भैरहवा । भैरहवा क्षेत्रका उद्योगी/व्यवसायीहरुले नेपाल विद्युत् प्राधिकरणले चाहेजति र गुणस्तरीय बिजुली दिन नसकेको गुनासो गरेका छन् ।
देशमा औद्योगिक क्षेत्रको लोडसेडिङ अन्त्य भएको घोषणा गरिएपछि त्यसक्षेत्रका उद्योगीहरुले मागेजति र गुणस्तरीय बिजुली पाउन नसकेको बताएका हुन् ।
सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीमा भएको उद्योगी र विद्युत् प्राधिकरणका पदाधिकारी कर्मचारीसँगको भेटघाट तथा छलफल कार्यक्रममा अधिकांश उद्योगी÷व्यवसायीहरुले बिद्युत् वितरणको गुणस्तर चुस्त दुरुस्त नहुँदा उद्योगमैत्री वातावरण बन्न नसकेको निष्कर्ष निकालेका हुन् ।
छलफलका क्रममा उद्योगी तथा व्यवसायीहरुले आफ्नो उद्योगले भोग्नुपरेका समस्या राखेका थिए ।
अर्घाखाँची सिमेन्ट प्रालिका डेपुटी जनरल म्यानेजर कृष्ण पोण्डेले पटक पटक बिद्युत् ‘सिस्टम’ फेल भई झ्याप झ्याप लाइन जाँदा उद्योगले आन्तरिक रुपमा ठूलो उपकरणीय क्षति ब्यहोर्नुपरेको बताए ।
बिद्युत् अवरुद्ध हुँदा लामो समयसम्म पनि नबन्ने र गुनासो गरे पनि त्यसको कुनै सुनुवाई नभएको उनले बताए । अहिले पनि दैनिक ३÷४ पटक लाइन ट्रिपिङ समस्या कायमै रहेको उनी बताउँछन् ।
विगतदेखि अहिलेसम्म पनि भैरहवा क्षेत्र बिजुली उपलव्धतामा रुग्ण भएको जगदम्बा ग्रुपका डाइरेक्टर तथा उद्योगी अनिल जाटियाले बताए ।
उनले लाइन ट्रिपिङ र भोल्टेज उतारचढाव हुने समस्या सुधार गर्न सुझाव दिए ।
कोभिडका कारणले थला परेका उद्योगहरु केही तग्रिन सक्ने अवस्थामा रहे पनि गुणस्तरीय विद्युत् नहुँदा उत्पादन गर्नै सक्ने अवस्था नरहेको उनको भनाइ छ ।उनले बर्षौ पुराना लाइन तथा ट्रान्सफर्मर मर्मत हुन नसक्दा उद्योगले सधैं समस्या झेल्नुपरेको उनको बुझाई छ ।
उद्योगले ट्रंक तथा डेडिकेटेड फिडरमार्फत लिँदै नलिएको बिजुलीको बर्षौदेखिको महशुल बिल पठाउनु अन्यायपूर्ण रहेको अर्को उद्योगी चन्द्रमान श्रेष्ठले बताए । उनले उद्योगीलाई परेको यथार्थ समस्या सम्बोधन गर्न उनले विद्युत् प्राधिकरण र ऊर्जा मन्त्रालयलाई आग्रह गरे ।
यता, औद्योगिक लोडसेडिङ हटे पनि गुणस्तरीय बिजुलीको अभावमा उद्योगमा जेनेरेटर र ब्याकअप राख्नुपर्ने अवस्था कहिलेसम्म ? भन्दै पन्चकन्या ग्रुपका डाइरेक्टर देवेन्द्र शर्माले प्राधिकरणका कर्मचारीसमक्ष प्रश्न गरेका थिए ।
भैरहवाका उद्योगहरुको साझा समस्या गुणस्तरीय बिजुली र आपूर्ति व्यवस्थापन नै भएकाले त्यसतर्फ सम्वन्धित वितरण केन्द्र, ग्रीड शाखा र प्रादेशिक विद्युत् कार्यालयबाट तत्काल निराकरण गर्न पहल हुनुपर्ने नेपाल उद्याेग वाणिज्य महासंघका केन्द्रिय सदस्य राजेश अग्रवालले बताए । उनले अहिले उद्योगले मागेजनि बिजुली नपाउँदा भैरहवा लुम्बिनीखण्डमा नयाँ उद्योग आउनै नसकेको बताए ।
‘गुणस्तरीय बिजुली र आपूर्ति व्यवस्थापन नहुनु यस क्षेत्रका उद्योगका साझा समस्या हुन । त्यसतर्फ सम्वन्धीत वितरण केन्द्र, ग्रीड शाखा र प्रादेशिक कार्यालयले समन्वय र पहल गरिदिनुहुन म अनुरोध गर्दछु’ उनले भने, ‘जसका कारण जति उद्योग आएका छन्, भैरहवा परासी खण्डमा आएका छन्, तर, भैरहवा बुटवल खण्डमा उद्योग आउनै सकेनन् ।’
उद्योगीहरुको गुनासा सुनेपछि भैरहवा वितरण केन्द्रका प्रमुख जीतेन्द्र झाले ‘सिंगल फेज’ र ओभरहेड प्रकृतिको वितरण प्रणालीका कारण बेला–बेलामा समस्या देखिने गरेको स्वीकारे ।
‘भोल्टेज बढी हुँदा लुम्बिनी क्षेत्रका २५हजार ग्राहकहरु पनि दुःख भोग्दै हामीलाई पटक पटक गुनासो गर्नुहुन्छ । उहाँहरुले उद्योगहरुलाई छुट्टै लाइन दिनुस् भन्नुहुन्छ’ उनले भने, ‘पीडा उद्योगहरुको त छँदैछ । त्यहाँका २५ हजार ग्राहकको पनि समस्यामा छन् । उहाँहरु पटक पटक कार्यालयमा आएर ट्रान्सफर्मको क्षमता वृद्धि गरिदिन आग्रह गर्नुभएको छ ।’
बिजुली वितरण लाइन तथा संरचना मर्मत गर्नका लागि ‘मेन्टेनेन्स सेड्युल’ उद्योगीकातर्फबाट आएमा केही हदसम्म समस्या समाधान हुने उनले बताए । ‘तपाइहरुका उद्योगहरु २४ घण्टा नै चल्दैनन् होला । निश्चित केही समय त त्यसलाई होल्डमा÷ब्रेक डाउन, मर्मतमा त जान्छ । तर, हाम्रो लाइनको सवैभन्दा कमजोरी मर्मत गर्ने सेड्यूल उद्योगीमित्रहरुबाट आइदियो भने केही हदसम्म समस्या समाधान हुन्थ्यो कि’ उनले भने, ‘कुन दिन मेन्टेनेन्स गर्दा सजिलो हुन्छ । ताँकी सवै उद्योगपतिलाई त्यसमा सहजता होस् । कुनै मिति वा समय मैले उद्घोष गर्नुभन्दा तपाइहरुबाटै आओस् ।’
प्राधिकरणले आफूखुसी लाइन काट्यो भन्ने आरोप आउने गरेकाले उद्योगीबाट नै मेन्टेनेन्स सेड्यूल आउनुपर्ने उनले बताए ।
सिंगल फेजका कारणले मात्र सिस्टम फेल नभएको बुटवल ग्रीड शाखा प्रमुख उमेश झाले बताए । उनले ग्रीडका कारणले सिंगल प्रणालीका कारणले लाइन अवरुद्ध नभएको तर, ग्रीडका कारणले पछिल्लो एक महिनामा दुईपटक लाइन ट्रिपिङ भएको बताए ।
छलफल कार्यक्रको स्वागत कार्यक्रममा सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका अध्यक्ष कुलप्रसाद न्यौपानेले भैरहवामा उद्योगहरु स्थापित हुँदै गए पनि विद्युत्को आपूर्ति र गुणस्तर झनै खस्किएको बताए ।
सो कार्यक्रममा विद्युत् प्राधिकरण प्रादेशिक कार्यालयका प्रमुख सुरज गौतमले टं«क तथा डेडिकेटेड लाइनको विवादमा अदालतको निर्णय र नीतिगत रुपमा जे निर्णय हुन्छ त्यसअनुरुप नै महशुल उठाइने बताए ।