काठमाडौं । अर्थमन्त्री विष्णु पौडेललाई भेटेर होटल एसोसिएसन अफ नेपाल(हान)का अध्यक्ष सिर्जना राणाले सरकारले दिने विशेष पुनर्कर्जा प्रभावकारी बनाउन अनुरोध गरेकी छिन् ।
अर्थ मन्त्रालयबाट तथा राष्ट्र बैंकबाट घोषणा भएको अति प्रभावित क्षेत्रहरूलाई प्रदान गर्ने भनिएको विशेष पुनर्कर्जा प्रभावकारी नभएकाले सोको प्रभावकारिताको समेत विशेष अनुरोध गरेको हो ।
व्यवसायीहरूको भेटमा अर्थमन्त्री पौडेलले केही समयभित्रै बिजुलीमा दिने सुविधासमेत होटलले उपभोग गर्न पाउने आश्वासन दिएको मन्त्री निकट एक अधिकारीले जानकारी दिए ।
हाल होटललाई सेवा क्षेत्रमा राखिएको छ । अर्थमन्त्रीसँगको भेटमा हानका अध्यक्ष राणाले होटलले सुरुदेखि नै चर्को शुल्कमा बिजुलीको महसुल तिर्दै आएको बताउँदै राज्यबाट उद्योगहरूलाई दिने सहुलियत आफूहरूलाई पनि दिनुपर्ने माग राखेकी छिन् ।
उनले कोरोना भाइरस(कोभिड–१९)को कारण लामो समयसम्म होटल बन्द हुँदा पनि बिजुलीको महसुल भने तिर्नुपर्ने बाध्यता भएकाले यसमा केही राहत उपलब्ध गराउन अर्थमन्त्री पौडेलसँग अनुरोध गरेकी छिन् ।
हानले अर्थमन्त्री पौडेलसँग राष्ट्र बैंकले घोषणा गरेको मौद्रिक नीति २०७७ को व्यवस्थाअनुसार कोभिडबाट अति प्रभावित क्षेत्र घोषणा गरिएको पर्यटन तथा होटललाई २ वर्षसम्मको ब्याज स्थगनका लागि विशेष अनुरोध गर्नुको साथै २० करोडको दायरालाई अर्ध वार्षिक समीक्षामार्फत परिवर्तन गर्नुपर्ने माग अघि सारेका छन् ।
बैंकलाई तिर्नुपर्ने गत आर्थिक वर्षको लकडाउन अवधिमा असार मसान्तमा साँवा व्याज बुझाउनु पर्नेमा एक वर्षको भाका सारेको भए तापनि साउनदेखिको यो वर्षका लागि थप १२ महिनाका लागि व्यवस्था गरिदिनुपर्ने, होटलहरूको चालू पुँजी कर्जाको ब्याजदर ५ प्रतिशत कायम गरी तथा यसको सीमाको दायरासमेत वृद्धि गरिदिनु पर्ने भनिएको छ ।
यस्तै ५० अर्बको व्यवसाय सुचारु कर्जाबाट पनि कतिपय व्यवसायीहरू बञ्चित हुने अवस्था भएकाले र १० करोडको दायरा पनि सीमित भएकाले थप यसको आवश्यकताअनुसार सहजीकरण गरिदिनुपर्ने उल्लेख छ ।