काठमाडौं । कोरोना भाइरस (कोभिड –१९) अवस्था सामान्य नभएपछि तारे होटलका सञ्चालकहरुले काममा नआएका कर्मचारीहरुलाई तलब दिन नसक्ने जनाएका छन् ।
गत असारमा होटल एसोसिएसन अफ नेपाल (हान) र मजदुरहरुबीच भएको सहमतिअनुसार पुस मसान्तसम्म न्यूनतम तलब दिने सहमति भएको थियो । दुई पक्षिय सहमति सकिन अब केही दिन मात्र बाँकी रहेको बेला हान र मजदुर संगठनकाबीच छलफल सुरु भएको छ ।
मंगलबार भएको अनौपचारिक छलफलमा तारे होटल सञ्चालकहरुले अवस्था सामान्य नभएकाले जनवरीदेखि काममा नआएका कर्मचारीहरुलाई तलब दिन नसक्ने बताएका छन् ।
अहिलेसम्म जसोतसो न्यूनतम तलब दिइए पनि जनवरीदेखि काममा आएका बाहेकलाई पैसा दिन नसक्ने जानकारी गराएको बैंठकमा सहभागी एक सदस्यले जानकारी दिए । अहिले पनि होटलहरु पूर्ण रुपमा सञ्चालनमा नआएको र केही वर्ष अवस्था यस्तै रहने प्रक्षेपण गर्दै बेतलवी विदामा बस्न आफ्ना बाँकी कर्मचारीहरुलाई अनुरोध गर्ने विषयमा छलफल केन्द्रित रहेको बताइएको छ ।
यदि मजदुर संगठनहरुले सहमति जनाएमा अहिले काममा आएका करिब ५ प्रतिशत कर्मचारीहरु बाहेक अरुले तलब पाउने छैनन् । अहिले न्यून कर्मचारीहरुको भरमा होटल सञ्चालनमा गरिएको र पर्यटकहरु नेपालमा आइहाल्ने अवस्था नरहेकोले केही वर्षका लागि आफुहरुलाई साथ दिन व्यवसायीहरुले अपिल गरेको होटल क्यासिनो तथा रेस्टुराँ मजदुर संघका अध्यक्ष मुक्ति दाहालले जानकारी दिए ।
व्यवसायीहरुलाई भने अहिले भएकै सहमतिलाई फेरि एक वर्ष लम्ब्याउन अनुरोध गरिएको उनले बताए । अहिले पनि केही होटलहरुले सहमतिको पूर्ण रुपमा कार्यन्वयन नगरेको बताउँदै त्यसलाई पालना गरि नयाँ सहमति जानु पर्ने मागहरु राख्दै आएको उनको भनाई छ ।
असारमा भएको सहमति अनुसार २०० कोठा भन्दा माथिका पाँचतारे डिलक्स होटलका मजदूरलाई मासिक हजार र २०० भन्दा कम कोठासंख्या भएका पाँचतारे होटलका मजदूरलाई ९ हजार रुपैया मासिक पारिश्रमिक दिने भनिएको थियो ।
यस्तै १०० भन्दा बढी कोठा भएका चारतारे डिलक्स होटलका मजदूरलाई मासिक ८ हजार ४५५ र चारतारे होटलका मजदूरलाई ८ हजार रुपैया दिइने तीनतारे होटलका मजदूरलाई मासिक ५ हजार र दुईतारे होटलका मजदूरलाई भने मासिक ४ हजार ३०० दिने सहमति भएको थियो ।