काठमाडौं । बुटबल पावर कम्पनी लिमिटेड (बीपीसी) ले चिनियाँ कम्पनीको साझेदारीमा निर्माण गर्न लागेको १३५ मेगावाटको मनाङ मस्र्याङ्दी जलविद्युत आयोजनाको विद्युत् खरिदबिक्री सम्झौता (पीपीए) हुन लागेको छ ।
नेपाल विद्युत प्राधिकरण र आयोजनाको विकासकर्ता बीपीसी र ३ jटा चिनियाँ कम्पनीले स्थापना गरेको एससीआईजी इन्टरनेसनल नेपाल हाइड्रो ज्वाइन्ट डेभलपमेन्ट कम्पनी प्राइभेट लिमिटेडसँग प्रारम्भिक पीपीए भइसकेको छ । यो कम्पनीमा बीपीसीको १९.५ र बाँकी ७९.५ प्रतिशत चिनियाँहरुको स्वामित्व छ ।
आयोजनाको पीपीए गर्न बिहीबार सार्वजनिक सुनुवाइ हुँदैछ । बिहीबार अपरान्ह १२ बजेदेखि ३ बजेसम्म सार्वजनिक सुनुवाइको कार्यक्रम तय गरिएको छ । विद्युत् नियमन आयोग ऐनअनुसार कुनै पनि आयोजनाको पीपीए गर्दा सार्वजनिक सुनुवाइ गर्नुपर्ने प्रावधान छ । आयोजना मनाङ मस्र्याङ्दी हाइड्रोपावर प्रालिले निर्माण गर्नेछ ।
प्राधिकरणले १०० मेगावाटसम्मका आयोजनाको पीपीएको आधारदर तय गरेको छ । १०० मेगावाटभन्दा बढी क्षमताका आयोजनाको हकमा समझदारीबाट पीपीए हुनेछ । विद्युत प्राधिरकण र विकासकर्ता कम्पनीबीच हाल चलनचल्तिमा रहेको दर (पोस्टेड रेट) मा सहमति भएको छ ।
जसअनुसार सुख्खायामको ६ महिनामा प्रतियुनिट ८ रुपैयाँ ४० पैसा र वर्षादको ६ महिनामा प्रतियुनिट ४ रुपैयाँ ८० पैसामा पीपीए गर्ने प्रस्ताव प्राधिकरणले गरेको बीपीसीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) उत्तरकुमार श्रेष्ठले बताए । उनले अब यही दरमा प्राधिकरणले पीपीए हुने स्पष्टपारे । सार्वजनिक सुनुवाइपछि प्राधिकरण र विकासकर्ताबीच पीपीए हुनेछ ।
चिनियाँ लगानी भएकाले डलरमा पीपीए हुनेछ । प्राधिकरणले नदी प्रवाही (आरओआर), अर्धजलाशय (पीआरओआर) र जलाशय (स्टोरेज) आयोजनाको पीपीए दर तोकेको छ । वार्षिक ३ प्रतिशतका दरले ८ पटक मूल्यवृद्धि पाउने प्रस्ताव पनि सिफारिस गरिएको छ ।
आयोजना बनाउन ३३ अर्ब ३७ करोड रुपैयाँ लागत अनुमान गरिएको छ । आयोजनाबाट वार्षिक औसत ७५ करोड ९ लाख ४८ हजार ८७५ युनिट विद्युत् उत्पादन हुने संभाव्यता अध्ययनले देखाएको छ ।
टेक अर पे (लेउ या तिर) प्रावधान अनुसार पीपीए प्रस्ताव गरिएको आयोजनाबाट २०२५ भित्र विद्युत उत्पादन गर्ने प्रक्षेपण छ ।
८० प्रतिशत ऋण तथा २० प्रतिशत स्वपुँजी लगानी रहने आयोजनामा प्रवद्र्धक कम्पनीले १० वर्षमा बैंकको ऋण तिरिसक्ने अनुमान छ ।
चिनियाँ कम्पनीहरुको साझेदारीमा मस्र्याङ्दी बेसिनमै ३२७ मेगावाटको माथिल्लो मस्र्याङ्दी–२ र १३९ मेगावाटको तल्लो मनाङ मस्र्याङ्दी आयोजना निर्माण गर्ने तयारी गरेको छ । ३ वटा आयोजनाको क्षमता ६०१ मेगावाट छ । पहिलो माथिल्लोको पीपीए सकिएपछि तल्लो र मस्र्याङदी २ को पीपीए थालिने सीईओ श्रेष्ठले जानकारी दिए ।
३ वटै आयोजना श्रृङखला (क्यासकेड) खाकामा निर्माण हुने भएका छन् । माथिल्लो र तल्लो आयोजनाबाट ६ महिनाको फरक हुने भएको छ । अर्को आयोजना कही पछि हुनेछ ।
मनाङको नासो र चामे गाउँपालिकामा निर्माण हुने भएको छ । चिनियाँ बैंकले ऋण लगानी गर्ने सैद्धान्तिक सहमति भएको जनाइएको छ । आयोजनाबाट उत्पादित विद्युत् मनाङको धारापानीस्थित प्राधिकरणको २२० केभी धारापानी स्वीचिङ स्टेसनमा जोड्ने गरी प्रसारण सम्झौता (कनेक्सन एग्रिमेन्ट) भएको छ । यस्तै लगानी बोर्डसंग आयोजना विकास सम्झौता (पीडीए) को चरणमा रहेको छ ।
यस्तै मस्र्याङदी–२ आयोजना बनाउन लगानी बोर्डले आयोजना बनाउन चीनबाट ७८ अर्ब ६५ करोड रुपैयाँ वैदेशिक लगानी ल्याउन स्वीकृत गरेको छ । अब पीडीए हुन बाँकी छ ।
जीएमआर इनर्जी लिमिटेडले भारत निकासी प्रयोजनका लागि आयोजना क्यू २८ मा डिजाइन गरेको थियो । क्यू २८ मा डिजाइन गर्दा आयोजनाको जडित क्षमता ६०० मेगावाट थियो ।
विद्युत प्राधिकरणले क्यू ४० भन्दा कम डिजाइनका आयोजनासंग पीपीए नगर्ने नीति ल्याएपछि आयोजनाको क्षमता घटेको हो ।बीपीसीले जीएमआरसंग साढे ३ अर्ब रुपैयाँमा सो आयोजना खरिद गरेको हो । आयोजना बीपीसीले ३ ओटा चिनियाँ कम्पनीसँग साझेदारीमा बनाउने भएको छ ।
एससीआईजीमा बीपीसीका अतिरित्त एससीआईजी इन्टरनेसनल लिमिटेड, जीचेङ इन्टरनेसनल इन्भेस्टमेन्ट कम्पनी लिमिटेड, क्युआईइसी इन्टरनेसनल कम्पनी लिमिटेड हङकङको लगानी रहने छ ।
बीपीसीले नेपालमा १ हजार मेगावाट बिजुली उत्पादन गर्न चीनबाट २ खर्ब रुपैयाँ बढी वैदेशिक लगानी ल्याउन चिनियाँसँग सम्झौता गरेको छ । होल्डिङ कम्पनीमार्फत आउँदो ५ वर्षमा थप १ हजार मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य लिइएको छ । बीपीसीले ३० मेगावाटको न्यादी आयोजनाको निर्माण गरिरहेको छ ।