काठमाडौं । धान खेती लगाउने सिजनमै रासायनिक मल अभाव हुँदा पनि धान उत्पादनमा वृद्धि भएको छ । अनुकूल मौसमका कारण गत वर्षको तुलनामा चालू वर्षमा ७१ हजार टन धान उत्पादन भएको कृषि विकास मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।
मन्त्रालयका अनुसार गत वर्ष ५५ लाख ५० हजार टन धान उत्पादन भएको थियो । चालू आवमा ५६ लाख २१ टन धान उत्पादन भएको तथ्यांक सार्वजनिक भएको छ । यो भनेको गत वर्षको तुलनामा १.२६ प्रतिशतले वृद्धि हो ।
देशको अर्थतन्त्रमै धान उत्पादनले प्रभाव पार्छ । कृषि मन्त्रालयका अनुसार यस वर्ष धान उत्पादनको क्षेत्रफल पनि विस्तार भएकाले उत्पादन बढेको हो । मल अभाव हुँदाहुँदै पनि समयमै पानी पर्नु ,सतप्रतिशत रोपाइँ हुनु र रोपाइँ हुने क्षेत्रफल बढ्दा धान उत्पादनमा वृद्धि भएको हो ।
चालू आर्थिक वर्षमा चैते धान र वर्षे धान गरी कुल धान उत्पादन ७० हजार ८३१ मेट्रिक टनले वद्धि भइ ५६ लाख २१ हजार ७१० मेट्रिक टन धान उत्पादन भएको कृषि विकास मन्त्रालयले जनाएको छ । १४ हजार ५ सय ५९ हेक्टर क्षेत्रफल वृद्धि भइ कुल १४ लाख ७३ हजार ४ सय ७४ हेक्टर क्षेत्रफलमा धान उत्पादन भएको हो ।
धान उत्पादकत्व ३.८२ प्रतिशत पुगेको छ । जुन हालसम्मकै उच्च रहेको मन्त्रालयले जनाएको छ । गत वर्ष उत्पादकत्व ३.८० प्रतिशत थियो । जुन गत वर्षभन्दा ०.२८ प्रतिशतले बढी हो ।
कुन प्रदेशमा कति धान उत्पादन ?
सातवटै प्रदेशमध्ये प्रदेश नम्बर २ मा सवैभन्दा बढी धान उत्पादन भएको छ । प्रदेश नम्बर २ मा १४ लाख ३२ हजार ८१९ मेट्रिक टन धान उत्पादन भएको छ । त्यस्तै, प्रदेश नम्बर १ मा १२ लाख ७५ हजार ५५४ मेट्रिक टन, बागमती प्रदेशमा ५ लाख ९ हजार ५९० मेट्रिक टन, गण्डकी प्रदेशमा ३ लाख ९७ हजार ९४ मेट्रिक टन, लुम्बिनी प्रदेशमा १२ लाख २४ हजार ४९७ मेट्रिक टन, कर्णाली प्रदेशमा १ लाख ३७ हजार १६५ मेट्रिक टन र सुदूरपश्चिम प्रदेशमा ६ लाख ४४ हजार ९९१ मेट्रिक टन धान उत्पादन भएको तथ्यांक छ ।
नेपालमा कुल खेतीयोग्य जमिनमध्ये ५० प्रतिशत क्षेत्रफलमा धान खेती हुन्छ । धान उत्पादनले नेपालको अर्थतन्त्रमा ठूलो भूमिका खेल्दै आएको छ । विगत सात वर्षयता सबभन्दा बढी २०७५/०७६ मा ५६ लाख मेट्रिक टन धान उत्पादन भएको थियो। तर, जति धान उत्पादन भए पनि भारतलगायत अन्य मुलुकबाट वर्षेनी अर्बौं रुपैयाँको चामल आयात गर्नुपर्छ। नेपालमा मनाङ र मुस्ताङबाहेक सबै जिल्लामा धान खेती गरिन्छ।
मल अभावका बाबजुद पनि उत्पादन क्षेत्रफल बढ्नु र मौसमले साथ दिएकाले धान उत्पादन बढेको कृषि मन्त्रालयका सचिव डा. योगेन्द्रकुमार कार्कीले बताए । उनका अनुसार, नेपाललाई चाहिँने चामल स्वदेशमै उत्पादन गर्न सक्ने सम्भावना छ ।
हाल नेपालमा माग अनुसार ५ लाख मेट्रिक टन धान अझै अपुग छ । मसिनो तथा बासमति चामल खाने प्रवृत्ति बढ्दा चामल आयात अस्वभाविक बढ्न पुगेको कार्की बताउँछन् । धान उत्पादनमा आत्मनिर्भर बन्ने कार्यक्रमहरु मन्त्रालयले कार्यान्वयन गरिरहेको उनको भनाई छ ।