काठमाडौं । हेली एभरेष्टले आगामी ३ वर्षभित्र १ अर्ब रुपैयाँ थप लगानी गरेर ३ वटा नयाँ हेलिकप्टर थप्ने भएको छ । ट्रेकिङ क्षेत्रमा स्थापित व्यवसायीहरूद्वारा सञ्चालित हेली एभरेष्टमा हाल दुईवटा हेलिकप्टर सञ्चालनमा छन् ।
सन् २०१५ बाट व्यावसायिक उडान सुरु गरेको हेली एभरेष्टले ३ वर्षभित्रमा ३ वटा नयाँ हेलिकप्टर थप गरी ५ वटा पुर्याउने योजना बनाएको हो । सात जना नयाँ लगानीकर्ताहरू भित्रिएसँगै हेली एभरेष्टले आक्रामक बजार विस्तारको योजनाअघि बढाएको हो ।
कोरोना भाइरस महामारीका कारण विदेशी पर्यटकहरू नआएर अधिकांश हेलिकप्टर कम्पनीहरू संकटमा परिरहेको बेला हेली एभरेष्टले भने आक्रामक बजार विस्तार गर्ने तयारी गरेको हो ।
हेली एभरेष्टका प्रवन्ध निर्देशक फुर गेल्जे शेर्पाले कम्पनीलाई प्रतिस्पर्धी बजारमा विस्तार गर्ने सोचका साथ सन् २०२१ देखि ०२३ भित्रमा वर्षको एक÷एकवटा जहाज थप गर्ने निर्णय गरिएको जानकारी दिए ।
कोरोना भाइरस (कोभिड–१९)का कारण पर्यटकहरू तत्कालै नेपालमा आउन सक्ने अवस्था नरहेकाले एक वर्षपछि मात्र नयाँ हेलिकप्टर भित्र्याउन लागिएको उनले जानकारी दिए ।
‘अवस्था सामान्य नभएकाले अहिले नै हेलिकप्टर थपि हाल्ने अवस्था छैन, प्रवन्ध निर्देशक शेर्पाले क्यापिटल नेपालसँग भने, ‘पर्यटकको आगमनलाई ध्यान दिएर २०२३ अघिनै तीनवटा जहाज थप्न सकिने समेतको सम्भावना छ ।’
नयाँ लगानीकर्ताका रूपमा प्रवन्ध निर्देशक शेर्पासहित राकेशभक्त वादे, क्याप्टेन केशवप्रसाद गौचन, प्रनिशकुमार श्रेष्ठ, टाँसी लाक्पा शेर्पा, फुर्वाछिरिङ शेर्पा र मिङमा ओङचु शेर्पा छन् ।
योसँगै हेली एभरेष्टमा रहेका पुराना लगानीकर्ताहरू मध्येका तीन जना इन्जिनियर र क्याप्टेन सुरज थापाले भने केही समयअघि मात्र छोडेका छन् । अहिले पुराना लगानीकर्ताको रूपमा कम्पनीका अध्यक्ष लाक्पा शेर्पा, उपाध्यक्ष मिङमा शेर्पा र निर्देशक योगराज कँडेल रहेका छन् ।
नयाँ लगानीकर्ताहरू भित्रिएसँगै हेली एभेरष्टले मंगलबार ३ जनाको नयाँ बोर्ड समिति गठन गरेको छ । बोर्डको अध्यक्षमा लाक्पा, उपाध्यक्षमा मिङमा र प्रवन्ध निर्देशकका रूपमा फुर गेल्जे शेर्पालाई जिम्मेवारी दिइएको छ ।
अब केही समय भित्रै कम्पनीको साधारणसभा गरेर बोर्ड विस्तारको योजना बनाइएको बताइएको छ । अहिले १० वटा हेलिकप्टर कम्पनीहरू सञ्चालनमा छ भने एउटा सञ्चालनको तयारीमा छ ।