काठमाडौं । संसद विघटनपछि प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार मन्त्रिमण्डल हेरफेर र विस्तार गरेका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त आठ मन्त्रीलाई आज राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा पद तथा गोपनीयताको शपथ गराएकी छिन् । संसद भंग गरेपछि असन्तुष्ठि जनाउँदै सात जना मन्त्रीले सामूहिक राजीनामा दिएका थिए।
सो अवसरमा प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सनालगायतको उपस्थिति थियो ।
थप भएका नयाँ मन्त्रीहरु सिँचाइ, ऊर्जा तथा जलस्रोत टोपबहादुर रायमाझी, शहरी विकास प्रभु साह, खानेपानी मणि थापा, वन तथा वातावरण प्रेम आले, सामान्य प्रशासन तथा सङ्घीय मामिला गणेशसिंह ठगुन्ना, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक जुलीकुमारी महतो, श्रम, रोजगार तथा सामाजिक सुरक्षा गौरीशङ्कर चौधरी र युवा तथा खेलकूद दाबा लामाले शपथ लिएका हुन् ।
यसैबीच नवनियुक्त उद्योग राज्यमन्त्री विमला विश्वकर्मालाई प्रधानमन्त्री ओलीले शपथ गराएका छन् । प्रधानमन्त्रीले आज मौजुदा मन्त्रिपरिषद्मा नयाँ नौ सदस्य थप गर्नाका साथै केही मन्त्रीको जिम्मेवारी हेरफेर गरेका छन् ।
प्रतिनिधिसभा विघटन गरेपछि सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल र माधवकुमार नेपाल पक्षका मन्त्रीहरुले राजीनामा गरेका थिए। युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्मा र उद्योग राज्यमन्त्री मोती दुगडलाई हटाइएको छ ।
थपिएका र हेरफेर भएका मन्त्रीहरू
टोपबहादुर रायमाझी-उर्जा
मणि थापा-खानेपानी
प्रभु साह-शहरी विकास
प्रेम आले-वन
गणेश ठगुन्ना-सामान्य प्रशासन
गौरी शंकर चौधरी-श्रम
दावा लामा-युवा तथा खेलकुद
जुली कुमारी महतो-महिला बालबालिका
विमला विश्वकर्मा-उद्योग राज्यमन्त्री
भानुभक्त ढकाल-स्वास्थ्यबाट पर्यटनमा
हृदयेश त्रिपाठी-सामान्य प्रशासनबाट स्वास्थ्यमा
लीलानाथ श्रेष्ठ-कानून
शिवमाया तुम्बाहाङ्फे-भूमिसुधार
पद्मा अर्याल-कृषि
कृष्ण गोपाल श्रेष्ठ -शिक्षा
कोही नयाँ कोही पुराना
प्रधानमन्त्री ओलीले आज विस्तार गरेको मन्त्रिपरिषद्मा अधिकांश नयाँ अनुहार समेटिएका छन् । केही मन्त्री भने यसअघि पनि राज्यको महत्वपूर्ण जिम्मेवारी सम्हालिसकेका छन् ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी पाएका टोपबहादुर रायमाझीले यसअघि पनि उपप्रधानमन्त्रीसहित सोही मन्त्रालय सम्हालेका थिए । संविधान निर्माण लगत्तै विसं २०७२ मा वर्तमान प्रधानमन्त्री ओलीको पहिलो कार्यकालमा रायमाझीले सो मन्त्रालय सम्हाल्दा ऊर्जा, सङ्कटकालीन कार्ययोजना ल्याएर नेपालको ऊर्जा तथा जलस्रोतको क्षेत्रमा नयाँ आयामको शुरुआत गरेका थिए । कूल ९९ बुँदे सो कार्ययोजनाको आधारमा नै विद्युत्भार कटौतीलगायतका योजना अगाडि बढेका थिए ।
शहरी विकास मन्त्रालयमा प्रभु साहको पनि दोस्रो कार्यकाल हो । तीन पटक सांसद र संसदीय समितिको सभापति रहिसकेका साहले यसअघि नै कानून न्याय तथा संसदीय मामिला, भूमिसुधार र शहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए । खानेपानी मन्त्रीको जिम्मेवारी सम्हाल्न लागेका मणिचन्द्र थापाले पहिलो पटक मन्त्रि भएका हुन् ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशङ्कर चौधरी पनि दोस्रो पटक मन्त्री बनेका हुन् । यसअघि पनि उनले कृषि विकास मन्त्रीको रुपमा जिम्मेवारी सम्हालेका थिए । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री गणेशसिंह ठगुन्ना नेकपाका नेता तथा विघटित प्रतिनिधिसभाको सांसद थिए ।
वन तथा वातावरणमन्त्री प्रेमबहादुर आले पनि नेकपाका नेता तथा विघटित प्रतिनिधिसभाका सांसद हुन । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री जुलीकुमारी महतो र युवा तथा खेलकूद मन्त्री दावा लामा पनि पहिलो पटक मन्त्रिपरिषद्मा समेटिएका हुन् ।