काठमाडौं । नेपाल एयरलाइन्समा नयाँ जनरल सेल्स एजेन्ट (जीएसए) नियुक्तिको बाटो बन्द भएको छ । प्रतिस्पर्धामार्फत जीएसए नियुक्ति नगरी पुरानैलाई कायम गर्ने गरी नयाँ मापदण्ड बनाएसँगै नयाँका लागि बाटो बन्द भएको हो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईको वा ! नेपाल एयरलाइन्स बनाउने घोषणालाई चुनौती दिँदै कर्मचारीहरूले हस्तक्षेप गरी नयाँ जीएसए नियुक्तिको बाटो बन्द गराएका हुन् ।
तीनै जीएसए हुन, जसले नेपाल एयरलाइन्सको जहाज प्रायः खाली पठाइरहेका हुन्छन् । विदेशी एयरलाइन्सको जहाज सधैं भरिभराउ हुँदा पनि नेपाल एयरलाइन्सका जहाज भने अधिकांश समय खाली हुने गरेको पाइन्छ । त्यति मात्र होइन, नेपाल एयरलाइन्सको टिकटमा समेत कार्टेलिङ गर्ने गरिएको पाइएको छ ।
सुरुमा टिकट नदिने, दिए पनि महँगो शुल्क लिने र अन्तिममा जहाज खाली पठाउने काम यसअघि धेरै पटक सार्वजनिक भइरहेको छ । अहिले केही देशका जीएसएको नवीकरण गर्ने बेला भएको छ भने केही देशमा नयाँ नियुक्ति गर्नुपर्ने समय भएको छ । तर, एयरलाइन्स भित्रकै केही कर्मचारीहरूको मिलेमतोमा नयाँलाई प्रतिस्पार्धा नै गर्न नपाउने प्रावधान बनाएको छ ।
एयरलाइन्स सञ्चालक समितिको मंसिर ९ गते बसेको बैठकले जीएसएसम्बन्धी नयाँ मापदण्ड पारित गरेको हो । नयाँ मापदण्डअनुसार जीएसए नियुक्तिमा न्यूनतम ५ वर्षको अनुभव भएको संस्था र संगठित संस्था हुनुपर्ने उल्लेख गरेको छ ।
पुरानै जीएसएलाई नियुक्ति गर्ने विषयमा भने एयरलाइन्सका कर्पोरेट र मार्केटिङ विभागका कर्मचारीहरूले लबिङ गरेका हुन् । विभिन्न स्वार्थकै कारण अहिलेसम्म एयरलाइन्सले साउदी अरबमा जीएसए नियुक्ति गर्न सकेको छैन । जसको कारण त्यहाँ उडान गर्नलाई समस्या भएको छ । यस्तै जापानमा पनि केही समयअघि समस्या आएको थियो ।
एयरलाइन्सका एक पूर्वमहाप्रवन्धकका अनुसार कर्मचारीहरूलाई जीएसएले दिने कमिसनको लोभमा पुराना र आफ्ना पक्षका लाई दिन लबिङ हुँदै आएको बताउँछन् । त्यति मात्र होइन एयरलाइन्सको जीएसए नियुक्तिका लागि विभिन्न राजनीतिक दलका नेताहरूले समेत हस्तक्षेप गर्ने गरेको उनले बताए । जसका कारण राम्रो र उत्कृष्ट जीएसए नियुक्ति गर्न एयरलाइन्सलाई समस्या भएको बताए ।
जीएसए नियुक्ति गर्दा कम्तीमा सम्बन्धित मुलुकमा रहेर राम्रो काम गरेको र धेरै ठाउँमा शाखा विस्तार भएका ट्राभल एजेन्सीलाई नै दिन सके राम्रो व्यापार हुने उनको भनाइ छ ।
अहिले बनाएको नयाँ मापदण्डमा ट्राभल एजेन्सी वा कुनै कम्पनीलाई भनेर उल्लेख गरिएको छ । यसरी हेर्दा एयरलाइन्सको टिकट बिक्री गर्न ट्राभल एजेन्सीले मात्र होइन अन्य कम्पनीहरूले पनि पाउने छन् । यसले एयरलाइन्सलाई झन समस्या हुने सञ्चालकहरूको भनाइ छ । जीएसए नियुक्तिकै विषयलाई लिएर सञ्चालक समितिका सदस्य फुर गेल्जे शेर्पाले फरक राय पेश गरेका छन् ।
यस्तो छ शेर्पाले पेश गरेको फरक मत
जीएसए छनौटसम्बन्धी विनियमावली,२०७७ को विनियम ३ को देहाय खण्ड(ङ) मा ‘कम्तीमा एउटा वायुसेवा प्रदायकको जीएसएको रुपमा सम्बन्धित देशमा काम गरेको अनुभव भएको’ भन्ने पुरानो प्रावधानभन्दा नयाँ व्यवस्था उल्लेख गरिएको छ ।
उक्त व्यवस्था राख्दा नयाँ, क्षमतावान, व्यावसायिक, क्रियाशील कम्पनीहरू छनौट प्रक्रियाबाटै बाहिर रहन जाने र जे जस्ता भए पनि पुराना कम्पनीहरू मात्र सम्भाव्य हुने अवस्था सिर्जना हुन जाने, जुन कुरा समानताविपरीत भई आधार र कारण (क्षमता, पुँजी, व्यावसायिकता, क्रियाशिलता, बजार प्रभाव आदि) समेत संकुचित हुन जाने देखिन्छ ।
आजसम्म निगमले प्रगति हासिल गर्न नसक्नुको पछाडि यी र यस्तै कारणहरू रहेको हुँदा प्रतिस्पर्धालाई सीमित गर्नु निगमको हित प्रतिकूल हुने देखिन्छ ।
साथै पुरानो विनियमावलीलाई प्रतिस्थापन गरी नयाँ विनियमावली निर्माण गर्दा चुक्तापुँजी र बैंक प्रत्यभूति बढाइ व्यापार अभिवृद्धि गर्न सक्ने, जनसम्पर्क, सरकारी तथा निजामती प्रशासनसहितको सम्बन्धसमेत अभिवृद्धि गर्न सक्ने क्षमतावान कम्पनीहरूलाई प्रतिस्पर्धामा सामेल गराउन सकिएमा निगमको हित रक्षा हुन्छ ।
नयाँ क्षमतावान कम्पनी जतिसुकै राम्रो र निगमको व्यापार अभिवृद्धि गर्न सक्ने भएता पनि छनौट नै हुन नसक्ने अवस्था प्रस्तावित विनियमावलीले गरेको छ ।
कुनै पनि नयाँ कम्पनीले जतिसुकै क्षमता प्रदर्शन गर्न सक्ने भए पनि प्रतिस्पर्धामा सामेल नै हुन नपाउने कुरा सार्वजनिक खरिदको सिद्धान्त र नीतिविपरीत हुने भएकाले प्रस्तावित विनियमावली संशोधन हुन वाञ्छनीय छ ।
प्रतिस्पर्धालाई सीमित गर्दा पस्ट रुपमा आधार र कारण उल्लेख नभएमा सीमित प्रतिस्पर्धा हुन गई निगमलाई योग्य जीएसए छनौट गर्ने अधिकारमा नै संकुचन हुन जाने देखिन्छ ।
जसको परिणाम निगमको व्यापार व्यवसायमा नै असर पुग्ने देखिएकाले प्रस्तावित विनियमावली प्रतिफरक मत राखेको उल्लेख छ ।
यस्तो छ नयाँ प्रावधान
१. सम्बन्धित देशको उड्डयन व्यवसायसम्बन्धी काम गर्न कानुनबमोजिम दर्ता भएको ट्राभल एजेन्ट ÷कार्गो व्यवसायी
२. उड्डयन व्यवसायसम्बन्धी न्यूनतम पाँच वर्ष काम गरेको अनुभव भएको
३. माथि १ र २ बमोजिम एजेन्ट वा कम्पनीको अधिकृत पुँजी न्यूनतम ५ लाख अमेरिकी डलर भएको वा पछिल्ला तीन वर्षमा प्रतिवर्ष न्यूनतम ५० लाख अमेरिकी डलरको कारोबार भएको
४. सम्बन्धित देशको कानुनबमोजिम कर दाखिला गरी अद्यावधिक गरेको
५. कम्तीमा एउटा वायुसेवा प्रदायकको जीएसएको रूपमा सम्बन्धित देशमा काम गरेको अनुभव भएको
६. सम्बन्धित देशमा कम्तीमा ३ वटा बिक्री काउन्टर भएको
७. जीएसएका लागि दरखास्त दिएको कम्पनीको नाममा नै सो व्यवसाय दर्ता भएको
८. अनलाइन जीएसएको अन्य मापदण्ड अनुसूचीमा उल्लेख भएबमोजिम हुनेछ ।