काठमाडौं । प्रस्तावित ४२६ मेगावाटको फुकोट कर्णाली अर्धजलाशययुक्त जलविद्युत् आयोजनाको प्रारम्भिक निर्माण सुरु भएको छ । हाल आयोजनाको परीक्षणका लागि सुरुङ खन्न थालिएको छ ।
आयोजनास्थल कालिकोटका रास्कोट नगरपालिका–९ फुकोटको फुगाडखोलामा सुरुङ खन्न थालिएको हो । आयोजना बनाउन १ खर्ब रुपैयाँ लाग्ने संभाव्यता अध्ययनले देखाएको छ ।
निर्माण सुरु भएको छ वर्षभित्र आयोजना सम्पन्न गर्ने लक्ष्य राखिएको छ । आयोजनाको माटोको अवस्था र चट्टानलगायतका भौगर्भिक अध्ययनका लागि ६०० मिटर सुरुङ खन्न थालिएको आयोजनाले जनाएको छ । आयोजना विद्युत उत्पादन कम्पनी लिमिटेडबाट अघि बढाइएको हो ।
भौगर्भिक अध्ययनका लागि सुरुङ खनेर परीक्षण गर्न थालिएको आयोजना प्रमुख हिरामान वाइवाले जानकारी दिए । “माटो र चट्टानलगायतका भौगर्भिक अध्ययनका लागि सुरुङ खन्न थालिएको छ ।” उनले भने, “पहिलो चरणमा अध्ययन सकिएपछि भौगर्भिक अध्ययनका लागि सुरुङ खनिएको हो ।”
आयोजना निर्माणका लागि अहिले परीक्षण सुरुङ खन्ने र आवासका लागि घर निर्माणका काम थालनी भएको उनको भनाइ छ । “चाँडै आवास निर्माणको काम सुरु हुँदैछ”, वाइवाले भने, “यही गतिमा काम अगाडि बढे लक्ष्यमा पूरा हुन्छ ।”
आगामी छ वर्षभित्र सम्पन्न गरिसक्ने लक्ष्य लिइएको आयोजनाले जग्गा अधिग्रहण गर्न सरकारले स्वीकृति प्रदान गरेपछि आयोजना प्रभावित क्षेत्रका स्थानीयवासीको जग्गा अधिग्रहणको प्रक्रिया सकिएको आयोजनाले जनाएको छ ।
जलविद्युत् आयोजनाको बाँध निर्माणबाट डुबानमा पर्ने कालिकोटको सान्नी त्रिवेणी गाउँपालिका, रास्कोट नगरपालिका र पचालझरना गाउँपालिकाको साविक रकु, स्युँना, मेहलमुढी, फुकोट, बदालकोट, नानीकोट र राम्नाकोट गाविसमा रहेका प्रभावितको जग्गा अधिग्रहणको प्रक्रिया सकिएको जिल्ला प्रशासन कार्यालय जनाएको छ ।
आयोजना निर्माणका लागि १ हजार १४९ परिवार प्रभावित भएको र आयोजनास्थलमा पूरै जग्गा परेका जग्गाधनीले ७५ प्रतिशत र आंशिक जग्गा परेकाले ६६ प्रतिशत मुआब्जा पाउने आयोजना प्रमुख वाइवाले बताए ।
आयोजनामा हाइड्रो इलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) ले १ अर्ब २६ करोड रुपैयाँ लगानी गर्ने भएको छ। एचआईडीसीएलले आयोजनाको १० प्रतिशत सेयर मूल्य बराबरको सो रकम लगानी गरेको हो।
आयोजना नेपालको पानी जनताको लगानी अन्र्तगत रहेको छ । आयोजना निर्माण भएमा २५ प्रतिशत कर्णाली प्रदेशलाई र २५ प्रतिशत कालीकोटका जनतालाई रोयल्टी प्राप्त हुने अनुमान गरिएको छ ।