भैरहवा । पछिल्लो समय सबैभन्दा बढी उद्योग खुल्ने क्षेत्रका रूपमा परिचित छ, लुम्बिनी प्रदेश । नवलपरासी, बुटवल, भैरहवा र लुम्बिनी क्षेत्रमा उद्योग खुल्ने लहर बढ्दै गएको छ । उद्योगसँगै लुम्बिनी प्रदेश धार्मिक, पर्यटकीय र कृषि क्षेत्रमा सम्भावना बोकेको क्षेत्र पनि हो ।
त्यसमध्ये पनि भैरहवा भारतसँग नजिकको नाका भएको औद्योगिक नगरीका रूपमा परिचित छ । यस क्षेत्रमा साना–ठूला धेरै उद्योगहरू सञ्चालनमा छन् । खासगरी सिमेन्ट, डन्डी, स्टिल, इँटा, खाद्य तथा तयारी वस्तुको उद्योग पनि यस क्षेत्रमा छन् ।
भैरहवा औद्योगिक नगरीमा विकास हुँदै गरेको क्षेत्र हो । त्यहाँ नयाँ–नयाँ उद्योग खुल्नेक्रम बढिरहेको छ । नेपाल विद्युत् प्राधिकरणले प्रसारण लाइन, सबस्टेसन तथा पूर्वाधार संरचना नबनाएका कारण त्यहाँका उद्योगहरूले गुणस्तरीय बिजुली पाउन नसकेको गुनासो उद्योगीले गर्दै आएका छन् ।
एक त उद्योगले नयाँ लाइन पाउन सकेका छैनन्, अर्कोतर्फ बिजुली पाइरहेका ग्राहकहरूले गुणस्तरीय भएन भनेर बारम्बार गुनासो गर्दै आएका छन् । वर्षाैं पुराना प्रसारण लाइनको मर्मत सम्भार हुन नसक्दा भोल्टेजको समस्याले लाइन ट्रिपिङ बारम्बार हुन्छ । उद्योगहरूले पनि यो नियति भोग्नुपरेको गुनासो गर्छन् ।
भैरहवा र लुम्बिनी क्षेत्रमा गुणस्तरी बिजुली वितरणमा देखिएको समस्या, उद्योगले भोगेको समस्या र समग्रमा विद्युत् वितरण प्रणालीको सुधारका लागि विद्युत् प्राधिकरणले के गरिरहेको छ, भन्ने विषयमा गत मंसिर ३० गते भैरहवामा त्यसक्षेत्रका उद्योगी र विद्युत् प्राधिकरणका कर्मचारीबीच छलफल कार्यक्रम सम्पन्न भएको थियो ।
सिद्धार्थ उद्योग वाणिज्य संघको आयोजनामा भएको छलफलमा उपस्थित त्यस क्षेत्रका उद्योगीले आ–आफ्नो उद्योगले भोग्नुपरेको बिजुली आपूर्तिका समस्याहरू राखेका थिए ।
छलफल कार्यक्रममा २५ जना उद्योगी/व्यवसायीको उपस्थिति थियो । विद्युत् प्राधिकरण भैरहवाका वितरण केन्द्र प्रमुख, बुटवल ग्रीड शाखा प्रमुख, प्रादेशिक कार्यालयका प्रमुख, बुटवल–भैरहवा प्रसारण लाइन १३२ केभी आयोजनाका प्रमुख लगायतको सहभागिता थियो ।
यसैबीच, क्यापिटल नेपाल डटकमले पनि उक्त छलफलपछि केही उद्योगीका समस्या र विद्युत् प्राधिकरणले बिजुलीको गुणस्तर सुधार्न सकेको छ कि छैन भन्ने बारेमा प्रतिक्रिया लिने प्रयास गरेका छौं ।
राजेशबाबु अग्रवाल–नेपाल उद्योग वाणिज्य महासंघका सदस्य
हामी उद्योगी र विद्युत् प्राधिकरणको उद्देश्य गुणस्तरीय बिजुली आपूर्ति कसरी गर्ने भन्ने नै हो । उद्योग व्यवसाय राम्रोसँग चलाउन लाइन नियमित र गुणस्तरीय हुनुपर्छ । त्यसका लागि हामीले पनि प्राधिकरणसँग सहकार्य गरेर कसरी काम गर्ने हो त्यसका लागि समन्वय गर्न तयार नै छौं । खाली, समस्या देखाएर आरोप लगाउनुभन्दा पनि हाम्रा व्यावहारिक समस्या के–के छन्, त्यो कुरा विद्युत् प्राधिकरणले पनि बुझिदिनुपर्यो । त्यसका निराकरणका उपाय के–के हुन सक्छन्, त्यो सम्बोधन गरिदिनुपर्याे ।
केही समस्याहरूको निराकरण सम्बन्धित प्राधिकरणबाटै हुन सक्ने अवस्था छ । त्यो समस्या सम्बन्धित प्राधिकरणका हाकिम वा प्रमुखज्यूहरूले तत्काल समाधान गरिदिनुपर्याे । केही समस्याको समाधानका लागि हामीहरूले नै केन्द्रसम्म पहल गर्नुपर्ने अवस्था छ भने हामी त्यसका लागि तपाईंहरूसँग हातेमालो गरेर अघि बढ्न तयार छौं ।
तपाईंहरूले जे ‘गाइडलाइन’ वा सल्लाह दिनुहुन्छ, त्यसअनुसार भोलिका दिनमा हामी ऊर्जामन्त्री वा विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक(एमडी)लाई भेटेर समस्या समाधानका लागि पहल गर्न सक्छौं ।
यस क्षेत्रको विद्युत् प्रणाली कसरी चुस्त दुरुस्त र बलियोभन्दा बलियो बनाउने हो, त्यसका लागि हामी मिलेर काम गर्ने एउटै उद्देश्य लिनुपर्ने आवश्यकता छ । यहाँका उद्योगीहरूले गुणस्तरीय बिजुली नपाउँदा ठूलो समस्या भोग्नु परेको छ ।
अहिलेको यहाँको समस्याको समाधान गर्न १३२ केभी मैनहवा सबस्टेसन छिटो बन्नुपर्छ । त्यस्तै, बुटवल–लुम्बिनी प्रसारण लाइन निर्माण पनि जतिसक्दो छिटो बनाउन प्राधिकरणले तत्परता देखाउनुपर्छ ।
त्यस्तै, अहिले यहाँ भएका वितरण प्रणालीलाई ‘अपग्रेड’ गरेर बलियो र भरपर्दो बनाइनुपर्छ । वितरण प्रणालीको पूर्वाधार संरचना नबनाएसम्म कुनै व्यक्ति विशेषलाई दोष दिएर कुनै फाइदा छैन । समयमा संरचना तयार हुनुपर्यो । योजनाअनुसार संरचना बनिरहेको छैन ।
प्राधिकरणले कुनै प्रसारण लाइन वा सबस्टेसन बनाउँदा ठेकेदारले काम गरेको छ कि छैन, कहिलेसम्म लाइन बनाउने भन्ने अनुगमन गर्नुपर्छ । ठेक्का दिएको छु भनेर उम्कन पाउँदैन । तोकिएको समयभित्र परियोजना सम्पन्न गराउनु प्राधिकरणको दायित्व हो । तर, समयमै सम्पन्न नभए त्यसको दोष पनि प्राधिकरणले लिनुपर्छ ।
गुणस्तरीय बिजुली आपूर्ति नहुँदा उद्योगलाई हुने क्षति राष्ट्रको क्षति हो । उद्योगलाई क्षति हुनु भनेको उत्पादन घट्नु हो, उत्पादन घट्नु भनेको ‘रेभिन्यू’ घट्नु हो । यसले हामी अझ आयातमुखी हुने अवस्था नआउला भन्न सकिँदैन ।
यसक्षेत्रमा विद्युत् वितरण प्रणाली निकै कमजोर छ । वितरण प्रणालीका लागि नयाँ भौतिक संरचना छैन । भएका उद्योगहरूले पनि गुणस्तरीय बिजुली पाएका छैनन्, नयाँ उद्योग स्थापना हुने वातावरण पनि बनिरहेको छैन ।
कृष्ण पाण्डे–डेपुटी जनरल म्यानेजर, अर्घाखाँची सिमेन्ट उद्योग
भैरहवामा सञ्चालनमा आएका धेरै उद्योगहरू गुणस्तरीय बिजुली नपाएर समस्यामा परेका छन् । जसमध्ये एक उद्योग हो, अर्घाखाँची सिमेन्ट जसमा प्रत्येक दिन सिस्टम फेलको समस्या आउने गरेको छ ।
अर्घाखाँची सिमेन्ट लुम्बिनी फिडरमा पर्ने हुनाले लामो वितरण प्रणालीले गर्दा, तार, इन्सुलेटर जस्ता उपकरणीय क्षतिले महिनामा कम्तीमा १०÷१५ घण्टा एकै समय लाइन नआउने समस्या छ ।
त्यतिमात्र होइन्, लामो समय मर्मत सम्भार गर्दा अग्रिम जानकारी दिइँदैन । कहिले कतिबेला बढी र कति बेला कम भोल्टेजको आगमनले हाम्रो ३२ केभीए ब्रेकरमा ट्रिपिङको समस्या आइरहेको हुन्छ । १० एमभीए स्वीकृत क्षमतामा विद्युत् उपभोग गर्दा तुरुन्तै लाइन काटिने समस्या छ ।
बिलिङ्गदेखि सम्पूर्ण अधिकार अमुवा सबस्टेसनमा रहेको तर मर्मत सम्भारको जिम्मेवारी लुम्बिनी सबस्टेसनमा रहेकाले दुवैको संयोजन मिलाउन अग्रसर हुनुपर्ने आवश्यकता छ ।
कहिले कालीगण्डकी त कहिले पूर्वबाट आउने वितरण प्रणालीका कारणले सबैभन्दा पहिला लुम्बिनी फिडरको वितरणमा अवरोध गर्ने समस्याले उद्योगले गुणस्तरीय बिजुली पाउन सकेका छैनन् ।
हामीले विद्युत् वितरण अवरोध हुँदा ठूलो ग्राहक भइकन पनि समयमा गरेको सूचनाको सुनुवाइ धेरै समयपछि वा बारम्बारको आग्रह पछि मात्र हुने गरेको छ ।
वितरण अवरोधको जानकारी ग्रीडमा माग्दा हाम्रो कारणले होइन्, लुम्बिनी अमुवा सम्पर्क गर्नुहोस् भन्ने र लुम्बिनीमा सम्पर्क गर्दा सिस्टम फेल हो भन्ने तयारी जवाफ आउने यी बारम्बारका समस्या हुन् ।
कुलचन्द्र गौतम– अध्यक्ष, सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देही
भैरहवामा यसअघि उद्योगहरू पनि स्थापित थिए । नयाँ उद्योगलाई कच्चा पदार्थ ल्याउन नजिकको नाका भएको नाताले यसक्षेत्रमा नयाँ उद्योग स्थापना हुने क्रम बढ्दो छ । यद्यपि, जग्गा केही महँगो भए तापनि सुरक्षाका हिसावले नयाँ उद्योगहरू स्थापना हुने क्रम बढेको छ ।
समस्या प्रसारण लाइन निर्माणकै हो । आजभन्दा ४/५ वर्षअगाडि नै हामी सबस्टेसनको माग गरिरहेका थियौं । त्यसपछि हामीले तिलोत्तमाको हाइवेबाट नै पोल जडान गरेर ल्याउने भने पनि त्यहाँका बासिन्दाहरूले त्यसलाई बिरोध जनाउनुभयो ।
त्यहाँबाट प्रसारण लाइन बन्न नसकेपछि निर्माणमा ढिलाइ भयो । त्यसपछि तिनाउ नदीको किनारै किनारबाट नयाँ रुटबाट ल्याएर सबस्टेसनमा जोड्ने लक्ष्य हो । मुख्य समस्या त तार तान्ने नै हो ।
अहिले प्राधिकरणले प्रसारण लाइन र सबस्टेसन छिट्टै बनाउने भनेर कोसिस गरिरहेको छ । त्यो बन्यो भने उद्योगले गुणस्तरीय बिजुली पाउनेछन् । त्यो प्रसारण लाइन छिटोभन्दा छिटो किन पनि बन्न जरुरी छ भने निर्माणाधीन गौतमबुद्ध विमानस्थलका लागि पनि ८/१० मेगावाट बिजुली चाहिने भएको छ । समयमै लाइन बनेन भने एयरपोर्टले पनि गुणस्तरीय बिजुली पाउन सक्दैन । किनभने विमानस्थलमा २४ सै घण्टा नियमित रूपमा ऊज्यालो चाहिन्छ ।
मैनहवाको सबस्टेसन बन्यो भने यहाँका उद्योगले गुणस्तरीय बिजुली पाउने अपेक्षा गरिएको छ । तर, साना तिना समस्या त सामान्य कुरा हो । विद्युत् कार्यालयले पनि उद्योगीसँग समन्वय गरेर काम गर्नुपर्ने हो त्यो देखिँदैन । खाली उहाँहरूले ड्यूटीको रूपमा जिम्मेवारी पूरा गर्ने तर, कसरी बिजुली गुणस्तरीय दिन सकिन्छ भन्ने विषयमा चासो नदेखाएका कारणले पनि समस्या देखिन्छ ।
विद्युत् कर्मचारीहरूमा हाकिमी पारा हुने, निर्देशन दिने तर, काम भयो कि भएन् भनेर नहेर्ने प्रवृत्तिले पनि अप्ठ्यारो पारेको हो ।
अहिले विद्युत् उत्पादन बढ्दैछ, विदेशमा निर्यात गर्ने कुरा पनि आएको छ । तर, सबस्टेसन र प्रसारण लाइन पहिलो आवश्यकता हो । अहिले चर्चामा रहेको मिलेनियम च्यालेन्ज कर्पोरेस (एमसीसी) पनि नितान्त जरुरी छ । स्पेसल र हेभी प्रसारण लाइन तान्नका लागि अमेरिकाले दिने अनुदान सहयोग लिएर विद्युत् लाइन बन्नुपर्छ ।
अरुण गोयन्का– सञ्चालक, गोयन्का ग्रुप प्रालि
विद्युत् वितरणका दृष्टिले प्राधिकरणलाई एकाधिकार दिएजस्तो लाग्यो । किनभने, विद्युत् वितरणमा प्राधिकरण बाहेक कुनै अर्को सेवा पुर्याउने निकाय नभएका कारणले पनि यो समस्या आएजस्तो लाग्छ । यसले पनि प्राधिकरणले सम्पूर्ण उद्योगी र व्यवसायीप्रति कुनै चासो नदेखाएको जस्तो स्थिति छ ।
उहाँहरूलाई हामीले पटक–पटक गुनासो राख्दा पनि चासो देखाएको आभाष हामी उद्योगीलाई हुन सकेको छैन । उहाँहरूले सुधार गर्दैछौं भनेर धेरै पटक आश्वासन नदिनुभएको होइन् । विगतमा यस्ता आश्वासन आएका हुन् । तर, उहाँहरूले देखिने गरी उपलब्धिमूलक प्रयास गरेको देखिँदैन् ।
विद्युत् आपूर्तिसम्बन्धी समस्या जुन विगतमा थियो, त्यस्तो अहिले छ भन्न त नसकिएला । किनभने, अहिले लोडसेडिङ अन्त्य भएको छ । तर, ‘क्वालिटी’ को बिजुलीको सन्दर्भमा कुरा गर्ने हो भने हाम्रो उद्योग व्यवसायले ठूलै समस्या भोग्नुपरेको छ । लो–भोल्टेज, ट्रिपिङको समस्या, हाई–भोल्टेजको समस्या विगतदेखिकै हो र, अहिले पनि यथावत नै छ । यसको मुख्य कारण, यसक्षेत्रमा धेरै पुरानो प्रसारण लाइन तथा वितरण प्रणाली छ । जुन, धेरै जीर्ण र कमजोर भइसकेको अवस्था छ । बिजुलीको खपत दिनहुँ बढ्दै गइरहेको छ ।
लोडअनुसारको भौतिक पूर्वाधार, लाइन, सबस्टेसन लगायतका संरचनाहरू नबनेका कारणले पनि यसक्षेत्रका उद्योगहरूले गुणस्तरीय बिजुली पाउन सकेका छैनन् ।
पुराना लाइनको अपग्रेड गर्ने, ट्रान्सफर्मर थप्ने, मर्मत÷सम्भार लगायतका कुनै पनि काम विद्युत् प्राधिकरणले नगर्दा यो समस्या आएको हो ।
विदुर ढुंगाना–महाप्रबन्धक, जगदम्बा सिमेन्ट प्रालि
नेपाल विद्युत् प्राधिकरणले विद्युत् वितरण प्रवाह गरिरहेको छ, त्यो विगतमा भन्दा धेरै राम्रो ‘पोजिसन’ मा छ । र, पनि धेरै सुधार गर्नुपर्ने हुन्छ । उद्योग चलिरहँदा बीच बीचमा जम्परहरू पड्किने, इन्सुलेटरमा समस्या आउँदा बिजुलीमा अवरोध आइरहेको हुन्छ ।
साना खालका इक्यूपमेन्ट कारणले पनि गुणस्तरीय विद्युत आपूर्तिमा समस्या ल्याएको देखिन्छ । २४ घण्टा नै चल्ने फ्याक्ट्री वा उद्योगलाई पटक–पटक बिजुली ट्रिपिङ भइरह्यो भने ठूलो उपकरणीय क्षति हुन्छ । मेसिनहरू बिग्रने, टुट्ने, फुट्ने लगायतका समस्या पनि आइरहेका हुन्छन् ।
अहिले केही समययता आएर केही सुधार भएको छ । तथापी, यसक्षेत्रमा ३३ केभीए लाइनमा पनि सुधार गर्नुपर्ने हुन्छ । दिनमा ५÷७ पटक लाइन ट्रिपिङ हुने समस्या छ । यसलाई हटाउन पुराना तारहरू फेर्ने वा लाइनको मर्मत सम्भारप्रति पनि विद्युत् प्राधिकरण जिम्मेवार बन्नुपर्छ ।
चन्द्रमान श्रेष्ठ–प्रोपाइटर, भलबारी स्वचालित चामल कारखाना
भैरहवा लगायतको औद्योगिक क्षेत्रमा भएका ३३ र ११ केभीका प्रसारण लाइन वर्षाै पुराना छन् । यसमा प्राधिकरणले ठूलो लगानी गर्नुपर्ने आवश्यकता मैले देखेको छु । यो ग्रामीण र कृषि क्षेत्र भएकाले उद्योग स्थापना गर्न आए । अव्यवस्थित बस्ती बढ्दै गए । त्यसपछि विद्युतीकरण गर्दै जाँदा अव्यवस्थित रूपमा बस्तीमा कच्चा पोल राखेर विद्युती लाइन प्रसारण गरियो ।
प्राधिकरणले बस्ती बढेको हिसावले दीर्घकालीन रूपमा मजबुत प्रसारण लाइन संरचना बनाएर लैजानुपर्ने थियो । त्यसो गरिएन् । अव्यवस्थित बस्ती भएपछि त्यसअनुरुप नै विद्युतीकरण हुँदै गयो । जसका कारण, सानो हावाहुरी आउँदा पनि पोल ढल्ने, लाइन ट्रिपिङ हुने लगायतका समस्या आउने गर्छन् । ट्रान्सफर्मर ओभरलोड हँुदा हावाहुरी आउँदा मात्र होइन्, बढी बिजुली लोड लिने बित्तिकै समस्या आउँछ ।
त्यसकारण बिजुलीको गुणस्तर सुधार्न आवश्यक छ । प्राधिकरणले दीर्घकालीन रूपमा योजनाबद्ध ढंगले बिजुलीको गुणस्तरमा जोड नदिने हो भने हामीले गुणस्तरीय बिजुली पाउने अवस्था छैन ।
व्यवस्थित तरिकाले बिजुली वितरण नगर्ने हो भने आगामी दिनमा योभन्दा ठूलो समस्या हामीले झेल्नुपर्ने मैले देखेको छु । यो क्षेत्रमा ट्रिपिङ नभएको दिन नै छैन । किनभने, ठूलो बस्ती बढ्दै गयो । एक ठाउँमा लाइन काटेपछि त्यो एरियामा लाइन हुँदैन् । यहाँका ग्राहकले पनि नियमति रूपमा बिजुली पाइरहेका छैनन् ।
विद्युत् उत्पादन बढ्ला तर, प्रसारण लाइन छैन भने बिजुली खपत र लोड व्यवस्थापन हुन सक्दैन । हिजोको दिनमा बिजुली नभएकै कारणले हामीले समस्या भोग्यौं, अहिले बिजुली हुँदाहुँदै पनि उस्तै समस्या भोग्दैछौं । त्यसैले बिजुलीको गुणस्तर अभिवृद्धिमा जोड दिँदै प्राधिकरण अघि बढ्नुपर्छ ।
देवेन्द्र साहू, डाइरेक्टर, पञ्चकन्या ग्रुप
साढे २ वर्षअघि औद्योगिक क्षेत्रमा लोडसेडिङ हट्यो भनेर घोषणा गरे पनि विद्युत् प्राधिकरणले यहाँका उद्योगलाई गुणस्तरी बिजुली दिन सकेको छैन । अहिले पनि उद्योगमा जेनेरेटर र ब्याकअप नराखी हुँदैन । उद्योग चलिरहेको अवस्थामा झ्याप्प–झ्याप्प लाइन ट्रिपिङ हुने समस्या उत्तिकै बढ्दो छ ।
टं«क लाइन सिस्टम आउनुभन्दा अघि हरेक उद्योगले समयमै महसुल बिल बुझाएर आफ्नो आम्दानी गर्ने हो । अचानक उद्योगीलाई जानकारी निदइकन २०७६ चैत १४ गतेदेखि हामीलाई बक्यौता भनेर बिल पठाइयो । ५ करोड रुपैयाँ बक्यौतालाई ८/९ महिनामा २५ प्रतिशत ब्याज जोडेर ८ करोड रुपैयाँ पुर्याइसकेको छ ।
हाम्रो ट्रंक लाइन होइन । साधारण लाइन हो । यसमा जति युनिट मिटरमा उठ्छ त्यही युनिटको हिसाव गरेर बिल बुझाइरहेको थियौं । ट्रंक लाइन लिनुअघि उद्योगले बिल तिरेको छ कि छैन, ब्याज तिरेको छ कि छैन त्यो हेरिएन् ।
उद्योगले समयमै बुझायो भने २/३ प्रतिशत छुट पाउँछन् । हामीलाई महसुल बुझाउन एक महिना ढिला हुँदा २५ प्रतिशत ब्याज लिइन्छ भने हामीले अग्रिम महसुल बुझाउँदा हामीलाई पनि २५ प्रतिशत छुट दिइयोस् न, हामीले अग्रिम भुक्तानी दिन तयार छौं ।
जसले ट्रंक लाइनबाट बिजुली लियो, उसले पो बक्यौता तिर्ने हो । तर, लाइनबाट बिजुलीको सुविधा नलिएका उद्योगले कसरी तिर्ने ? यदि कुनै उद्योगले ट्रक वा डेडिकेटेड लाइनबाट बिजुली लिएका छन् र बक्यौता तिरेका छैनन् भने त्यस्ता उद्योगलाई कारबाही हुनु पर्याे, होइन्, भने उद्योगले बिजुली नलिइकन उसलाई जबर्जस्ती बिल दिइएको छ भने सम्बन्धित प्राधिकरणका कर्मचारीमाथि छानबिन गरी कारबाही हुनुपर्छ ।
भैरहवा क्षेत्रमा पहिलेभन्दा बिजुलीको गुणस्तरमा केही सुधार हुने देखिएको छ । तर, त्यो पर्याप्त छैन ।
अनिल जाटिया– डाइरेक्टर, जगदम्बा ग्रुप
विद्युत् प्राधिकरणले भैरहवा क्षेत्रको गुणस्तरलाई सुधार गर्नुपर्ने पहिलो आवश्यकता छ । किनभने यसक्षेत्र विगतदेखि यहाँ उद्योग गुणस्तरीय बिजुलीमा रुग्ण भइसकेको अवस्था छ । लाइन ट्रिपिङ र भोल्टेज सुधार नहुँदासम्म उद्योग राम्रोसँग चलाउन सक्ने अवस्थामा छैनौं । कोरोना महामारीमा प्रभावित भएका उद्योग बन्दाबन्दी(लकडाउन) खुलेसँगै चल्न थालेका छन् ।
उद्योग तंग्रिने वातावरण हुने अवस्था आउने बित्तिकै विद्युत् नियमित नहुनु अर्को समस्या छ । उद्योग चल्नका लागि नियमित रूपमा बिजुली आपूर्ति हुनुपर्छ । उद्योग चलिरहेको बेलामा बीचमै लाइन ट्रिपिङ ठूलो क्षति हुने र उद्योगले उत्पादन गर्न सक्ने अवस्था रहँदैन् । त्यसकारण, सबै उद्योगका साझा समस्या यही नै हो ।
प्राधिकरणले वर्षाै पुराना लाइन, ट्रान्सफर्मर जस्ता पूर्वाधार मर्मत र निर्माणमा जोड दिनुपर्ने आवश्यकता छ ।
विकास गोयनका–महाप्रबन्धक, घराना फुड्स प्रालि
लोडसेडिङ अन्त्य भएसँगै पक्कै पनि बिजुलीको गुणस्तमा केही सुधार भएको महसुस मैले गरेको छु । पहिले भोल्टेजमा धेरै उतारचढाव (फ्लक्च्वोयसन) हुने गथ्र्यो । त्यसले हाम्रा उद्योगका धेरै उपकरण बिग्रने वा क्षति हुने गथ्र्यो ।
लोडसेडिङ अन्त्य भएपछि भोल्टेजको समस्या धेरै सुधार भएको छ । कहिलेकाहीँ समस्या आइहाल्छ । हामीले भोगिरहेको समस्या भनेको अनियन्त्रित बिजुलीको कटौती नै हो । कतिबेला बिजुली गइदिन्छ भन्ने टुंगो छैन । कतिबेला बिजुली आउँछ त्यसको पनि जानकारी हुँदैन । त्यसले गर्दा उद्योगको उत्पादन ‘लस’ हुने र कामदार कामविहीन हुने समस्या छ ।
पटक–पटक बिजुली जाँदा त्यसको कुनै ‘सेड्यूल’ नहुने समस्या छ । अर्को भनेको अहिले हामीलाई बिल भुक्तानीमा पनि समस्या परेको छ । बिजुलीको भुक्तानी गर्न जाँदा गार्हस्थ्य वर्गले जसरी नै घण्टौ लाइनमा टोकन लिएर बस्नुपर्ने बाध्यता छ । औद्योगिक ग्राहकका लागि छुट्टै बिक्री काउन्टर बनाइदिएको खण्डमा सहज हुन्थ्यो । बिजुलीको बिल भुक्तानी तुरुन्त बुझाउन पाउने व्यवस्था हुनुपर्ने आवश्यकता छ ।
जितेन्द्र झा–प्रमुख, भैरहवा वितरण केन्द्र
भैरहवा वितरण केन्द्रअन्तर्गत तीनवटा सबस्टेसन छन् । खासगरी धप्दही, भैरहवा र लुम्बिनीमा ३३ केभीका ६ वटा सबस्टेसन छन् । तीनवटा भैरहवामा आएका छन्, १ वटा लुम्बिनीमा र २ वटा धप्दहीमा आएका छन् । सबैभन्दा जीर्ण अवस्थामा रहेको बुटवलबाट लुम्बिनी जाने नै रहेको छ । ३३ केभीको सो लाइनमा ठूलो समस्या छ । बीचमा ट्रंक लाइन विद्युतको सुविधा लिएका ठूला उद्योग पनि पर्छन् । सोही समस्या हटाउनका लागि नै नेपाल विद्युत् प्राधिकरण केन्द्रीय कार्यालयबाट नै मैनहवा आयोजना(बुटवल लुम्बिनी १३२ केभी र सबस्टेसन निर्माण) आएको हो ।
समयमै आयोजना पूरा नहुँदा बल्झिएको समस्या हो । यसमा दोष कसको भन्दा पनि विद्युत् प्राधिकरणले यसलाई छिटोभन्दा छिटो निर्माण सम्पन्न गराउन पहिलो प्राथमिकतामै राखेको छ । विगतको कोभिड र अन्य कारणले आयोजना समयमै पूरा हुन सकेन । तथापि, आयोजना सम्पन्न भएपछि अहिले उद्योगले भोगेका ७० प्रतिशत समस्या हल हुन्छन् ।
भैरहवादेखि बुटवलको करिडोरमा जुन समस्या छ, सप्लाइको समस्याभन्दा पनि ट्रंक तथा डेडिकेटेड लाइनको बिलिङसम्बन्धी नै समस्या हो । त्यसलाई हामीले ‘नो रिबेट, नो पेनाल्टी’ मा राखेका छौं । माथि(विद्युत् प्राधिकरण वा ऊर्जा मन्त्रालय) बाट जे निर्णय हुन्छ, त्यसअनुसार नै महसुल उठाउने/नउठाउने भन्ने निष्कर्ष हुनेछ । धप्दहीतर्फको लाइनमा पनि अलिकति लोडको समस्या छ । जति पनि नयाँ उद्योग छन्, तिनीहरू परासी सडकखण्डकै आसपासमा छन् ।
साँच्चिकै भन्ने हो भने यहाँका उद्योगीलाई समस्या हुनुहुन्छ । लाइन ट्रिपिङ एकदमै कम नै छ । ट्रिपिङ हुँदा पनि पूर्वजानकारी गरिन्छ । तर, हाम्रो पुरानो संरचना, एउटै सोर्समा निर्भर छ ।
कालीगण्डकी जलविद्युत् आयोजनामा केही समस्या आयो भने यो क्षेत्रकै प्रणाली फेल हुन्छ । अर्कोतर्फ लाइन ल्याउने मल्टिपल सोर्स नै छैन । त्यसले पनि आकस्मिक रूपमा लाइन ट्रिपिङ हुने समस्या पनि छ । तर, हामीले निर्माण भइरहेका संरचनालाई छिटो सम्पन्न गराउने र भएकै वितरण प्रणालीलाई गुणस्तरीय कसरी बनाउन सकिन्छ भनेर योजनाबद्ध रूपमा नै अघि बढिरहेका छौं ।
हरि पाण्डे– प्रमुख, बुटवल–लुम्बिनी १३२ केभी प्रसारण लाइन आयोजना
हामीले बुटवल–लुम्बिनी प्रसारण लाइन प्रसारण लाइन र मैनहवा सबस्टेसन निर्माणलाई जतिसक्दो छिटो सम्पन्न गर्ने चरणमा छौं । दुई वर्षमा सम्पन्न गर्ने भनिए पनि ठेकेदारले ढिला सुस्ती, प्रसारण लाइनको रुट परिवर्तन र कोरोना महामारीले पनि २ वर्ष हामी ढिला हुन पुग्यौं ।
सुरुमा बुटवलदेखि सिद्धार्थ राजमार्ग हुँदै लैजाने भनेर वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) सबै भइसकेको थियो । सडकले नदिएका कारण ठेक्का एक वर्ष ढिला हुन पुग्यो । सडक विभागले सुरक्षाका कारण देखाउँदै स्वीकृति नदिएपछि पुनः रुट परिवर्तन गर्दै तिनाउ नदीको छेउ किनारबाट लैजान सर्भे, ईआईए लगायतका प्रक्रिया पूरा गर्दा अर्को एक वर्ष ढिला हुन पुग्यो दुई वर्ष ढिला भए पनि कामले ‘स्पीड’ लिन थाल्दा कोरोना सुरु भयो, लकडाउनकै बीचमा केही काम सुरु भएको थियो, भारतबाट सबै सामान नहेरिकन ल्याइँदैन, हेर्न जान सकिरहेका छैनौं । सामान आयो भने ३/४ महिनामा बुटवल लुम्बिनी प्रसारण लाइनको काम पूरा हुन्छ ।
आयोजनाअन्तर्गत बुटवल लुम्बिनी १३२ प्रसारण लाइन र सबस्टेसनका लागि १ अर्ब १९ करोड रुपैयाँमा ठेक्का सम्झौता भएको थियो ।
निर्माणाधीन मैनहवा सबस्टेसन निर्माण पनि केही ढिलाइ भएकै हो । यो सबस्टेसनको ७० प्रतिशत भौतिक प्रगति सम्पन्न भएको छ । सम्भवतः चालू आर्थिक वर्षभित्र सम्पन्न गर्ने लक्ष्य छ ।
साँच्चिकै भन्ने हो भने प्रसारण लाइनकै कारणले अहिले भैरहवा क्षेत्र वा रुपन्देही क्षेत्रका उद्योगले धेरै किसिमका समस्या भोग्नुभएको छ । लाइन बन्यो भने त्यो क्षेत्रका सिद्धार्थ नगरपालिका, तिलोत्तमा, मायादेवी, अमुवा क्षेत्र, भैरहवा क्षेत्रमा भोल्टेजको गुणस्तर र उद्योगले मागेजति बिजुली पाउनु हुन्छ ।
उमेश झा–प्रमुख, ग्रीड शाखा बुटवल
बुटवल–भैरहवा खण्डका उद्योगलाई गुणस्तरीय बिजुली उपलब्ध गराउन हामी प्रतिबद्ध छौं । उद्योगीका समस्या छन्, त्यो हामीले बुझेका छौं । जति पनि ग्रीडका कारणले लाइन ट्रिपिङ भयो भन्ने सवाल छ, अघिल्लो मंसिर १ गतेदेखि २९ गतेसम्म सिस्टम फेल पनि भएको छैन । ग्रीडका कारणले २ पटक बाहेक लाइन ट्रिपिङ भएको छैन ।
तीन वर्षअघि म भैरहवा वितरण केन्द्रको प्रमुख हुँदा गुणस्तर सुधारका कामहरू पनि भए । त्यसपछि लोडसेडिङ अन्त्य भयो । त्यति बेलाभन्दा अहिले बिजुलीको गुणस्तर धेरै सुधार भएको छ ।
जहाँसम्म ट्रंक र डेडिकेटेड लाइनको कुरा छ, । त्यसक्षेत्रमा दुइटा फिडरमध्ये एउटा भैरहवाको ग्रामीण गार्हस्थ्य वर्गलाई बिजुली सप्लाई गरिरहेका थियौं । त्यहाँ अत्यधिक लोड हुँदा त्यतिबेला ८/९ घण्टा लोडसेडिङ हुन्थ्यो । अर्को फिडर ‘ग्राउन्ड वाटर’ फिडर थियो । त्यसको लोड कम भएको कारणले दुवै फिडरको मिलान गरेर त्यहाँका ग्राहकलाई लोडसेडिङमुक्त गर्याैं । यसमा केही फिडर चाहिँ प्राधिकरणका कारणले ट्रंक लाइनमा पर्न गएको हो । र, ट्रंक लाइन पर्न गएका उद्योगलाई त्यसअनुसार नै बिलिङ गरिएको हो ।
हामी त्यतिबेला नै ट्रंक लाइनको बिलिङ गर्दा उचित नहुने भनेर प्रक्रिया पनि चालेका हौं । तर, लोडसेडिङ हटेको कारणले ट्रंक लाइनमा पर्न गएका ग्राहकको बिलिङ गरेर हामीले फाइल माथि पठाएका हौं । अहिले यो विषय विचाराधीन नै छ ।
खासगरी, लोड मिलानका कारणले चाहिँ १७ वटा ग्राहक ट्रंक लाइनमा पर्न गएको यर्थाथ हो । त्यतिबेला मलाई पनि लागेको हो कि बिलिङ गर्नु उपयुक्त गर्न होइन् ।
लिनु हुन्न भन्ने मेरो व्यक्तिगत धारणा हो । निर्णय हामीबाट सम्भव नभएकाले उक्त फाइल माथि पठाएका हौं । कानुनसम्मत भएको निर्णय उद्योगले पनि मान्दिने भन्न मिल्दैन ।
तुलनात्मक रूपमा बिजुलीको गुणस्तर एकैचोटी जिरोबाट सुधार हुन सक्दैन् । तीन वर्षअघि बिजुलीको भोल्टेज र गुणस्तरको अवस्था के थियो, अहिले कस्तो छ ? त्यो पनि हेर्नुपर्याे । केही न केही सुधार भएको छ । म तीन वर्षअघि भैरहवा वितरण केन्द्रमा हुँदा भोल्टेज २३ केभी हुन्थ्यो । अहिले कुनै भोल्टेज घट्दा ३० केभी हुन्छ । तुलनात्मक रूपमा ७ केभी भोल्टेज त बढेको हो नी ।
बिजुलीको गुणस्तर अर्को कारणले मापन गर्न सकिन्छ कि, ३ वर्षअघि लोडसेडिङ अन्त्य हुँदा उद्योगको ‘कन्जम्सन’ र उत्पादन कति थियो र, अहिले कति भइरहेको छ । यसले पनि बिजुलीको गुणस्तर सुध्रेको छ कि छैन भनेर सजिलै अनुमान गर्न सकिन्छ ।