग्य जमिन बढे पनि धान उत्पादन घटेको पाइएको छ । गत आर्थिक वर्षमा १ लाख ३१ हजार ३० हेक्टर जमिनमा धान खेती भएकोमा यस वर्ष उत्पादन क्षेत्रफल बढेर १ लाख ३२ हजार ८१३ हेक्टर जमिनमा धान उत्पादन भएको हो । तुलनात्मक रूपमा १.३६ प्रतिशतले खेतीयोग्य क्षेत्रफल बढे पनि धान उत्पादन घटेको छ ।
गत आवमा ५ लाख १० हजार २०१ मेट्रिक टन धान उत्पादन भएको बागमती प्रदेशमा यस वर्ष ५ लाख ९ हजार ५९० मेट्रिक टन धान उत्पादन भएको हो । जुन, तुलनात्मक रूपमा ०.१२ प्रतिशत धान उत्पादनमा कमी हो ।
धान लगाउने ‘सिजन’ मै देशभर मल हाहाकार हुँदा पनि धान उत्पादन बढी भएको कृषि विकास मन्त्रालयको दाबी छ । तर, केही मात्रामा उत्पादन क्षेत्रफल बढ्दा धान उत्पादन सामान्य वृद्धि भएको हो ।
नेपालमा कुल खेतीयोग्य जमिनमध्ये ५० प्रतिशत क्षेत्रफलमा धान खेती हुन्छ । धान उत्पादनले नेपालको अर्थतन्त्रमा ठूलो भूमिका खेल्दै आएको छ । विगत ७ वर्षयता सबभन्दा बढी २०७५÷०७६ मा ५६ लाख मेट्रिक टन धान उत्पादन भएको थियो ।