काठमाडौं । डिजिटल प्रविधिको प्रयोगले विश्वबजार खुम्चिएको छ । अहिले नगद कि कार्डमा, कि मोबाइल वालेटमा लोड हुने गरेको छ । नेपालले डिजिटल प्रविधिलाई विस्तारै पछ्याउँदै गएको देखिन्छ । अन्य मुलुकको तुलनामा प्रविधिको प्रयोगमा धेरै पछि भए पनि डिजिटल पेमेन्टमा पछिल्लो पटक प्रयोगकर्ताहरूको चासो तीव्र रूपमा बढेको पाइन्छ ।
कार्ड र डिजिटल पेमेन्टको प्लेटफर्म बढ्दै गएपछि नेपालमा सेवा प्रदायकहरूले पनि विभिन्न माध्यमबाट सेवा पुर्याइरहेका छन् । केही सेवा प्रदायक पछिल्लो पटक आक्रामक रूपमा आए पनि केही कम्पनीले दुई दशकअघि नै नेपाली बजारमा सेवा दिन थालिसकेका थिए ।
विद्युतीय भुक्तानीका लागि अग्रणी भूमिका निर्वाह गर्दै आएको स्मार्ट च्वाइस टेक्नोलोजी लिमिटेड (एससिटी) सन् २००१ मा नै स्थापना भएर सन् २००३ बाट सुरु भएको थियो । नेपाली कार्ड कम्पनी एससिटी कार्ड सन् २०११ सम्म आइपुग्दा लोकप्रिय बनिसकेको थियो ।
यही बीचमा मास्टर कार्ड, भिसा कार्डलगायत विदेशी कार्डको दबदबा नेपाली बजारमा परेपछि लगानी र प्रविधिमा अलि पछि हटेको एसटिसी कार्ड अहिले मुलुकका स्थापित व्यावसायिक ग्रुप र बैंकको लगानी साथै नयाँ प्रविधि र जनशक्ति बजारमा उत्रेको छ ।
नेपालले दुई ठूला छिमेकी देशहरूभन्दा पहिले आफ्नै नेटवर्कको कार्ड प्रयोग गरेको हो । चाइनाले डोमेस्टिक ब्राण्डको कार्ड सन् २००४ बाट प्रयोगमा ल्याएको हो भने भारतले सन् २०१२ बाट सुरु गरेको हो ।
दुईवटा ठूला र शक्तिशाली मुलुकको बीचमा रहेको नेपालले २००३ बाटै आफ्नै ब्रान्डको कार्ड सुरु गरेको भए पनि आफ्नो बजार दायरालाई बढाउन सकेन् । यसमा सेवा लिने बैंक, उपभोक्ता र नियमन निकायले पनि चाँडै आत्मसाथ गरेको देखिएन ।
धिमा गतिमा रहेको एससिटी कार्डले अब फेरि आक्रामक बजार हिस्सा लिने सोचका साथ नयाँ प्रडक्ट र प्लेटफर्महरू लिएर आउन लागेको एससिटी कार्डका कामू प्रमुख कार्यकारी अधिकृत दिपेश मास्केले बताए ।
एससिटीको स्थापना सन् २००१ बाट भए पनि पूर्णरूपमा सञ्चालन भने २००३ बाट मात्र भएको थियो । त्यो बेलादेखि अहिलेसम्म कार्ड बिजनेसको काम गरे पनि तीव्र गतिमा भने फैलिएन ।
सुरुमा एससिटी कार्ड निष्कासन मात्र गर्ने गरिए पनि २०१६/०१७ देखि चिपकार्डमा जानुपर्ने भएकाले विश्वबजारसँग आबद्ध हुनका लागि चीनको युनियन पेमा आबद्ध भयो । नेपालमा एससिटी नेटवर्कबाटै युनियन पे कार्ड सञ्चालनमा आउँछ भने अन्य देशमा युनियन पे नेटवर्कमार्फत सञ्चालन हुन्छ ।
एससिटी २०१८ बाट पब्लिक कम्पनीमा समेत गएको छ । पब्लिक कम्पनी भएपछि विभिन्न बैंक र कर्पाेरेट हाउसहरूको यसमा लगानी थपिएको छ । एससिटीमा प्रभु बैंक, ग्लोबल आईएमई बैंक, हिमालयन बैंक, सांग्रिला डेभलपमेन्ट बैंक, कामना सेवा विकास बैंक र एक्सेल डेभलपमेन्ट बैंकको साझेदारी छ । प्रभु ग्रुप र आईएमई ग्रुपको पनि व्यावसायिक समूहबाट लगानी रहेको छ ।
‘हामी पहिलेभन्दा अझ बढी बलियो भएका छौं, साझेदार बैंक र कर्पाेरेट हाउसको साझेदारीले लगानी मात्र बढेको छैन, नयाँ रणनीति बनाउन पनि सजिलो भएको छ,’ मास्केले भने ।
अहिले कार्ड बिजनेस मात्र नभएर सबै डिजिटल पेमेन्टको इकोसिस्टम नै कभर गर्ने गरी योजना बनाइरहेको उनी बताउँछन् । ‘अहिले एससिटीले युनियन पेको काम गरिरहेको छौं, भने अब भिसा कार्ड, मास्टर कार्ड र अरू विदेशी कार्डहरूलाई पनि हामीले बैंकहरूको मागअनुसार बनाएर दिने छौं,’ उनले भने ।
यसैगरी मोबाइल बैंकिङको पेमेन्ट सिस्टमहरू, क्युआर कोडको पेमेन्ट सिस्टमहरू बनाउन लागेको उनले बताए । ‘बैंकिङ क्षेत्रलाई आवश्यक पर्ने सम्पूर्ण डिजिटल पेमेन्टको प्लेटफर्महरू हुन्छ, त्यसलाई हामीले नै उपलब्ध गराउने गरी नयाँ योजना बनाइरहेको छौं,’ उनले भने ।
२००३ मा कार्ड प्रयोगकर्ताहरू र अहिलेको प्रयोगकर्ताहरूमा धेरै फरक र स्मार्ट बनिसकेका छन् । डिजिटल पेमेन्टमा अहिलेका पुस्ताहरू धेरै अगाडि पुगिसकेका छन् । विशेष गरी काठमाडौं भित्रका अधिकांश व्यक्तिहरूले अहिले डिजिटलमार्फत नै पेमेन्ट गर्न थालिसकेका छन् । त्यसैले एससिटी पनि पूरा अपडेटसहित आएको उनले बताए ।
कार्ड, क्युआर कोड, मोबाइल बैैंकिङमार्फत पहिलेभन्दा अहिले धेरैनै कारोबारहरू गर्न थालिसकेका छन् । तर, हामी जस्ता नेपाली कम्पनीलाई धेरै प्रतिस्पर्धा छ । नेपाली ब्राण्ड बोकेको एससिटी कम्पनीलाई विदेशी कम्पनीसँग प्रतिस्पर्धा गर्न गाह्रो हुन्छ ।
आवश्यक लगानी र प्रविधिको कारण भिसाकार्ड र मास्टर कार्डहरूमा विभिन्न फिर्चसहरू आइसकेको छ । तर, नेपाली कम्पनीलाई लगानीकै पनि समस्या छ । अहिले हामीलाई स्थानीय बजारमा भन्दा अन्तर्राष्ट्रिय कार्डको बिजनेसहरूसँग प्रतिस्पर्धा बढ्दै गएकाले हामी त्यता पनि ध्यान दिइरहेका छौं, उनले भने ।
२००३ बाट सुरु भएको एससिटी कार्डको बिजनेस २०१० देखि १२ सम्म धेरै राम्रो थियो । विस्तारै बजार हिस्सा कम हुँदै गयो । त्यसको मुख्य कारण भनेको लगानी, नयाँ प्रविधि र विश्वबजारसँग प्रतिस्पर्धा गर्न नसक्नु नै हो । तर, पछिल्लो पटक ठूला व्यावसायिक ग्रुप र अन्य बैंकको लगानी साझेदार पाएको एससिटीले आफ्नै पुरानै लय समात्ने योजना बुनेको छ ।
अबको योजना
हामी ब्राण्ड–ब्राण्डबीच प्रतिस्पर्धा गर्दैनौं अब उनीहरूसँगै मिलेर जान्छौं । हिजोसम्म एससिटीले कार्ड मात्र दिन्छ भन्ने थियो । तर अब हामी बैंकको मागअनुसार भिसा कार्डसँग आबद्ध भएर भिसा कार्ड, मास्टर कार्ड, युनियन पे कार्ड, प्रिपेड कार्ड र क्रेडिट कार्डहरू पनि दिन्छौं ।
प्रिपेड कार्ड मात्र होइन बैंकलाई आवश्यक हुने सबै कार्डहरू हामी उपलब्ध गराउन सक्छौं । स्किम्सहरू सबैभन्दा उत्कृष्ट खालका प्रयोग गर्छौं र उत्पादन पनि डेबिट कार्ड, क्रेडिट कार्ड मात्र नभई आवश्यक सबै डिजिटल कार्डहरू ल्याउने गरी बजारमा आउँदै छौं ।
स्किम्सहरू भनेको ब्राण्डहरू भिसा, मास्टर कार्ड, युनियन पे भए भने उत्पादन (प्रडक्ट) भनेको प्रिपेडकार्ड, डेबिड कार्ड, रिचार्च कार्डहरू हो । यसलाई एक्सिस गर्ने माध्यममा एटीएम, भिओएस, पोस मेसिन, ई–कमर्सहरू हुन् ।
मास्के भन्छन्, ‘हामी पहिले निश्चित डिजिटल पेमेन्टमा थियौं भने अब मल्टिपल प्लटेफर्म प्रयोग गर्छौं । अब हामी स्किम, उत्पादन र च्यानल सबै प्रयोग गर्छौं । अर्थात डिजिटल पेमेन्टको होल इकोसिस्टममा हामी जान्छौं ।’
कार्डको होल इकोसिस्टमलाई फुलफेजमा विकास गर्न लागेका छौं । अबको ६ महिना भित्रमा होल इकोसिस्टमलाई बजारमा ल्याउने छौं । योसँगै मोबाइल पेमेन्ट सिस्टम ल्याउँदैछौं । क्युआर पेमेन्ट सिस्टम हामीले गत साता सार्वजनिक गरिसक्यौं ।
अहिले नेपालमा विभिन्न संस्थाहरूको आ–आफ्नै क्युआरहरू हुन्छन् । हामीले ल्याउन लागेको युनिफाइड क्युआर कोडमा प्रभु पे, आईएमई पे, क्यू पे र चीनको युनियन पे आबद्ध भइसकेका छन् ।
हाम्रो स्मार्ट क्युआर कोर्ड लगेर राखेपछि सबैको एकै ठाउँबाट प्रयोग गर्न सकिन्छ । अहिले हामीले पाइलट प्रोजेक्टको रूपमा युनियन पे, प्रभु पे, आईएमई पे, खल्ती र क्यूपेसँग मिलेर काम गरिरहेका छौं ।
प्रयोगकर्ताको उतार चढाव
२००३/०४ मा एससिटी सुरु गर्दा सबैभन्दा पहिलो प्रयोगकर्ता बैंक भनेको हिमालयन बैंक हो । त्यसपछि धेरै बैंकहरूले यो सुविधा प्रयोगमा ल्याए । सुरुमा यसका लागि पनि बुझाउन सजिलो थिएन ।
किन कि यो प्लेटफर्म नयाँ थियो । पहिले–पहिले बैंकहरूले कार्ड प्रयोग अत्यन्त न्यून रूपमा प्रयोग गर्नेहरू भएकाले हामीलाई समस्या भएको थियो । हिमालयनसँगै यस्तो सुविधा स्टाण्डर्ड चार्टर्ड बैंकले मात्र चलाएको थियो ।
२००७ पछि धेरै बैंकहरूले कार्डको प्रयोगलाई बढाउँदै लगेर २०११ सम्म आइपुग्दा २० लाख हाराहारीमा एससिटी कार्ड प्रयोगकर्ताहरू थिए । २०१२ पछि भने विभिन्न प्रविधिहरूलाई अपडेट गर्न ढिलाइ भयो । डिजिटल पेमेन्टको स्किमहरूलाई ल्याउन नसक्दा हामी पछाडि पर्यौं । अहिले सक्रिय रूपमा एससिटी कार्ड प्रयोगकर्ताहरू रहेको मास्के बताउँछन् ।
नियमन निकायले साथ दिनुपर्छ
नेपाल राष्ट्र बैंकबाट स्वदेशी उत्पादनहरूले बनाएको डिजिटल प्लेटफर्मलाई प्रोत्साहन गर्न आवश्यक छ । नेपाली प्रडक्टहरूलाई सहज हुने खालका नीति नियमहरू ल्याउन सक्यो भने धेरैलाई सहज हुन्छ । किनभने डिजिटल पेमेन्टमा एससिटीको लामो इतिहास बोकेको मास्के बताउँछन् ।
‘यसका लागि चुनौतीहरू धेरै छन् । ती चुनौतीहरूलाई पार गर्न सरकारको पनि सहयोग हुन आवश्यक छ,’ उनले भने । जबसम्म सरकारले अपनत्व गर्दैन तबसम्म निजी क्षेत्रले मात्र केही गर्छु भनेर एक्लैले गर्न सक्दैन । एउटा मात्र गर्व गर्ने विषय भनेको भारत र चीनभन्दा अगाडि डिजिटल कार्ड सुरु गर्यौं भन्ने हो ।
‘बैंक तथा वित्तीय संस्थाहरूले पनि नेपालभित्र मात्र कार्ड चलाउनु छ भने किन स्वदेशी ब्राण्ड प्रयोग नगर्ने ? विदेशी कार्ड किन प्रयोग गर्नुपर्छ र ?’ मास्के प्रश्न गर्छन्, हामीले स्वदेशी ब्रान्डलाई आत्मसाथ गर्नुपर्छ ।
‘स्वदेशी प्रयोग गर्दा लागत, कर सस्तो पर्ने, पैसा बाहिर पनि नजाने भएकाले विदेशी कार्ड किन प्रयोग गर्ने भन्ने हाम्रो प्रश्न हो । यस विषयमा हामीले पहिलादेखिनै भन्दै आएका हौं । बैंकहरूले राम्रोसँग बुझ्नु भएको जस्तो लाग्छ,’ मास्केले भने ।