काठमाडौं । यदि तपाईंले घरजग्गा किनबेच गर्दै हुनुहुन्छ भने जग्गा पास गर्दा लाग्ने रजिष्टेसन शुल्क र बेच्दा लाग्ने पुँजीगत लाभकरबारे जानकारी हुनु जरुरी छ ।
त्यतिमात्र होइन, घर तथा जग्गा खरिद गर्दा छुट वा सहुलियत पाउनका लागि भने किन्ने वा बेच्नेले केही संयमित हुनुपर्ने हुन्छ । तपाईंले घर जग्गा खरिद गर्दा सस्तो ब्याजको कर्जा पाउनुहुन्छ भने रजिस्ट्रेसन शुल्कमा पनि छुटको फाइदा उठाउन सक्नुहुनेछ ।
अहिले देशका केही बैंक तथा वित्तीय संस्थाहरूले पुरुष ग्राहकको तुलनामा महिला ग्राहकलाई अझ सस्तो ब्याजमा कर्जा दिइरहेका छन् ।
बजेटमार्फत सरकारले पनि महिलाले घर तथा जग्गा खरिद गरे रजिस्ट्रेसन शुल्कमा छुट दिएको छ । महिलाको नाममा घरजग्गा पास (रजिष्ट्रेसन) गरेमा सरकारले २५ प्रतिशतसम्म छुट दिन्छ । अर्थात, घरजग्गाको रजिस्ट्रेसन पुरुषका नाममा गर्दा १ लाख रुपैयाँ लाग्छ भने महिलाका नाममा पास गर्दा ७५ हजार रुपैयाँमा नै काम हुन्छ ।
तर, काठमाडौं महानगरभित्र जग्गा किन्नेले साढे ५ प्रतिशत रजिष्ट्रेसन दस्तुर तिर्नुपर्छ । त्यस्तै, सरकारले अर्को छुट पनि दिएको छ कि, ३० लाखसम्मको जग्गा र ५० लाख रुपैयाँसम्मको घर किनबेचमा महिलालाई पुँजीगत लाभकर लाग्दैन ।
पुरुषले ४० लाखको जग्गा ५० लाखमा बेच्दा हुने लाभ अर्थात १० लाखको पुँजीगत लाभकर १० प्रतिशत तिर्नुपर्छ । अर्थात १ लाख रुपैयाँ पुँजीगत लाभकर सरकारलाई बुझाउनु पर्ने हुन्छ । तर, यही कारोबार महिलाको नामबाट गरे १ रुपैयाँ पनि पुँजीगत लाभ कर तिर्नु पर्दैन ।
त्यतिमात्र होइन्, यदि तपाईंले घर तथा जग्गा पास गरेको मितिले पाँच वर्षभित्र बेच्नुभयो भने ५ प्रतिशत पुँजीगत लाभकर तिर्नुपर्छ । यदि, तपाईंले पाँच वर्षपछि सो जग्गा बेच्नुभयो भने लाभकरमा छुट दिइएको छ ।
पाँच वर्षपछि सो जग्गा बेच्दा तपाईंले २.५ प्रतिशत मात्रै लाभकर तिरे पुग्छ । यता, कम्पनीका हकमा घर तथा जग्गा किन्दै हुनुहुन्छ भने २५ प्रतिशत कर्पोरेट कर तिर्नुपर्ने हुन्छ ।