काठमाडौं । पाँचतारे होटल सोल्टी क्राउन प्लाजाले गोल्डेन ह्यान्डचेक दिएर ४० प्रतिशत कर्मचारीलाई बिदा गर्ने भएको छ । केही दिनअघि बसेको सञ्चालक समितिले होटलमा रहेका ४० प्रतिशत कर्मचारीलाई गोल्डेन ह्यान्डचेकसहित बिदा गर्ने निर्णय गरेको हो ।
अहिले सोल्टी होटलको आर्थिक शाखाले कुन कर्मचारीले कति पैसा पाउँछन् भनेर हिसाब गरिरहेको छ । कोरोना भाइरस (कोभिड–१९) का कारण आर्थिक संकटमा परेपछि होटलले यस्तो निर्णय गरेको हो ।
कोभिडका कारण लामो समयसम्म होटल बन्द भएको र अबको केही वर्षसम्म नेपालमा विदेशी पर्यटकहरू नआउने आँकलन गर्दै होटल व्यवस्थापनले खर्च घटाउनका लागि कर्मचारीहरूलाई स्वेच्छिक अवकाशको अवधारणालाई जोडतोडका साथ अघि बढाएको हो ।
केही समय अघि बसेको होटल व्यवस्थापन समितिको बैठकले तत्कालका लागि भएका कर्मचारीहरूमध्ये ४० प्रतिशतलाई हटाउने निर्णय गरेको थियो । सोही निर्णयअनुसार अहिले कर्मचारीहरूलाई स्वेच्छिक अवकाशका लागि सूचना प्रकाशन गरेको छ ।
लामो समयसम्म होटल पूर्णरूपमा सञ्चालनमा नआउने र कर्मचारीहरूलाई पूरै तलब दिन सक्ने अवस्था नरहेका कारणले कर्मचारीहरूकै हितका लागि स्वेच्छिक अवकाशको अवधारणा हो ।
पुराना कर्मचारीहरूको तलब भत्ता धेरै हुने भएकाले व्यवस्थापनको नजर ती कर्मचारीहरूमा परेको हो । पुरानालाई हटाएर बरु केही समयपछि नयाँ कर्मचारीहरू भर्ना गर्ने सोचका साथ अहिले ५ देखि १८ वर्षसम्म र त्योभन्दा बढी समय काम गरेका कर्मचारीहरूलाई स्वेच्छिक अवकाश दिने बुझिएको छ ।
हाल ३८२ जना कर्मचारी रहेको सोल्टीमा कोभिडपछि ३६ जनाले छाडेपछि ३२५ जना जति कर्मचारी छन् । उनीहरूले आफ्नो सेवा अवधिको भरको पैसा पाउने गरेका छन् । तीमध्ये केही कर्मचारीले १ लाख रुपैयाँसम्म लिएर गएका छन् ।
सोल्टीले स्वेच्छिक अवकाशमार्फत कर्मचारीलाई बिदाइ गरेको यो पहिलो घटना भने होइन । यसअघि २ पटक कर्मचारीहरूलाई बिदाइ गरिसकेको छ । अहिले काम गर्ने अवधिलाई घटाएर ५ वर्षसम्मको भनिएको छ, एक सञ्चालकले भने यसअघि ७ वर्षसम्म समय अवधी राखिएको थियो । कोभिड अघि मात्र त्यहाँबाट १ सय जनाभन्दा बढी कर्मचारीहरू बिदा भइसकेका थिए ।
स्वेच्छिक अवकाशका लागि कर्मचारीहरूसमेत सहमत रहेको अखिल नेपाल होटल क्यासिनो तथा रेष्टुराँ मजदुर संघ आधिकारिक युनियन सोल्टीका अध्यक्ष सुशीलराज भण्डारीले जानकारी दिए । ‘पर्यटक नआउँदा व्यवस्थापनलाई पनि होटल सञ्चालन गर्न समस्या छ भन्ने जानकारी कर्मचारीहरूलाई थाहा छ,’ अध्यक्ष भण्डारीले भने, ‘त्यही भएर अहिले पनि केही साथीहरू हामी पनि स्वेच्छिक अवकाश लिन्छौं भनेर फोन आइरहेको छ ।’
महामारीको बेला सञ्चालकलाई मात्र आर्थिक भार थोपर्न नहुने पक्षमा कर्मचारीहरू रहेकाले धमाधम स्वेच्छिक अवकाश लिएर बिदा भएको उनले बताए । ‘यस्तो बेलामा हामीले व्यवस्थापनलाई सहजीकरण गरिदिनुपर्छ,’ अध्यक्ष भण्डारीले भने, ‘उहाँहरू रहनुभयो भने हामी रहने हो ।’
सोल्टीमा २८२ वटा कोठाहरू छन् । केही साताअघि सूचना प्रकाशन गरी तीमध्ये केही समयका लागि १ सयवटा मात्र कोठा सञ्चालनमा ल्याउने जानकारी गराइसकेको छ । सोल्टीमा पूर्वराजा ज्ञानेन्द्र शाहको समेत लगानी छ ।