काठमाडौं । पछिल्लो समयमा नेपाल टेलिकमले उपलब्ध गराइरहेका विभिन्न प्याकका प्रयोगकर्ताको संख्या वृद्धि भइरहेको छ । ग्राहकले प्याक प्रयोग गर्दा यो रेन्टल चार्जभन्दा छुट्टै रकम काटिन्छ ।
सस्तो दरका डाटा र भ्वाइस प्याक उपलब्ध भएकाले ग्राहकले यो रेन्टल चार्ज वापतको रकममा खासै ध्यान नगएको पनि देखिएको छ । सामान्यतः नेपाली महिनाको अन्त्य अर्थात् अंग्रेजी महिनाको १५ तारिखमा पोस्टपेड मोबाइलको बिल हिसाब गरिन्छ । यो अवस्थामा महिनामा थोरै मात्र रकम प्रयोग गरेको भए पनि ३८३.०७ रूपैयाँ जोडेर त्यो महिनाको हिसाब गरिन्छ ।
मानौं, कुनै ग्राहकले महिनामा १०० रुपैयाँ मात्र प्रयोग गरेको भए पनि ३८३.०७ रुपैयाँ नै काटिन्छ र आफ्नो २८३.०७ रुपैयाँ कता हरायो भनी झुक्किएको पाइन्छ । कम्पनीको जिएसएम पोस्टपेड सेवामा विगत लामो समयदेखि यसरी नै बिलिंग हुने भए तापनि हाल सस्तो दरका प्याकहरु उपलब्ध भएपश्चात् धेरै ग्राहक झुक्किने गरेको पाइएको छ ।
उदाहरणका लागि, कुनै पोस्टपेड मोबाइल प्रयोगकर्ताले २०० रुपैयाँको प्याक प्रयोग गरेको छ भने प्याक वापतको २०० रुपैयाँ र रेन्टल चार्ज वापतको ३८३.०७ रुपैयाँ गरी ५८३.०७ रुपैयाँ तिर्नुपर्छ । मानौ, १४ तारिखका दिन ग्राहकको मोबाइलमा बाँकी रकम रु. ४०० थियो भने सो रकम समेत काटिएर थप रु. १८३.०७ समेत तिर्नुपर्ने हुन्छ ।
पोस्टपेड ग्राहकको यही अन्यौललाई सम्बोधन गर्नका लागि कम्पनीले हाल ‘पोस्टपेड प्याक’ उपलब्ध गराइरहेको छ । पोस्टपेड प्याक लिंदा ग्राहकले रेन्टल चार्जवापतको रकम पनि प्याक खरिदमा उपयोग गर्नसक्ने भएकाले ग्राहक झुक्किने सम्भावना हुँदैन ।
सो प्याक प्रयोग गरी कम्पनीको नेटवर्क भित्र र बाहिर कल गर्न, एसएमएस पठाउन र डाटा चलाउन सकिन्छ । पोस्टपेड प्याक लिनका लागि आफ्नो पोस्टपेड मोबाइलबाटै स्टार्ट १४१५ स्टार्ट २ ह्यास डायल गरी आफूलाई उपयुक्त प्याक खरिद गर्न सकिन्छ ।
यसैगरी पोस्टपेड मोबाइल बिलको जानकारी लिनका लागि ८द्धण्ण्३ डायल गर्न सकिन्छ । सेवा प्रयोग गरेवापत ग्राहकले कम्पनीलाई बुझाउन बाँकी रकमलाई ड्यू अमाउन्ट भनिन्छ । अभाइलेबल क्रेडिट चाहिं अब ग्राहकले प्रयोग गर्न पाउने रकम हो ।