काठमाडौं । राजधानीको नागढुंगा–नौबिसे सुरुङमार्ग आयोजनाको मुख्य सुरुङ खन्ने काम मंगलबारबाट सुरु भएको छ । सुरुङमार्ग निर्माणको जिम्मा पाएको जापानको हाज्मा–आन्दो कर्पोरेसनले १४ महिनाभित्र सुरुङ खन्ने काम सम्पन्न गर्ने भएको छ।
मुख्य सुरुङ खन्ने काम मंगलबारबाट विधिवत रुपमा सुरु गरिएको हो । १४ महिनाअघि प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त सुरुङमार्ग निर्माणको औपचारिक शिलन्यास गरेका थिए । सुरुङमार्गसम्म पुग्ने सहायक सडक, जग्गा अधिग्रहण र साइटका अन्य सहायक काम पूरा भएर सडकको मुख्य सुरुङ खन्ने काम अघि बढेको हो ।
कोरोना महामारीका कारण जापानबाट प्राविधिक इन्जिनियर आउन नसक्दा आयोजना केही ढिला हुन पुगेको छ । बन्दाबन्दीका कारण जापानबाट नै मेसिन तथा उपकरण झिकाउनुपर्दा आयोजना केही ढिलो भएको आयोजना पक्षले जनाएको छ ।
पोर्टलसम्म पुग्ने लिंक रोड (पहुँचमार्ग) गरिसकेको हाज्माले मुख्य सुरुङ खन्ने काम सुरु गरेको छ । निर्माण कम्पनीले मुख्य सुरुङ खन्ने काम १४ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य लिएको सडक विभागअन्र्तगत वैदेशिक सहायता समन्वयन महाशाखाका प्रमुख अर्जुनजंग थापाले बताए ।
जापानी कम्पनीले सुरुङमार्ग खन्नका लागि ९० प्रतिशत उपकरणहरु साइटमा ल्याइसकेको जनाएको छ । करिव ३०० भन्दा बढी कामदार तथा प्राविधिक इन्जिनियरहरु अहिले सुरुङमार्ग निर्माणस्थलमा खटिएका छन् ।
सुरुङ खन्न बिस्फोटक पनि साइटमा ल्याएर आवश्यक सुरक्षा अपनाइएको छ । नेपाली सेनाले विदेशबाट ल्याएको ३०० मेट्रिक टन विस्फोटक पदार्थ सर्भिस सेन्टरमा राखेको छ । सुरुङ खन्न झन्डै ९०० मेट्रिक टन बारुद आवश्यक पर्नेछ ।
आयोजना अन्र्तगत दुईओटा सुरुङमार्ग खनिनेछ । एउटा मुख्य सुरुङमार्ग भने अर्को स्केप्ट टनेल बनाइनेछ । जसले कुनै समस्या आए वा दुर्घटना भए उद्धारका लागि प्रयोग गरिने छ । एम्बुलेन्ससमेत सहजै हिड्न सक्ने गरि बनाइने डिजाइन छ ।
टनेल खोप्ने र चट्टान फोर्ने लगायतका कामहरू मेसिनबाटै हुनेछ । त्यसका लागि मेसिन समेत साइटमा आइसकेको आयोजनाले जनाएको छ । एकैपटक धेरै ठाउँबाट ५ मिटरसम्म होल खोपेर चट्टान फोर्न सकिनेछ ।
सुरुङमार्गमा निर्माण हुने क्षेत्रमा कडा र नरम गरी दुवै प्रकारका चट्टान छन् । विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) अनुसार सुरुङमार्ग चन्द्रागिरी नगरपालिकाको टोटेपाखाबाट धादिङको सिस्नेखोला निस्कने छ । जसको लम्बाइ २.७ किलोमिटर हुनेछ ।
क्यारिज–वे ९.५ मिटर हुनेछ । ३.५ र३.५ मिटरको दुईवटा लेनमा सवारीसाधन आउजाउ गर्ने छन् । बीचमा मेडियन हुनेछ भने दुईपट्टि सोल्डर रहनेछ ।
मुख्य सुरुङमार्ग र स्केप्ट टनेल १३ मिटरको दूरीमा रहनेछन् । सुरुमा स्केप्ट टनेल २५ मिटर मेसिनले खनेपछि मात्रै बिष्पोटक पदार्थ प्रयोग गरिने जापानको सडक संरचनाका डिजाइनर रमेशप्रसाद कोइरालले बताए ।
जापानको कम्पनीले बनाउने लागेको सुरुङमार्ग न्यू अष्ट्रेलियन टनेल मेसिन प्रविधिमा आधारित छ । सुरुङमार्गअन्र्तगत दुईवटा अन्डरपास र बलम्बुमा एकओटा ओभरफ्लाइ हुनेछन् । सुरुङ बनेपछि खासगरी मोटरसाइकल, हेभी इकुप्मेन्ट बोकेका सवारी, पेट्रोलियम सवारीलाई निषेध गरिनेछ ।
जापानको १५ अर्ब ४० करोड रुपैयाँ ऋण सहयोगमा नागढुंगा सुरूङमार्ग बन्न लागेको हो । २.३५ किलोमिटर लम्बाइको सुरूङमार्ग, २.२५ किलोमिटरको सडकमार्ग र विद्युत आपूर्ति सुविधा निर्माण रहेका छन् ।
सन् २०१९ जुलाईबाट सुरू भएको यो परियोजना २०२२ डिसेम्बरमा पूरा गर्ने योजना छ । परियोजना बन्दा नागढुंगा नौबिसे सडक खण्डको ट्राफिक जाम र यात्रा अवधिसमेत छोटिनेछ । काठमाडौं उपत्यकाको ट्राफिक जाम व्यवस्थापन गर्न सुरूङमार्ग निर्माण महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ ।