काठमाडौं । नागढुंगा–नौबिसे सुरुङमार्ग आयोजनको मुख्य सुरुङ खन्ने काम मंगलबारबाट सुरु हुँदैछ । सुरुङमार्ग निर्माणको जिम्मा पाएको जापानी कम्पनी हाज्मा–आन्दो कर्पोरेसनले सुरुङ खन्ने काम सुरु गरेको हो ।
पोर्टलसम्म पुग्ने लिंक रोड (पहुँचमार्ग) गरिसकेको हाज्माले मुख्य सुरुङ खन्ने काम सुरु गरेको नागढुंगा–नौविसे सुरुङमार्ग आयोजनाले जनाएको छ ।
मुख्य सुरुङमार्ग खन्ने काम मंगलबारबाट औपचारिक रुपमा सुरु हुँदैछ । उक्त सुरुङमार्गको औपचारिक उद्घाटन भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्तकुमार नेम्बाङले गर्दैछन् । सडक विभागका महानिर्देशकसहित कर्मचारीको टोली सुरुङमार्गको औपचारिक उद्घाटनमा सहभागी हुँदैछन् ।
जापान सरकारको १५ अर्ब ४० करोड रुपैयाँ ऋण सहयोगमा नागढुंगा सुरूङ मार्ग बन्न लागेको हो । २ दशमलव ३५ किलोमिटर लम्बाइको सुरूङमार्ग, २ दशमलव २५ किलोमिटरको सडकमार्ग र विद्युत आपूर्ति सुविधा निर्माण रहेका छन् ।
सन् २०१९ जुलाईबाट सुरू भएको यो परियोजना २०२२ डिसेम्बरमा पूरा गर्ने योजना छ । परियोजना बन्दा नागढुंगा नौबिसे सडक खण्डको ट्राफिक जाम र यात्रा अवधिसमेत छोटिनेछ । काठमाडौं उपत्यकाको ट्राफिक जाम व्यवस्थापन गर्न सुरूङमार्ग निर्माण महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ ।
होल खोप्ने र चट्टान फोर्ने लगायतका कामहरू मेसिनबाटै हुनेछ । त्यसका लागि मेसिन समेत आइसकेको आयोजनाले जनाएको छ ।
एकैपटक धेरै ठाउँबाट ४र५ मिटरसम्म होल खोपेर चट्टान फोर्न सकिनेछ । सुरुङमार्गमा निर्माण हुने क्षेत्रमा कडा र नरम गरी दुवै प्रकारका चट्टान छन् । विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) अनुसार सुरुङमार्ग चन्द्रागिरी नगरपालिकाको टुटिपाखाबाट धादिङको सिस्नेखोला निस्कने छ। जसको लम्बाइ २।७ किलोमिटर हुनेछ।
क्यारिज–वे ९.५ मिटर हुनेछ । ३.५ र ३.५ मिटरको दुईवटा लेनमा सवारीसाधन आउजाउ गर्ने छन्, बीचमा मेडियन हुनेछ भने दुईपट्टि सोल्डर रहनेछ । सुरुङमार्गसँगै स्केप्ट टनेल पनि रहने छ । २ सय ५० मिटरको दूरीमा भित्र र बाहिर गर्न मिल्नेगरि जोडिन्छ ।
कुनै समस्या आए वा दुर्घटना भए उद्धारका लागि प्रयोग गरिने छ । एम्बुलेन्ससमेत सहजै हिड्न सक्ने गरि बनाइने डिजाइन छ ।