काठमाडौं । नेपाल वायुसेवा निगमको सञ्चालक समितिको बैंठकमा फुरगेल्जे शेर्पाले फरक मत राखेका छन् । प्रतिस्पर्धी बजारमा पुरानै संयन्त्रमाफर्त व्यवसाय सञ्चालन गर्दा निगम सधैं समस्यामा परेको भन्दै राम्रालाई यथावत् राख्दै नयाँ जनरल सेल्स एजेन्ट (जीएसए) नियुक्तिको बाटो खुला गर्नुपर्ने राय उनले राखेका छन् ।
तर, निगम भित्रका केही कर्मचारीहरुको प्रभावमा परी तत्कालका लागि पुरानै जीएसएहरुलाई निरन्तरता दिने र नयाँलाई प्रतिस्पार्धामा आउन नदिने गरी मापदण्ड बनाएपछि उनले नोट अफ डिसेन्ट लेखेका थिए ।
शेर्पाले शनिबार एक विज्ञप्ति जारी गर्दै निगमको दीर्घकालीन हितको निम्ति आफूले जीएसए नियुक्तिको मापदण्ड संशोधन विषयमा ‘फरक मत’ लेखेको बताएका छन् ।
शेर्पाले नगमको ९ मंसिर २०७७ मा बसेको सञ्चालक समितिको बैठकमा प्रस्तुत जीएसए छनोटसम्बन्धी विनियमावली–२०७७ को विनियम ३ खण्ड (ङ) मा फरक मत राखेका थिए ।
उक्त खण्डमा ‘कम्तीमा एउटा वायुसेवा प्रदायकको जिएसएको रूपमा सम्बन्धित देशमा काम गरेको अनुभव भएको’ भन्ने नयाँ प्रावधानको व्यवस्था गरिएको छ । तर, शेर्पाले थपिएको यस नयाँ व्यवस्थाले निगमका हाल कार्यरत जीएसएहरुलाई नै निरन्तरता दिने आधार बलियो पार्ने र प्रतिस्पर्धी बजारमा नयाँ क्षमतावान र व्यावसायिक कम्पनीहरु छनोटलाई पूर्णतः निषेध गर्ने भन्दै फरक मत लेखेका थिए ।
नयाँ प्रावधानले निगमको व्यावसायिक क्षमतालाई यथास्थितिमा राख्ने र नयाँ क्षमतावान कम्पनीलाई निषेध गर्ने भएकाले फरक मत राखेको शेर्पाको भनाइ छ । नयाँ व्यवस्थाले निगमका हाल कार्यरत जीएसएहरुलाई नै निरन्तरता दिने आधार बलियो पार्छ भने प्रतिस्पर्धी बजारमा नयाँ क्षमतावान र व्यावसायिक कम्पनीहरु छनोटलाई पूर्णतः निषेध गर्छ । सम्बन्धित कम्पनीको केवल अनुभव मात्रै होइन वर्तमान क्षमता, पुँजी, व्यावसायिकता, बजार प्रभावको आधारमा जीएसए नियुक्ति हुनुपर्छ भन्ने मेरो मत हो ।’
यती समूहसँग मेरो संलग्नता छैन
शेर्पाले ‘यती समूह’मा आफ्नो कुनै पनि खालको सहभागिता र संलग्नता नभएको बताएका छन् । आफ्नो बेग्लै व्यवसाय भएको उल्लेख गर्दै शेर्पाले यतीका ‘एजेन्ट’ रुपमा प्रचार नगर्न आग्रह गरेका छन् ।
उनले भनेका छन्, ‘मैले यसअघि पनि प्रष्ट पारेको छु, म नेपालको पर्यटन क्षेत्रमा विगत ४० वर्षदेखि क्रियाशिल छु । उड्डयन क्षेत्रमा विगत एक दसकदेखि आबद्ध छु ।
आफ्नै संघर्ष र पौरखले बाँचिरहेकालाई कसैको ‘एजेन्ट ’को रुपमा किन बारम्बार प्रस्तुत गरिन्छ ? म आश्चर्य चकित भएको छु ।’
‘शेर्पा हुनुको नाता ’ बाहेक आफ्नो ‘यती समूह’ मा मेरो कुनै सहभागिता र लगानी नरहेको उनको भनाइ छ ।