काठमाडौं । म्याग्दीको धाैलागिरि गाउँपालिका–४ नाउरामा ३७ मेगावाट क्षमताको अपर म्याग्दी जलविद्युत् आयोजना निर्माणको तयारी भएको छ । हाइड्रो इम्पायर प्रालि निर्माण गर्नले लागेको आयोजनाले विस्तृत अध्ययन सकेर पहुँचमार्ग निर्माण सुरु गरेको छ ।
हाइड्रो इम्पायरका अध्यक्ष जितबहादुर घर्तीले यसअघि २० मेगावाटको अनुमति पाएकोमा आयोजनाको क्षमता बढाएर ३७ मेगावाट बनाउन परिमार्जित वातावरणीय परीक्षण (इआइए) प्रतिवेदन तयार पार्ने काम अन्तिम चरणमा पुगेको जानकारी दिए ।
प्रतिवेदनमा प्रभावित क्षेत्रका बासिन्दा तथा सरोकारवालाको सुझाव सङ्कलन गर्न शनिबार नाउरामा आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रममा अध्यक्ष घर्तीले लगानीकर्ता खोज्ने काम पनि भइरहेको जानकारी दिए ।
“बिमको शिवरात्रिखोलाबाट भारबाङ, कल्लेनी, छहरी हुँदै बाँसबोटसम्म करिब पाँच किलोमिटर पहुँचमार्गको ट्र्याक खोलिसकेका छौँ”, उनले भने, “मनसुन अघिसम्म विद्युत्गृह र आगामी मङ्सिरसम्म बाँधलाई पहुँचमार्गले जोड्छौँ । थपिएको क्षमताको इआइए पारित भएपछि पिपिए र लगानीको सम्झौता हुन्छ ।”
आयोजनाले करिब १४ किलोमिटर दूरीको पहुँचमार्ग निर्माण गरिरहेको छ । सिन्कोस र म्याग्दी खोलाको दोभानभन्दा १३० मिटर तल म्याग्दी खोलाको दायाँ किनारमा आयोजनाको बाँध प्रस्ताव गरिएको छ । म्याग्दी खोलाको बायाँ किनारमा भूमिगत बालुवा थिग्राउने पोखरी, हेडरेस सुरुङ बन्ने आयोजनाको विद्युत्गृह म्याग्दीखोला र मुदीखोलाभन्दा एक किलोमिटरमाथि प्रस्ताव गरिएको छ ।
तीन किलोमिटर ५५३.३३ मिटर लामो सुरुङबाट ल्याइने पानी ३००.८८ मिटर अग्लो हेडबाट विद्युत्गृहमा खसालेर विद्युत् उत्पादन गरिने भएको छ । आउटलेटबाट विद्युत्गृहसम्म ७९७.९६ मिटर लामो पेनस्टक पाइप जडान गरिनेछ । उत्पादित विद्युत् १० किलोमिटर लामो प्रसारण लाइनबाट डाँडाखेत सबस्टेशनबाट केन्द्रीय ग्रिडमा जोडिनेछ ।
धाैलागिरि गाउँपालिका–४ का वडा सदस्य केशरमान पुनले मालिका गाउँपालिका–७ बिममा १३२ केभी क्षमताको डाँडाखेत सबस्टेशन निर्माणको तयारी भएसँगै अपर म्याग्दीलगायत जलविद्युत् आयोजनाले निर्माणको तयारी थालेको बताए ।
“वर्षौँअघि विद्युत् खरिदबिक्री सम्झौता पीपीए गरेर विद्युत उत्पादन अनुमतिपत्र (लाइसेन्स) लिएर बसेका आयोजना सबस्टेशन र प्रसारण लाइन निर्माण सुरु हुन थालेपछि सक्रिय भएका छन्”, उनले भन्, “जलविद्युत् आयोजना भित्रिएसँगै दुर्गम क्षेत्रका बस्तीमा सडक यातायातको पहुँच बढ्ने, रोजगारी र आयआर्जनको अवसर सिर्जना हुने अपेक्षा छ ।” गाउँपालिकाले यस वर्ष पहुँचमार्गमा पर्ने खाराबाट खाम्ला जोड्ने सडक निर्माण गर्न ठेक्का लगाइसकेको छ ।
सार्वजनिक सुनुवाइमा आयोजना प्रभावित खाम्लाका रेशमबहादुर पुन, चेचुङका चक्रबहादुर घर्ती, कुलबहादुर घर्तीलगायतले वातावारणीय असर न्यूनीकरणमा ध्यान दिन, छिटो आयोजना निर्माण सुरु गर्न र स्थानीयवासीलाई रोजगारीको अवसर दिन सुझाव दिएका थिए ।
परामर्शदाता इनर्जी रिसोर्स एण्ड सोलुसुनका शङ्कर बस्यालले ७ अर्ब १० करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजनाको २०७८ पुसमा सुरुङ निर्माण शुरु गरी ३ वर्षमा सक्ने लक्ष्य राखिएको जानकारी दिए । प्रभावित क्षेत्रमा वातावरणीय प्रभाव न्यूनीकरणका लागि आयोजनाको सामाजिक उत्तरदायित्वअन्तर्गत ६ करोड रुपैयाँ बढी लगानी हुने बस्यालले बताए ।
धाैलागिरि हिमालको फेदी भएर बग्ने म्याग्दी नदीबाट विद्युत् उत्पादनका लागि विद्युत् विकास विभागबाट थप चार आयोजनाले निर्माणको अनुमति पाएका छन् । ५३.५मेगावाट क्षमताको अपर म्याग्दी पहिलो, १४.७० मेगावाट क्षमताको मुदीखोला र ५७.३० मेगावाट क्षमताको म्याग्दीखोला जलविद्युत् आयोजना निर्माणको अनुमति लिएका छन् ।
धाैलागिरि कालिका हाइड्रो लिमिटेडले मालिका गाउँपालिकामा २५ मेगावाट क्षमताको दरवाङ म्याग्दीखोला जलविद्युत् आयोजनाको दुई वर्षअघि शिलान्यास गरे पनि गति लिनसकेको छैन । धाैलागिरि गाउँपालिकामा २३.७० मेगावाट क्षमताको म्याग्दीखोला ‘ए’, १५ मेगावाट क्षमताको धौलाखोला, ४.६ मेगावाट क्षमताको तिरिजाखोला, १२.७३ मेगावाट क्षमताको अपरमुदी, ३.४५ मेगावाट क्षमताको सिम्कोश र ६.५ मेगावाट क्षमताको दरखोला जलविद्युत् आयोजना सर्वेक्षणको क्रममा छन् ।
नेपाल विद्युत् प्राधिकरणले डाँडाखेत र राहुघाटमा सबस्टेशन तथा प्रसारण लाइन निर्माणका लागि ठेक्का प्रक्रिया अघि बढेपछि अनुमति लिएर बसेका आयोजनाले निर्माणको तयारी थालेको जनाएका छन्