हवाइ क्षेत्रमा विरलै घट्ने घटना मध्येको एक हो, गत शुक्रबार बुद्ध एयरमा भएको घटना । एक ठाउँको यात्रु अर्को ठाउँमा पुग्ने विषयलाई गम्भिर रुपमा लिइएको पाइदैन । नेपालको यो विषयलाई लिएर विदेशी मिडियाहरुले पनि विशेष चासो देखाएको पाइएको छ ।
एक दुई जना यात्रुहरु कहिलेकाँही अर्को गन्तव्यमा जान सक्ने सम्भावना अलिअलि रहन्छ । तर, जहाजनै एउटा गन्तव्यमा उड्नुपर्नेमा अर्को ठाउँमा पुग्नु भनेको गम्भिर लापरबाही हो । यसलाई अहिले नेपाल नागरिक उड्डयन प्राधिकरणले गम्भीर भएर छानविन गरेको पाइदैन ।
यात्रुहरुलाई जहाज चढ्नु भन्दा अघि नै बोर्डिङ गर्ने बेला अर्कै ठाउँमा यात्रु पठाउँदा धेरै सिरियस विषय नभए पनि यो हदैसम्मको लापरबाही हो । यस्तै हुँदै गयो भने विमानस्थलको सुरक्षाको विषयमा समेत प्रश्न उठ्छ । जहाजमा पाइलटहरु खटाउने विषयदेखि जहाज मर्मतमा पनि त्यही किसिमको लापरबाही भयो भने अवस्था झन खतरा हुन्छ । त्यस्तो बेलामा जे पनि हुन सक्छ ।
घटना हेर्दा यात्रुहरु हाल्नेले पनि हाल्यो तर पाइलटले पनि हामी कहाँ जादै छौं भनेर जानकारी गराउनु पर्ने हो । यो घटनामा पाइलटको दोष मात्र देखाइएको छ । तर त्यहाँ रहेका सबै जना दोषी हुन् । पाइलटले जहाज मात्र उडाउने, क्याविन क्रु र ग्राउण्डह्याण्डलीङका कर्मचारीहरुले पनि भेरिफाई गर्न नखोज्ने हुँदा विमानस्थलकै सुरक्षा माथि प्रश्न उठेको छ ।
यो घटनाले उड्डयन क्षेत्रको सुरक्षा माथि समेत गम्भीर चुनौती दिएको छ । त्यसैले नेपाल नागरिक उड्डयन प्राधिकरणले एयरलाइन्सहरुलाई सचेत गराउनुपर्छ । यसमा प्राधिकरणले एक्सन लिनुपर्छ । यस्ता लापरबाहीलाई त्यतिकै छोड्नु भएन । कारवाही गर्नुपर्छ । यो धेरै केयरलेस हो । विमानस्थलमा एक जना मात्र कर्मचारीले लापरबाही गरिदियो भने त जे पनि हुन सक्छ ।
विमानस्थलमा जहाजहरु पार्किङ गरिरहेको हुन्छन, उडिरहेको हुन्छन्, यात्रु चढाउने, झार्नेदेखि सामान लोडअनलोडको कुरा छ । यस्तो भयो भने क्षमता भन्दा बढी लोड हालिदियो भने अर्को दुर्घटना हुन्छ ।अहिलेको घटना ठूलो नभए पनि यस्तै यस्तै विषयले भविष्यमा ठूला घटनाहरु नहोलान भन्न सकिन्न । एयरलाइन्सहरुलाई अहिलेको घटनाले ठूलो पाठ सिकाएको छ भने प्राधिकरणले पनि यस्ता कुराहरुलाई राम्रोसँग नियाल्नु पर्ने हुन्छ । अहिले सामान्य हो भनेर छोड्न मिल्दैन ।
एयरलाइन्सले गल्ती गर्यो भनेर मात्र भएन विमानस्थल व्यवस्थापनले पनि कुन एयरलाइन्सले के गरिरहेको छ । राम्रोसँग बोर्डिङ गराएको छ की छैन भनेर चेक गर्नुपर्दैन ? आफ्नो जिम्मेवारी प्रति सबै निकाय गम्भिर भएको देखिदैन ।
बुद्धको अहिलेको घटनालाई लिएर प्राधिकरण र संस्कृती,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय दुबै निकाय मौन छन् । यसले भविष्य फेरि यस्तै किसिमका घटनाहरु नघट्ला भन्न सकिन्न । त्यसैले यो घटनाको सत्यतथ्य छानविनका लागि प्राधिकरण तयार हुनुपर्छ ।
एक दशकअघि पनि बुद्धकै जहाजमा यस्तो समस्या आएको थियो । त्यो बेला पाइलटबीचको विवादले भैरहवा जानुपर्ने जहाज विराटनगरमा पुगेको थियो । फेरि अहिले त्यहि एयरलाइन्समा चढेको यात्रु अर्को गन्तव्यमा पुग्नुले पनि भविष्यमा यस्ता घटनाहरु नदोहोरियलान भन्न मिल्दैन ।
(क्यापिटल नेपालका सुवास योञ्जनसँग देउजाले गरेको कुराकानीमा आधारित)