एजेन्सी । राजनीतिक र आर्थिक नीति स्थिरता भएको उदयमान छिमेकी मुलुक भारत आगामी ५ वर्षमा विश्वको पाँचौ ठूलो अर्थतन्त्र बन्ने भएको छ ।
त्यहाँको द सेन्टर फर इकोनोमिक्स एन्ड विजनेस रिसर्च (सीईबीआर) ले शनिबार वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै आगामी सन् २०२५ मा भारत विश्वको पाँचौ ठूलो अर्थतन्त्र बन्ने नयाँ प्रक्षेपण सार्वजनिक गरेको हो । यस्तै सन् २०३० अर्थात १० वर्षमा भारत विश्वको तेस्रो ठूलो अर्थतन्त्र भएको मुलुक बन्ने छ ।
‘यो वर्ष नै भारत विश्वको पाँचौ ठूलो मुलुक बन्ने निश्चित थियो । तर विश्वव्याधी कोभिडले गर्दा पछि धकेलेको छ’ प्रतिवेदनमा भनिएको छ । सार्वजनिक गरिएको प्रतिवेदनका अनुसार भारतले यो वर्ष नै वेलायतलाई पछि पार्ने थियो ।
५ वर्षमा भारतले वेलायतलाई पछि पार्दै विश्वको पाँचौ मुलुक बन्ने प्रतिवेदनमा उल्लेख छ । त्यसबेला वेलायत विश्वको छैठौं ठूलो अर्थतन्त्रमा झर्नेछ । भारत सन् २०२४ सम्म यहि अवस्थामा रहने र २०२५ पछि वेलायतलाई पछि पार्ने प्रक्षेपण सीईबीआरले गरेको छ ।
अन्तर्राष्ट्रिय बजारमा भारु कमजोर भएका कारण यसको असर परेको बताइएको छ । अहिले १ डलर बराबर ७३ देखि ७४ भारु रहेको छ । सीईबीआरले सन् २०२१ मा भारतको अर्थतन्त्र विस्तार (आर्थिक वृद्धि) ९ र सन् २०२२ मा ७ प्रतिशत हुने प्रक्षेपण समेत गरेको छ ।
लक्ष्यअनुसार आर्थिक विस्तार हुँदै गएमा सन् २०२५ मा वेलायत, २०२७ मा जर्मनी र २०३० मा जापानलाई पछि पारी विश्वको तेस्रो ठूलो अर्थतन्त्र बन्ने अनुमान गरिएको छ । त्यसबेला अमेरिका र चीन क्रमशः पहिलो र दोस्रो ठूलो अर्थतन्त्र बन्ने छन् । अहिले पहिलो अमेरिका, दोस्रो चीन, तेस्रो जापान, चौथो जर्मनी र पाँचौ वेलायत ठूलो अर्थतन्त्र भएका मुलुकहरु हुन् ।
कोरोना व्याधीले सुस्ताएको अर्थतन्त्र सन् २०२१ देखि गति लिने अपेक्षा गरिएको छ । आगामी सन् २०२१ अर्थतन्त्र नविनतम्, पुनरुत्थान र नविकरणको वर्ष हुने प्रतिवेदनले जनाएको छ । विश्व बैंकका अनुसार भारतको कुल ग्राहस्र्थ उत्पादन (जीडीपी) को आकार २७ खर्ब १९ अर्ब डलर रहेको छ ।
वेलायतमा रहेको थिंकट्याँक समूहले आगामी सन् २०२८ मा चीनले अमेरिकालाई पछि पारेर विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र बन्ने अनुमान गरेको छ । यद्यपी, डलरका आधारमा जापान सन् २०३० सम्म विश्वको तेस्रो धनी हुने देखिएको छ । त्यसबेला भारतल जर्मनीलाई ४ बाट पाँचौ स्थानमा धकेल्ने अनुमान गरिएको छ ।