काठमाडौं । पछिल्लो समय इन्टरनेट तथा मोबाइल बैंकिङले आफूलाई सशक्त रुपमा उभ्याएपछि वालेटलाई आफ्नो अस्तित्व जोगाइराख्न सकस हुने देखिएको छ ।
केन्द्रीय बैंकले सार्वजनिक गरेको असोजसम्म तथ्यांकअनुसार मोबाइल तथा इन्टरनेटबाट भुक्तानी गर्नेको संख्या जुन गतिमा बढेका छन्, त्यो गतिमा वालेट प्रयोगकर्ता बढेका छैनन् ।
तथ्यांकअनुसार साउनमा इन्टरनेट बैंकिङबाट ३ अर्ब ८ करोड रुपैयाँ भुुत्तानी भएको देखिएको छ । भदौमा ४ अर्ब ७४ करोड र असोजमा ६ अर्ब ३१ करोड रुपैयाँ भुक्तानी भएको देखिएको हो । साउनको तुलनामा भदौमा इन्टरनेटबाट भुक्तानीको रकम ५३ प्रतिशतले बढेको देखिएको छ । भदौको तुलनामा असोजमा ३३ प्रतिशतले वृद्धि भएको देखिएको छ ।
त्यसैगरी, मोबाइल बैंकिङमा पनि उपभोक्ताको सूची बढ्दै गएको देखिएको छ । चालू आवको साउनमा १८ अर्ब ३९ करोड रुपैयाँ भुक्तानी मोबाइल बैंकिङबाट भएको देखिएको छ । त्यसैगरी भदौमा २० अर्ब ३४ करोड रुपैयाँ र असोजमा २८ अर्ब ८० करोड रुपैयाँ भुक्तानी भएको केन्द्रीय बैंकको तथ्यांकबाट देखिएको हो ।
तीन महिनामा मोबाइल तथा इन्टरनेटबाट भुक्तानी जुन गतिमा बढेको छ, त्यो गतिमा वालेटबाट भुक्तानी रकम कम देखिएको छ ।
१६ वटा वालेटले साउनमा ७ अर्ब ५७ करोड रुपैइाँ भुक्तानी गरेका थिए । भदौमा ७ अर्ब ३३ करोडमा खुम्चिएको तथ्यांकबाट देखिएको छ । यद्यपि, असोजमा भने ९ अर्ब ८८ करोड रुपैयाँ भुक्तान भएको देखिएको छ ।
मोबाइल तथा इन्टरनेट बैंकिङ सशक्त रुपमा उभिएकाले वालेटमा पैसा लोड गरेर त्यहाँबाट भुक्तानी गर्न उपभोक्ताले झण्झटीलो मानेको देखिएको छ । वालेटमा बैंक खाताबाट पैसा लोड गर्नुपर्छ । बैंकबाट वालेटमा पैसा ल्याउनुपर्छ । त्यहाँबाट अन्यत्र भुक्तानी गर्न गर्नुपर्छ ।
एकातिर बैंक आफैंले वालेटमा भएका फिचरहरु समावेश गर्दै लगेपछि आफ्नो बैंकमा गएर मोबाइल तथा इन्टरनेट बैंकिङ लिनेको संख्या पनि बढेको देखिन्छ । विद्युतीय माध्यम हुने भुक्तानी सरल हुनुका साथसाथै जोखिमपूर्ण रहेको देखिन्छ ।
यद्यपि, विद्युतीय माध्यमबाट भुक्तानी गर्दा बैंक, वित्तीय संस्था र वालेटहरुमा सदस्यता लिँदाका शर्त तथा बन्देजहरु पूर्णरुपमा अध्ययन नगर्नाले अनावश्यक शुल्कको भार थपिने, उपलब्ध विभिन्न भुक्तानी उपकरणमध्ये उपयुक्त (सस्तो) विकल्पको छनोट गर्न नसक्नाले कारोबारबापत अधिक शुल्क तिर्नुपर्ने हुन्छ ।
आफूले तिर्दै गरेको बिलमा उल्लिखित रकम यकिन नगर्ने साथै कुन–कुन शीर्षकमा कति रकम असुल भइरहेको जानकारी नराख्ने कारण अन्जानमा बढी रकम भुक्तानी गरिने र अनलाइनमार्फत गरिने कारोबारमा रकम प्राप्त गर्नेको पूरा विवरण (नाम, खाता नम्बर, मोबाइल नम्बर) नहुँदै भेरिफिकेसन बिना रकम ट्रान्सफर गर्नाले जोखिम हुनेसमेत देखिएको केन्द्रीय बैंकले बताएको छ ।