काठमाडौं । गत आर्थिक वर्ष २०७५/०७६ को एक वर्षको अवधिमा मात्रै ७३ ओटा सबस्टेसन तथा प्रसारण लाइनको निर्माण तथा अपग्रेड (मर्मत तथा स्तरोन्नति) गरिएको छ । उक्त अवधिमा २९ ओटा सबस्टेसन अपग्रेड (स्तरोन्नति) गरिएको छ । त्यस्तै, ३० ओटा नयाँ सबस्टेसन निर्माण भई लाइन चार्ज गरिएको छ । १४ ओटा नयाँ प्रसारण लाइन एक वर्षभित्र नै निर्माण भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।
३३, ६६, १३२, २२० र ४०० केभी क्षमताका सबस्टेसन तथा प्रसारण लाइन स्तरोन्नति तथा निर्माण भएका छन् । पछिल्लो समय प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नै प्रसारण लाइन र सबस्टेसन निर्माणस्थल गएर देखिएका समस्या र विवाद हटाउन लागिपरेका थिए । कहिले त्रिशूली ३ ‘बी’को सबस्टेसनमा स्थानीयको अवरोध होस् या थानकोट–चापागाँउ–भक्तपुर प्रसारण लाइनको ढिलाइ, घिसिङले स्थलगत अवलोकन गरी छिटो अघि बढाउन निर्देशन दिएका थिए । घिसिङकै सक्रियतामा यस वर्ष सबैभन्दा बढी प्रसारण लाइन तथा सबस्टेसन निर्माण भएका छन् ।
३३ केभी क्षमताका २१ ओटा नयाँ सबस्टेसन निर्माण, २३ ओटा स्तरोन्नति भएका छन् । त्यसैगरी, ६६ केभीका ३ ओटा सबस्टेसनको स्तरोन्नति र एउटा प्रसारण लाइन बनेका छन् । १३२ केभीका ३ ओटा सबस्टेसनको स्तरोन्नति र ८ ओटा नयाँ सबस्टेसन चार्ज भएका छन् । १३२ केभीका ११ ओटा प्रसारण लाइन निर्माण भएका छन् ।
२२० केभी क्षमतामा ढल्केबर सबस्टेसन यसै अवधिमा निर्माण भई चार्ज भएको छ । ४००/२०० केभी डबल सर्किट २ ओटा प्रसारण लाइन निर्माण भएका छन् ।
स्तरोन्नति हुनेमा ३३ केभी क्षमतामा इलामको फिक्कल, मोरङको रङ्गेली, सुनसरीको खनार, सिराहाको बसन्तपुर, महोत्तरीको औरही, सर्लाहीको हरिपुर, सिन्धुलीको सिन्धुली बजार, रुपन्देहीको भैरहवा र बुटवल, बाँकेको नेपालगन्ज, कैलालीको धनगढी, सुर्खेत, यदुकुवा, खैरमारा, ओखलढुङ्गा, भुइपा, जिरीखिम्ती, जिरी, जरे, मिलनचोक, मिर्चैया, चनौटा सबस्टेसन छन् । ६६ केभी क्षमताका न्यून पाताल, इन्द्रावती र भरतपुर सबस्टेसनको अपग्रेड गरिएको छ । १३२ केभीको गोदक, लेखनाथ र कोहलपुर सबस्टेसनको पनि स्तरोन्नति गरी चार्ज गरिएको छ ।
त्यस्तै, एक वर्षको अवधिमा ३० ओटा नयाँ सबस्टेसन निर्माण भएका छन् । ३३ केभी क्षमताका झापामा घैलाडुब्बा, मोरङमा कटहरी, सप्तरीमा बोधेबसैन्, कैलालीमा हसुलिया, कपिलवस्तुमा महाराजगन्ज, रुपन्देहीमा ढकधाही, डोटीमा बीपी नगर, गोर्खामा पालुङटार, रोल्पामा कोइलाचौर, बर्दियामा राजापुर, खोटाङमा बाधेढुंगा, बसन्तपुर, पर्सामा छापकैया, डडेल्धुरामा स्याउले, दार्चुलामा थलिगाढ, बझाङमा बाघथला र चैनपुर, सिधाबेँसी, खैरेनीताल, गलकोट, म्यादीको दाना सबस्टेसन निर्माण भई चार्ज भएका छन् । १३२ केभीमा फिदिम, भुरीगाउँ, पहलमानपुर, स्याउले, मार्किचोक, घोराही, हापुरे र रुपनी सबस्टेसन बनेका छन् । २२० केभीमा ढल्केबर सबस्टेसन निर्माण भई विद्युत् चार्ज भएको छ ।
त्यस्तै, सो अवधिमा १४ ओटा ट्रान्समिसन लाइन बनेका छन् । १३२ केभी लम्की–महेन्द्रनगर डबल सर्किट, मस्र्याङ्दी–मध्यमस्र्याङ्दी डबल सर्किट, भक्तपुर–चपली–बालाजुर, कुसुम–हापुरे, चमेलिया–स्याउले–अत्तरीया, रक्सौल–परवानीपुर क्रस बोर्डर, कुशाहा–कटैयाँ क्रस बोर्डर, डुम्रे दमौली, लमही घोराही, गोदक–फिदिम, कुश्मा–तल्लो मोदी प्रसारण लाइन निर्माण भएका छन् ।
४००/२०० केभीमा ढल्केबर–मुजफ्फरपुर क्रस बोर्डर डबल सर्किट लाइन र खिम्ती–ढल्केबर लाइन निर्माण गरिएको छ । ६६ केभी क्षमताको न्यु चाबहिल–लैनचौर लाइन अन्डग्राउन्ड गरिएको छ ।
प्राधिकरणले अहिले प्रसारण लाइन र सबस्टेसन निर्माणलाई तीव्ररुपमा जोड दिँदै आएको छ । पछिल्लो समय विद्युत् आयोजना निर्माण भई विद्युत् उत्पादन भए पनि प्रसारण लाइन नबन्दा विद्युत् खेर जाने चिन्ता आयोजना प्रवद्र्धनमा हुन्छ ।
गुणस्तरीय र भरपर्दाेरुपमा विद्युत् आपूर्ति गर्न प्रसारण लाइन र सबस्टेसनको निर्माण तथा स्तरोन्नतिलाई तीव्र पार्र्दै लैजाने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । ‘विद्युत् उत्पादन र माग बढाउनु अहिले आवश्यकता छ,’ घिसिङले भने, ‘त्यसका लागि प्रसारण लाइन र डिस्ट्रीब्युसन लाइनको क्षमता व्यापक रुपमा बढाउनु पर्छ ।’ यस वर्ष करिब ४ हजार मेगावाट विद्युत् चार्ज हुनेगरी प्रसारण लाइन र सबस्टेसन बनाउने लक्ष्य छ ।