काठमाडौं । विकासकर्ताहरुले तयार पारेको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) को लगानी बोर्डले अध्ययन गर्ने भएको छ । बोर्डले सहजीकरण गरिरहेकामध्ये विभिन्न ४ वटा ठूला पूर्वाधार परियोजनाले विस्तृत अध्ययन प्रतिवेदन पेश गरेका छन् ।
एउटाको तिहारअघि र बाँकी ३ वटाको मंगलबार अध्ययन प्रतिवेदन पेश भएको छ । विकासकर्ताले पेश गरेका डीपीआरको मूल्यांकन समितिले अध्ययन गर्ने बोर्डका प्रवत्ता धमेन्द्रकुमार मिश्रले बताए । उनका अनुसार डीपीआर पेश गर्ने मिति मंगलबारसम्म थियो ।
‘पहिलो चरणको काम पूरा भएको छ । अब प्रतिवेदनहरुको अध्ययन पुरा गरेर अन्तिम स्वीकृतिका लागि लगानी बोर्ड बैठकमा पेश हुनेछ’ उनले भने ‘बोर्डबाट स्वीकृति भएपछि औपचारिक रुपमा विकासकर्तासंग लगानी सम्झौता गर्ने छौं ।’
बोर्डका अनुसार ४ वटा ठुलो परियोजना निर्माण गर्न डेढ खर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । दमक इन्डिष्ट्रियल पार्कको मात्र लगानी स्वीकृत भएको छ । पार्क बनाउन झण्डै ५९ अर्ब रुपैयाँ लगानी स्वीकृत भएको बोर्डले जनाएको छ । ३ वटा परियोजनाको बाँकी रहेको प्रवत्ता मिश्रले जानकारी दिए । उनले लगानी स्वीकृतिपछि मात्र वास्तविक लागत थाह हुने स्पष्टपारे ।
मंगलबार प्रतिवेदन पेश गर्नेमध्ये वीरगञ्ज र भैरहवामा निर्माण हुने प्राइभेट फेरिट टर्मिनल एउण्ड बल्क ह्यान्डलिङ फ्यासिलिटिज परियोजनाको विकासकर्ता कम्पनीले विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदन पेश गरेको छ । प्रतिवेदन तयारीका लागि बोर्डको कार्यालय र विकासकर्ता कम्पनीबीच २०७६ मङ्सिर १५ मा समझदारीपत्रमा हस्ताक्षर भएको थियो ।
यसैगरी विराटनगरमा निर्माण हुने मल्टीमोडल लजिस्टिक पार्क परियोजनाको विकासकर्ता कम्पनी सिजी लजिस्टिक प्रालि र सरार्फ समूहले समेत परियोजनाको पनि विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदन पेश गरेका छन् । बोर्डको कार्यालय र विकासकर्ता कम्पनीबीच २०७६ असार २ गते प्रतिवेदन तयार गर्नका लागि समझदारीपत्रमा हस्ताक्षर गरिएको थियो ।
यस्तै, चाइना नेपाल फ्रेडसिप इन्ड्रिस्टिज पार्क परियोजनाको विकासकर्ता कम्पनीको तर्फबाट दमक क्लिन इन्ड्रिस्टिज पार्कले पनि यही मङ्सिर २९ मा बोर्डमा प्रतिवेदन पेश गरेको छ । बोर्डको २०७६ साउन १७ गते बसेको बोर्डको ३९ औँ बैठकले उक्त परियोजना निर्माणको लागि ५८ करोड ६१ लाख अमेरिकी डलर करिव ५९ अर्ब रुपैयाँ बराबरको लगानी स्वीकृत गरेको थियो ।
उक्त परियोजना चिनियाँ कम्पनी जेपिजेसिसिपिडी र दमक क्लिन इन्ड्रिस्टिज पार्कको संयुक्त लगानीमा झापाको दमकका निर्माण हुन लागेको छ । यो चिनियाँ कम्पनीले चासो देखाएर अघि बढेको परियोजना हो । यसमा औद्योगिक क्षेत्रको पूर्वाधार निर्माण हुनेछ ।
कास्कीको विरेठाँटी मुक्तिनाथ केबलकार निर्माणको लागि विकासकर्ता कम्पनी मुक्तिनाथ दर्शन प्रालिले २०७७ मङ्सिर १४ मा बोर्डसमक्ष डीपीआर पेश गरेको छ । कूल ८०.१६ किलोमिटर लामो प्रस्तावित केबलकार विरेठाँटी, घोडेपानी, तातोपानी, लेते, कोवाङ, टुकुचे, मार्फा, जोमसोम हुँदै मुक्तिनाथसम्म पुग्नेछ ।
आयोजना बनाउन ५१ अर्ब रुपैयाँ लाग्ने डीपीआरले देखाएको छ । विकासकर्ता मुक्तिनाथले विदेशी र नेपाली संयुक्त लगानीमा केवलकार बनाउने योजना सार्वजनिक गरेको छ । मुक्तिनाथ विश्वकै सबैभन्दा लामो केवलकार हुनेछ ।