काठमाडौं । ५५ वर्ष पुरानो पाँचतारे होटल अन्नपूर्ण कर्मचारीको खर्च धान्न नसकेकै कारण केही समयका लागि बन्द हुने भएको छ ।आम्दानीको ४० प्रतिशत रकम कर्मचारीहरुको खर्चमा जाने भएको भन्दै तत्कालका लागि होटल बन्द गर्न लागिएको होटलका सञ्चालक सिर्जना राणाले बताइन् । ‘२० प्रतिशतसम्म कर्मचारीको खर्च भएमा होटल सञ्चालनमा कुनै समस्या हुँदैन थियो, उनले भनिन्।
कोरोना भाइरस महामारीका कारण लामो समयसम्म होटल बन्द भएको र तत्काल विदेशी पर्यटकहरु आउन सक्ने अवस्था नरहेकै कारण होटल सञ्चालन नगरी कर्मचारीहरुलाई स्वेच्छिक अवकाश दिन लागिएको उनको भनाई छ । होटल पुरानो भएको कारणले मर्मत सम्भारले मात्र नभएको र संरचनानै नयाँ बनाउनु पर्ने बेला भएकोले अहिलेको यो समयलाई सदुपयोग गर्न लागिएको उनले बताइन् ।
अहिले अन्नपूर्णमा ३ सय ६० जना कर्मचारी कार्यरत छन् । ती मध्ये ४५ जनाले राजीनामा दिएर आफ्नो हिसावकिताव गरिसकेका छन् भने बाँकी कर्मचारीहरु भने पर्ख र हेरको अवस्थामा रहेका छन् ।
अहिले अन्नपूर्णमा ४० वर्षसम्म काम गरेका कर्मचारीहरु छन् । उनीहरुले मासिक १ लाख रुपैयाँसम्म बुझ्ने गरेका छन् । जतिपुरानो भयो त्यति नै सेवा सुविधाहरु बढ्दै जाने कानुनी प्रावधानअनुसार शैक्षिक योग्यता नै नभएकाहरुले पनि मासिक १ लाख रुपैयाँसम्म बुझ्ने गरेका थिए ।
अन्नपूर्णले होटल बन्द गराएर नयाँ संरचना बनाउने योजना बनाएको यो भने पहिलो हाेइन । धेरै पटक योजना बनाए पनि चलिरहेको बेला पूर्णरुपमा बन्द गर्न पनि नसकिने र होटल सञ्चालन गर्दै नयाँ संरचना बनाउँदा पनि ग्राहकहरुलाई समस्या पर्ने देखिएकोले उपयुक्त समयको पर्खाइमा आफूहरु रहेको हुँदा कोरोनाले त्यो समय जुराएको सञ्चालक राणाको भनाई छ ।
सन् २०२० मा बचौं र बचाउँ भने नाराका साथ कर्मचारीहरुसँग एक वर्षसम्मका लागि न्यूनतम तलब दिने विषयमा सहमति भएको थियो, जुन सहमति अब सकिन लागेको छ । त्यो बेला पनि आम्दानीभन्दा खर्च बढी थियो ।
फेरि २०२१ मा पनि अवस्था सामान्य हुने देखिएन । विदेशी मुलुकहरु आफैंमा समस्यामा छन् । तत्कालै पर्यटकहरु नेपाल आउने अवस्थामा छैनन् । ‘यस्तो बेलामा पनि होटलमा कर्मचारीहरुलाई तलब दिएर राख्न सक्ने अवस्था नदेखेपछि तत्कालको लागि होटल सञ्चालनमा ल्याउन नसक्ने निर्णयमा मेरो परिवार पुगेको छ,’राणाले क्यापिटलसँग भनिन् ।
लामो समयसम्म कर्मचारीहरुलाई तलब नदिई राख्न सक्ने अवस्था नदेखिएकाले तत्कालका लागि कर्मचारीहरुलाई स्वेच्छिक अवकाशको अनुरोध गरेको बताउँदै उनीहरुले पाउने सेवा सुविधाको आधारमा रकम दिएर बिदाइ गर्ने उनले जानकारी गराइन् ।
उनले भनिनन्, ‘कर्मचारीहरुलाई उद्यमी बन्ने अवसरका लागि पनि हामीले बेलैमा विदाइ गर्न लागेका हौं ,यसमा हाम्रो कुनै नियत छैन ।’ नयाँ संरचनाका साथ होटल सञ्चालन गर्न तीन/चार वर्ष लाग्ने हुन्छ । लगानी विस्तारको केही समय लाग्ने भएकाले कर्मचारीहरुलाई बिदाइ गर्न लागिएको हो । होटलनै बन्द भन्ने हाेइन ।’