काठमाडौं । निकट भविष्यमा नेपाल विद्युत् प्राधिकरणलाई सबैभन्दा ठूलो चुनौती बन्दै छ– बिजुली बेच्न । निजी क्षेत्रबाट धमाधम बिजुली उत्पादन भइरहेको छ ।
तर, त्यो बिजुली बेच्ने संरचना बनाउन प्राधिकरणले अहिलेसम्म कुनै ध्यान दिएको छैन । बरु आफ्नो उत्पादन क्षमता घटाएर निजी क्षेत्रबाट उत्पादित बिजुली किन्न तयार छ । तर, आवश्यक पूर्वाधार बनाएर मागेजति बिजुली दिन प्राधिकरण तयार छैन ।
अहिले पनि देशभरका उद्योगले ७ सय मेगावाट बिजुलीको माग गरेर प्राधिकरणमा आवेदन दिएका छन् । तर, ती कुनै पनि उद्योगले बिजुली पाउने अवस्था छैन । किनभने प्राधिकरणसँग त्यो तहको संरचना नै छैन् ।
औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडमार्फत नयाँ खुल्न लागेका उद्योगले ७०० मेगावाट बिजुलीको मागसहित निवेदन दिएका छन् । लिमिटेडले नेपाल विद्युत् प्राधिकरणसमक्ष ती उद्योका लागि आवश्यक पर्ने बिजुली व्यवस्थापनका लागि फाइल पनि पठाइसकेको छ । तर, पूर्वाधार अभावका कारण प्राधिकरणले बिजुली दिन सक्ने अवस्था छैन ।
‘भविष्यमा उद्योग स्थापना हुँदा आवश्यक पर्ने बिजुलीका लागि विद्युत् प्राधिरकणसँग प्रस्ताव गरेका छौं’, लिमिटेडका अध्यक्ष तथा महाप्रवन्धक नन्दकिशोर बस्नेतले भने, ‘त्यसका लागि ७०३ मेगावाट बिजुलीका निवेदन पठाएका छौं ।’
लिमिटेडले देशका विभिन्न उद्योगहरूसँग समन्वय गर्दै आएको छ । उद्योग स्थापना गर्दा पर्याप्य ऊर्जा तथा बिजुली आवश्यक पर्ने हुन्छ । भविष्यमा स्थापना हुन लागेका उद्योगका लागि बिजुलीको व्यवस्थापन हुनुपर्छ ।
खासगरी सर्लाहीमा सागरनाथ औद्योगिक क्षेत्रमा स्थापना हुने उद्योगलाई २५० मेगावाट, हेटौँडामा मयुरधाप औद्योगिक क्षेत्रका लागि ४० मेगावाट, चितवनको शक्तिखोरमा स्थापना हुने उद्योगलाई १०० मेगावाट, बुटवलको मोतीपुर औद्योगिक क्षेत्रका लागि ३२ मेगावाट, बाँकेको नौबर्षा क्षेत्रमा स्थापना हुने उद्योगका लागि २३ मेगावाट, कैलालीको लम्कीमा स्थापना हुने उद्योग औद्योगिक क्षेत्रका लागि ७४ मेगावाट, कन्चनपुरको जैबीक्षेत्रमा स्थापना हुने उद्योगका लागि ३९ मेगावाटसहित ७०३ मेगावाट बिजुलीका लागि प्रस्ताव गरेको हो ।
अहिले पनि देशभरका विभिन्न उद्योगले आवश्यक बिजुली पाउन सकेका छैनन् । प्राधिकरणले उद्योग क्षेत्रलाई आवश्यक पर्ने बिजुली उपलव्ध गराउन नसक्दा उद्योग क्षेत्र समस्यामा छन् । कतिपय उद्योगले बिजुली नपाउँदा कोइला र अन्य ऊर्जाको प्रयोग गरिरहेका छन् ।
विद्युत् प्राधिकरणले बिजुलीको खपत बढाउने क्षेत्र खोजिरहेको छ । तर, यता उद्योगले मागेजति बिजुली भने पाउन सकेका छैनन् । अहिले नै उद्योग क्षेत्र साढे ४ सयदेखि ५ सय मेगावाट बिजुली खपत गर्न सक्ने नेपाल विद्युत् प्राधिकरणका उपकार्यकारी निर्देशक हरराज न्यौपानेले बताए ।
‘अहिले नै उद्योगहरूले बिजुलीको माग गर्दै जानकारी गराएका छन् । उनीहरूको उद्योग लागिसकेको अवस्था होइन्,’ उनले भने, ‘औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले बिजुली माग गरिरहेको छ ।उनीहरूले हाम्रा उद्योग स्थापना हुँदा बिजुली चाहिन सक्छ भनेर प्रस्ताव गर्नुभएको छ ।’
प्राधिकरणले उद्योग स्थापना भएपछि आवश्यक पर्ने बिजुलीको उपलब्धतामा जोड दिन कार्ययोजना बनाएर अघि बढेको उनको भनाइ छ ।