काठमाडौं । प्रस्तावित ४३९ मेगावाटको बेतन कर्णाली जलविद्युत् आयोजनामा ग्लोब आईएमई बैंकको नेतृत्वमा ऋण लगानी गर्न प्रक्रिया अघि बढेको छ । विकासकर्ता कर्मचारी सञ्चय कोष र बैंकबीच छलफल सुरु भएको छ । बैंकको सहायक नेतृत्व (कोलिड) मा एभरेष्ट बैंक र अर्को कोलिड बैंकका लागि छलफल भइरहेको छ ।
यसअघि नबिल बैंक र नेपाल एसबीआई बैंकले बेतन कर्णालीमा ५० अर्ब रुपैयाँ ऋण लगानी गर्ने समझदारीपत्र (एमओयू) मा हस्ताक्षर गरेका थिए । नेपाल एसबीआईमा सञ्चय कोष संस्थापक लगानीकर्ता हुनुका साथै सञ्चालक समितिमा एक जना सञ्चालक प्रतिनिधित्व गरेपछि बैंक तथा वित्तीय संस्था ऐन (बाफिया) अनुसार एसबीआईबाट लगानी नहुने अवस्था आएपछि विकल्पमा ग्लोबल आईएमईसँग छलफल चलेको हो ।
सञ्चय कोषले सेयर लगानी नगरेका ग्लोबल आईएमई र एभरेष्ट बैंकसँग ऋण लगानीका लागि छलफल सुरु भएको हो । बेतन कर्णालीमा लगानीका लागि ग्लोबल आईएमईसंग छलफल सुरु भएको कोषका प्रशासक तुलसी गौतमले बताए । उनले छलफल चलिरहेको र सहमतिमा पुग्न बाँकी रहेको सुनाए ।
बेतन कर्णालीको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) तयार भएको छ । आयोजना बनाउन ७५ अर्ब रुपैयाँ लाग्ने संभाव्यता अध्ययनले देखाएको छ । जसमध्ये ५२ अर्ब रुपैयाँ बैंकबाट ऋण लगानी र बाँकी २३ अर्ब रुपैयाँ स्वपुँजी हुने गरी लगानी संरचना तयार पारिएको छ । यसमध्ये ९ अर्ब रुपैयाँ सञ्चयकर्ताबाट उठाउने र बाँकी अन्य संस्थाबाट जुटाउने तयारी छ । सञ्चयकर्ताबाट ६ अर्ब रुपैयाँ बढी लगानी उठिसकेको छ ।
नेपाली बैंकबाट मात्र नभए विदेशबाट पनि लगानी ल्याउने तयारी कोषको छ । ३० अर्ब रुपैयाँ ऊर्जा बण्डलगायत अन्य वित्तीय औजार परिचालनबाट लगानी जुटाउने तयारी कोषको छ । यस्तै आयोजनामा भारतको नेसनल हाइड्रोइलेक्ट्रिसिटी प्रोजेक्ट लिमिटेड (एनएचपीसी) ले पनि चासो देखाएको छ ।
डीपीआरको काम नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी एनईए इन्जिनियरिङ कम्पनी लिमिटेडले तयार पारिसकेको छ । डीपीआरमा २८ करोड रुपैयाँ खर्च भएको छ । आयोजना सञ्चय कोष, ६ लाख बढी सञ्चयकर्ता र सर्वसाधारणको लगानीमा निर्माण हुनेछ । आयोजना बेतन कर्णाली सञ्चयकर्ता हाइड्रोपावर लिमिटेडमार्फत निर्माण हुनेछ । सञ्चयकर्ताबाट ८ अर्ब ४० करोड रुपैयाँ लगानी जुटाउने तयारी छ ।
कोषका सञ्चयकर्ताले पाउने नाफाको ०.५० प्रतिशत आयोजनामा लगानी भइरहेको छ । बेतन कर्णालीमा सञ्चयकर्ताको ४० प्रतिशत सेयर लगानी हुने गरी लगानी सम्बन्धित विनियमावली बनाइसकेको छ । गत आर्थिक वर्ष ०७३/०७४ देखिको नाफा आयोजनामा लगानी हुने गरी विनियमावली परिवर्तन गरिएको हो ।
आयोजनाबाट वार्षिक २ अर्ब ३१ करोड ८० लाख युनिट बिजुली उत्पादन हुने प्रारम्भिक अध्ययनले देखाएको छ । काम सुरु भएको ६ वर्षमा आयोजनाको काम सम्पन्न हुनेछ ।
आयोजना सुर्खेतको चौकुना र अछाममा ढकारी गाउँपालिकामा पर्छ । आयोजनाको बाँध ८९ मिटर अग्लो हुनेछ । सुरुङ ६.६ किलोमिटर लामो हुनेछ । १४ किलोमिटर लामो पहुँचमार्ग र ५ किलोमिटर लामो ४०० केभी क्षमताको प्रसारण लाइन बनाउनुपर्ने देखिएको छ ।
आयोजनाले जग्गा अधिग्रहणको काम सुरु गरिसकेको छ । यस्तै विद्युत खरिद बिक्री (पीपीए) का लागि विद्युत् प्राधिकरणमा आवेदन दिइसकेको छ । पहिले ६८८ मेगावाटमा डिजाइन गरिएकोमा प्राविधिक कारणले बाँधमाथि सार्दा आयोजनाको जडित क्षमता कम भएको हो ।