काठमाडौं । प्रस्तावित १६० मेगावाटको लाप्चे जलविद्युत आयोजनाको निर्माण गर्न लगानी जुटेको छ । प्रतिष्ठित व्यावसायिक घराना एमभी दुगड ग्रुपको मुख्य लगानी रहेको लाप्चे जलविद्युत आयोजना नाशा हाइड्रोपावर प्रालिबाट निर्माण हुन लागेको हो । आयोजना बनाउन २६ अर्ब २० करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।
नेपाल बैंकको अगुवाईमा विभिन्न ९ वटा बैंक तथा वित्तीय संस्थाहरुले वित्तीय स्रोत जुटाइदिएका छन्। बैंक तथा वित्तीय संस्थाहरुबाट १९ अर्ब ६५ करोड रुपैयाँ लगानी गर्ने सम्बन्धी सम्झौता भएको छ।
विकासकर्ता नाशा हाइड्रोपावरका अध्यक्ष मोतिलाल दुगड तथा बैंकहरुका तर्फबाट नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्णबहादुर अधिकारीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
आयोजनामा नेपाल बैंकले ५ अर्ब, नेपाल इन्भेस्टमेन्ट बैंकले ३ अर्ब ५० करोड, कर्मचारी सञ्चय कोषले २ अर्ब, राष्ट्रिय बाणिज्य बैंकले २ अर्ब, हिमालयन बैंकले २ अर्ब, लक्ष्मी बैंकले १ अर्ब ८८ करोड २५ लाख, नेपाल एसबीआई बैंकले १ अर्ब, बैंक अफ काठमाण्डुले १ अर्ब र कृषि विकास बैंकले १ अर्ब रुपैयाँ ऋण लगानी गर्ने भएका छन् ।
सो अवसरमा बैंकका अध्यक्ष वासुदेव अधिकारीले सरकारी स्वामित्वको बैंकले आयोजनाको आर्थिक, प्राविधिक, जोखिम लगायतका बिभिन्न पक्षहरुको समग्र विश्लेषण गरी ऋण लगानीको निर्णय गरेको जानकारी गराए ।
सो अवसरमा विकासकर्ता नाशा हाइड्रोपावरका अध्यक्ष दुगडले नेपालकै हालसम्मकै ठूलो वित्तीय लगानी रहेको आयोजनामा नेपाल बैंक र अरु संस्थाले गरेको सहयोगको सह्राना गरे। उनले २०७९ साउनसम्ममा उक्त आयोजनाबाट बिजुली उत्पादन सुुरु गरिने जानकारी समेत गराए।
आयोजना दोलखा जिल्लाको उत्तरी क्षेत्र बिगु गाउँपालिकास्थित लाप्चे खोलामा निर्माण हुनेछ। आयोजना निर्माणधिन ४५६ मेगावाटको माथिल्लो तामाकोसी भन्दा माथि नेपाल र चीन सीमाना नजिक रहेको छ
दुगड ग्रुपको लगानीमा बनेको अर्को लिखु खोला जलविद्युत आयोजना अन्तिम चरणमा छ। ग्रुपको अगुवाइमा लिखुमा १५८ मेगावाटका ३ वटा आयोजना निर्माणाधीन चरणमा छन् ।