काठमाडौं । म्याग्दीमा झन्डै १८८ मेगावाटका पाँचवटा जलविद्युत् आयोजना निर्माण हुने भएका छन् । म्याग्दीको धौलागिरि गाउँपालिकास्थित म्याग्दीखोलाबाट पाँचवटा जलविद्युत् आयोजना निर्माण हुने भएका हुन् ।
धौलागिरि हिमालको फेदी भएर बग्ने म्याग्दी नदीबाट विद्युत् उत्पादनका लागि विद्युत् विकास विभागबाट पाँचवटा आयोजनाले निर्माणको अनुमति पाएका हुन् ।
खासगरी, ५३.५ मेगावाट क्षमताको अपर म्याग्दी पहिलो, १४.७० मेगावाट क्षमताको मुदीखोला र ५७.३० मेगावाट क्षमताको म्याग्दीखोला जलविद्युत् आयोजना निर्माणको अनुमति लिएका छन् ।
धौलागिरि कालिका हाइड्रो लिमिटेडले मालिका गाउँपालिकामा २५ मेगावाट क्षमताको दरवाङ म्याग्दीखोला जलविद्युत् आयोजनाले दुई वर्षअघि नै निर्माणको अनुमति पाएको थियो । तर, दुई वर्षअघि शिलान्यास गरे पनि आयोजनाको कामले त्यति गति लिन सकेको छैन ।
त्यस्तै, विस्तृत अध्ययन सकेर निर्माण ३७ मेगावाटको अपर म्याग्दी जलविद्युत् आयोजनाले पनि निर्माण थालेको छ । म्याग्दीको धौलागिरि गाउँपालिका–४ नाउरामा आयोजना बन्दैछ । हाइड्रो इम्पायर प्रालि काठमाडांैले आयोजना निर्माण गर्न लागेको हाइड्रो इम्पायरका अध्यक्ष जितबहादुर घर्तीले बताए ।
यता, धौलागिरि गाउँपालिकास्थित म्याग्दीखोलाबाट नै २३.७० मेगावाट क्षमताको म्याग्दीखोला ‘ए’, १५ मेगावाट क्षमताको धौलाखोला, ४.६ मेगावाट क्षमताको तिरिजाखोला, १२.७३ मेगावाट क्षमताको अपरमुदी, ३.४५ मेगावाट क्षमताको सिम्कोश र ६.५ मेगावाट क्षमताको दरखोला जलविद्युत् आयोजना सर्वेक्षणको क्रममा छन् ।